आधा श्रमिक सम्झौता बेगर नै काममा
नेपालमा ४४.७ प्रतिशत श्रमिकले सम्झौता विना नै काम गरिरहेको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सार्वजनिक गरेको तथ्यांकमा श्रम ऐन लागू भएको करीब दुई वर्षपछि पनि सम्झौता विना नै काम गरेको उल्लेख छ ।
जिफन्टले ५० भन्दा बढी मजदूर कार्यरत ५१ वटा उद्योग/प्रतिष्ठानमा सर्वेक्षण गरेको थियो ।
सर्वेक्षण अनुसार नेपालमा ३९ प्रतिशत आंशिक र ६१ प्रतिशत नियमित रोजगारीमा रहेका छन् ।
५९.३२ प्रतिशतले तोकिएको भन्दा बढी समय काम गर्नुपरेको र ३७.२९ प्रतिशत श्रमिकले मात्र बीमा र उपचार खर्च पाएको बताएका थिए ।
सर्वेक्षण गरिएका रोजगार प्रतिष्ठानमध्ये ११.८६ प्रतिशतले मात्र श्रम ऐन अनुसार विदा कार्यान्वयन गरेको तथ्यांकमा उल्लेख छ ।
सर्वेक्षणमा १५.२५ प्रतिशत रोजगार प्रतिष्ठानले मात्र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति बनाएको र ८.४७ प्रतिशतले मात्र सुरक्षा र स्वास्थ्य कमिटी गठन गरेको भेटिएको थियो ।
त्यस्तै, ७२ प्रतिशत रोजगार प्रतिष्ठानले आन्तरिक विनियमावली नबनाएको, ७८ प्रतिशतले श्रम सम्बन्ध समिति गठन समेत नगरेको तथ्यांकमा जनाइएको छ ।
श्रम अडिट प्रतिवेदनको कार्यान्वयनबारे श्रम मन्त्रालयले कुनै अध्ययन नगरेको कारण सो कार्यान्वयनको अवस्थाबारे जिफन्टले अध्ययन गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।