महामारीमा स्वास्थ्य सामग्री वितरण: प्रणाली मिचेर ‘पावर’ को भर
राज्यले निश्चित प्रणाली र संस्थागत उत्तरदायित्व नबनाएकै कारण महामारीका लागि अत्यावश्यक ठानिएका सामग्रीमा समेत सत्ता र शक्तिमा भएकाहरूको हालीमुहाली चलेको छ।
आइतबार दाङकी एमाले सांसद गंगा चौधरीको काठमाडौं शान्तिनगरस्थित डेरामा पाँच थान अक्सिजन सिलिन्डर भेटिएको विषय चर्चामा रह्यो। अस्पतालमा रहेका जनताले अक्सिजन नपाइरहेको बेला चीनले अनुदानमा दिएका अक्सिजन सिलिन्डर सांसदले घरमा राखेको भन्दै उनको व्यापक आलोचना समेत भयो।
दाङमा कोरोना महामारी भयावह रहेको र अक्सिजनको चरम अभाव भएको भन्दै लमही अस्पतालका लागि उक्त अक्सिजन जोहो गरिएको सांसद चौधरीले प्रतिक्रिया दिइन्।
“हामी दाङका केही सांसदले स्वास्थ्यमन्त्रीलाई भेटेर अक्सिजन र स्वास्थ्य सामग्री उपलब्ध गराउन अनुरोध गरेका थियौं,” उनी भन्छिन्, “सोही बमोजिम स्वास्थ्य सेवा विभागबाट प्राप्त अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री मेरो निवासमा राखिएको हो।”
चौधरीले सोमबार लमही अस्पतालमा अक्सिजन पुर्याइसकेकी छन्। तर, चीनबाट ल्याइएको अक्सिजन वितरणका लागि बनाइएको विवरणमा लमही अस्पतालको नाम नै छैन।
मन्त्रीदेखि सांसदले पहुँचका भरमा अक्सिजन सिलिन्डर ‘कब्जा’ गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले चीनबाट आएका अक्सिजन सिलिन्डर भाग लगाएका १३ अस्पतालले भने तोकिए जति पाएनन्।
दाङकै एमाले सांसद शान्ता चौधरीले पनि आइतबार फेसबूकमा केही थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्रीको फोटो राख्दै ‘यात्रा दाङको’ भन्ने स्टेटस राखिन्।
आफ्नो निर्वाचन क्षेत्रमा अक्सिजन सिलिन्डर व्यवस्था गर्न अरूभन्दा रुकुम पश्चिमका सांसद जनार्दन शर्मा अगाडि देखिए। उनले २६ वैशाखमै चौरजहारी अस्पतालमा अक्सिजन पुर्याइसकेका थिए। शर्माले हालसम्म जिल्लाभर ७९ वटा अक्सिजन सिलिन्डर वितरण गरिसकेका छन्।
ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले सोमबार सात थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री पठाएका छन्। दाङका एमाले सांसद हिराचन्द्र केसी, भक्तपुरका एमाले सांसद महेश बस्नेत, कास्कीबाट निर्वाचित एमाले सांसद खगराज अधिकारी, माओवादी केन्द्रका सांसद वर्षमान पुन लगायत पनि आफ्नो क्षेत्रका लागि अक्सिजन जोहो गर्ने सांसदमा पर्छन्।
सांसद मात्रै होइन, मन्त्री समेत आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लामा अक्सिजन लगायत स्वास्थ्य सामग्री पुर्याउन दिलोज्यान दिएर लागेका छन्। ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीमा १८ थान अक्सिजन सिलिन्डर र वनमन्त्री प्रेमबहादुर आलेले डोटीका लागि २२ वटा सिलिन्डर पठाइसकेका छन्।
मन्त्रीदेखि सांसदले यसरी पहुँचका भरमा अक्सिजन सिलिन्डर ‘कब्जा’ गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाले चीनबाट आएका अक्सिजन सिलिन्डर भाग लगाएका १३ अस्पतालले भने तोकिए जति पाएनन्। महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाका अनुसार, त्रिवि शिक्षण अस्पताललाई ५०, वीर अस्पताललाई ५०, सिभिल अस्पताललाई ४० वटा अक्सिजन सिलिन्डर दिने निर्णय गरिएको थियो। तर, शिक्षण अस्पतालले ४०, वीरले २५ र सिभिलले ३० वटा मात्रै पाएका छन्। अन्य १० अस्पतालले पनि तोकिए जति पाएनन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अक्सिजन वितरणको काम स्वास्थ्य मन्त्रालयले गरिरहेको दाबी गर्छन्। घुमाउरो पारामा उनले पहुँचका भरमा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको वितरण हुँदा समस्या आएको बताए पनि मन्त्री, सांसदले गर्दा अभाव देखिएको भनेनन्। उनले भने, “आ–आफ्नो जिम्मेवारी सबैले पूरा गरे समस्या हुँदैन।”
अस्पतालको पत्रबिना कसैलाई पनि अक्सिजन नदिइएको उनको भनाइ छ। गौतम भन्छन्, “अस्पतालले नै दिनू भनेर पत्राचार गरेपछि जो कोही आए पनि हामीले दिनुपर्छ।”
प्रणालीप्रतिको अविश्वास
अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्री मात्रै होइन, राज्यका हरेक चिजको वितरणका लागि निश्चित प्रणाली छ। कोरोनाभाइरस संक्रमण महामारीलाई लक्षित गर्दै सरकारले गत वर्ष नै उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बनाएको छ।
त्यसका साथै विभागीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत निकाय पनि सक्रिय छन्।
"अक्सिजन जोहो गर्न व्यक्तिको सक्रियता हुनु प्रणालीप्रतिको अविश्वास हो। सांसद, मन्त्री स्वयंलाई प्रणाली मार्फत अक्सिजन गाउँसम्म पुग्छ भन्ने विश्वास छैन। त्यसका साथै सरकारी निकायको झन्झटिलो प्रक्रिया, सुस्त कार्यशैलीले पनि अहिलेको अवस्था आएको हो।” - प्राध्यापक चैतन्य मिश्र, समाजशास्त्री
आफ्नै पार्टी सरकारमा रहेको, निश्चित निकाय र प्रणाली हुँदाहुँदै सांसद स्वयंले अक्सिजनको जोहो गर्न जरुरी किन?
सांसद शान्ता चौधरी महामारीको समयमा जनताको ज्यानभन्दा ठूलो केही नभएकाले आफैं खटिनुपरेको बताउँछिन्।
“हामी जनताको कामकै लागि निर्वाचित भएका हौं,” उनी भन्छिन्, “हरेक मिनेट जनताले फोन गरिरहेको र अस्पतालले समेत सामग्री माग गरेकोले व्यवस्था गर्नुपरेको हो।” तर, स्वास्थ्य सामग्री व्यवस्था गर्दा प्रक्रिया कतै नमिचेको उनको दाबी छ।
अस्पतालहरूमा अक्सिजनको हाहाकार भएपछि संक्रमितका आफन्तजन अक्सिजन किन्न उद्योगमा पुग्नुपरेको पनि देखियो।
समाजशास्त्री प्राध्यापक चैतन्य मिश्र चाहिँ व्यक्तिको सक्रियतालाई प्रणालीप्रतिको अविश्वास मान्छन्। “सांसद, मन्त्री स्वयंलाई प्रणाली मार्फत अक्सिजन गाउँसम्म पुग्छ भन्ने विश्वास छैन,” उनी भन्छन्, “त्यसका साथै सरकारी निकायको झन्झटिलो प्रक्रिया, सुस्त कार्यशैलीले पनि अहिलेको अवस्था आएको हो।” त्यसका साथै काम देखाएर फेरि चुनाव जित्ने चलाखी पनि भएको मिश्रको बुझाइ छ।
घरघरमा सिलिन्डर
विभिन्न कलकारखानामा प्रयोग भएको अक्सिजन सिलिन्डर सरकारले फिर्ता लिएपछि अहिले करीब १ लाख २० हजारभन्दा बढी सिलिन्डर अस्पताल र अक्सिजन उद्योगमा छन्। जब कि अहिले सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार छ। जानकारहरूका अनुसार, अस्पताल भर्ना भएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई अक्सिजनको आवश्यकता परेको छ।
काठमाडौं उपत्यकाका ८ र उपत्यका बाहिर १८ वटा अक्सिजन उद्योग लगभग पूर्ण क्षमतामा चलेका छन्। उपत्यका बाहिर नेपालगन्ज, चितवन, बुटवल, भैरहवा, वीरगन्ज, विराटनगर र इटहरीमा अक्सिजन उद्योग छन्। नेपाल अक्सिजन उद्योग संघका अनुसार, यसअघि ५५ प्रतिशत औद्योगिक क्षेत्र र बाँकी ४५ प्रतिशत अस्पतालमा खपत हुन्थ्यो। अहिले करीब ९० प्रतिशत स्वास्थ्य क्षेत्रमा पठाइएको छ। तर पनि, अक्सिजनको अभाव किन देखियो?
काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला घरमा अक्सिजन राखेर आफू अनुकूल प्रयोग गर्दा जोखिम हुने बताउँछन्।
अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडा नागरिकले भोलिका लागि घरमा अक्सिजन सञ्चय गर्न थालेकाले समस्या देखिएको बताउँछन्।
“आवश्यक पर्दा सरकारले दिन सक्दैन भनेर घरमै राख्नेहरू बढेका छन्,” उनी भन्छन्, “यसले हामीलाई चुनौती त दिएकै छ, अस्पतालले नपाउँदा मृत्युदर पनि बढेको छ।” सरकारले जनतालाई ढुक्क बनाएर जोहो गर्नबाट रोक्नुपर्ने उनको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसबिना घरमा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरिसकेको छ।
काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला घरमा अक्सिजन राखेर आफू अनुकूल प्रयोग गर्दा झन् खतरा हुने बताउँछन्।
“स्वास्थ्यकर्मीले कुन बेला, कस्तो अवस्थामा दिने भन्ने ख्याल गरेर दिन्छन्,” उनी भन्छन्, “आफैंले अक्सिजन दिँदा शरीरमा अक्सिजनको मात्रा त ‘मेन्टेन’ होला, तर फोक्सोको अवस्था र अन्य अंगमा पारेको प्रभाव थाहा हुँदैन।” सिकिस्त हुँदा अस्पताल र विशेषज्ञको विकल्प नभएकाले घरमा अक्सिजन राख्नुको अर्थ नभएको बास्तोलाको भनाइ छ।