प्रधानमन्त्रीज्यू, विद्वत्ताको बोझले गाह्रो पार्यो !
प्रधानमन्त्री ओलीको विज्ञताको नतिजा के देखियो भने, आजका दिनसम्म नेपालमा कोरोना संक्रमणबाट साढे पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ। त्यो मृत्युको प्रमुख कारण रोगको जटिलताभन्दा पनि बढी अस्पतालमा बेड र अक्सिजनको अभाव बनिरहेको छ।
प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्री मुलुकको प्रमुख कार्यकारिणी र सबैभन्दा शक्तिशाली पद हो। सबै राजनीतिज्ञको लक्ष्य हुन्छ, यो पदमा पुग्ने। विशेष गुण र क्षमताबिनाको चानचुने मान्छे त्यो ठाउँमा पुग्नै सक्दैन। त्यस हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीमा विशेष गुण छ।
हुन पनि हाम्रा प्रधानमन्त्री र विद्वत्ताबीच अटुट साइनो छ। कतिसम्म भने, प्रधानमन्त्री ओलीको विद्वत्ता र विज्ञताबाट बौद्धिक वृत्त समेत 'कायल' हुने गरेको छ।
पछिल्लो समय एक वर्षयता कोभिड–१९ संक्रमण महामारीको बेला प्रधानमन्त्री ओलीको विद्वत्ता र विज्ञता अझ खुलेर प्रकट भयो। उनले कहिले ‘कोरोना रुघाखोकी जस्तो हो, हाच्छिउँसाच्छिउँ गर्नुपर्छ तातोपानी खानुपर्छ उडाइदिनुपर्छ’, कहिले ‘नेपालीको इम्युन सिस्टम धेरै बलियो भएकाले कोरोनाले केही गर्न नसक्ने’, ‘तातोपानीले हात धुँदा कोरोनाभाइरसको बाहिरी तह पग्लिएर भाइरस समाप्त हुने’ भनेर विज्ञताको लेपले ढुक्क बनाउन खोजे।
विभिन्न देशमा स्वास्थ्य पूर्वाधारले महामारी थेग्न नसकेको र संक्रमणबाट मानिसहरू ठूलो संख्यामा मरिरहँदा पनि कोभिडको पहिलो लहरपछिको समयमा सरकारले परिस्थितिको आकलन गरेर तयारीमा ध्यानै दिएन। सरकारी संयन्त्र प्रधानमन्त्रीको विद्वत्ता र विज्ञताकै भरमा बसे झैं देखियो। अन्य देशहरू अस्पतालको क्षमता विस्तार र पर्याप्त खोपको जोहोमा लागिरहँदा हाम्रा प्रधानमन्त्री ठोरीमा राम–सीताको मूर्ति हस्तान्तरण, निर्माण पूरा नहुँदैको धरहरा उद्घाटन र बेसारको लाभबारे प्रवचन दिन व्यस्त देखिए।
यस अवधिमा उपलब्ध स्रोतसाधनको व्यवस्थापन गर्न समेत चुकेको सरकारबाट स्वास्थ्य संरचना र सेवामा आवश्यक विस्तार हुने अपेक्षा धेरै टाढाको कुरा बनिदियो।
जति बेला प्रम ओलीले महामारीको सम्भावित संकटप्रति निस्फिक्री रहँदै आफ्नो खोक्रो विज्ञता देखाइरहेका थिए, त्यो समय स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापन गर्न समन्वय गरेको भए आजको क्षति र विकराल अवस्था शायदै निम्तिन्थ्यो। स्वास्थ्य सेवामा सामान्य र अत्यावश्यक मानिने अक्सिजन नपाएकै कारण संक्रमितहरूको मृत्यु हुनुलाई आज 'अपराध'का रूपमा हेरिँदै छ।
प्रधानमन्त्री ओलीले कुनै आधार र प्रमाणबिना हाम्रो रोगप्रतिरोधी क्षमता बढी छ भनेर बोलिरहँदा स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरूले त्यसरी ढुक्क भएर नबस्न सजग गराए। तर, त्यसले उनलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता बोध गराएन। प्रधानमन्त्रीले संसद्मा ‘हाम्रो रोगप्रतिरोधी क्षमता बढी छ भनेर कसले भन्यो भनेको होइन? भर्खरै सुन्नुभयो नि मैले भनेको’ भन्दै आफ्नो विद्वत्ता र विज्ञता अकाट्य रहेको प्रमाण दिइरहे।
प्रधानमन्त्री ओलीको विज्ञताको नतिजा के देखियो भने, आजका दिनसम्म नेपालमा कोरोना संक्रमणबाट साढे पाँच हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। त्यो मृत्युको प्रमुख कारण रोगको जटिलताभन्दा पनि बढी अस्पतालमा बेड र अक्सिजनको अभाव बनिरहेको छ।
जति बेला प्रम ओलीले महामारीको सम्भावित संकटप्रति निस्फिक्री रहँदै आफ्नो खोक्रो विज्ञता देखाइरहेका थिए, त्यो समय स्वास्थ्य सेवाको विस्तार र व्यवस्थापन गर्न समन्वय गरेको भए आजको क्षति र विकराल अवस्था शायदै निम्तिन्थ्यो। स्वास्थ्य सेवामा सामान्य र अत्यावश्यक मानिने अक्सिजन नपाएकै कारण संक्रमितहरूको मृत्यु हुनुलाई आज 'अपराध'का रूपमा हेरिँदै छ। कोरोना महाव्याधिको यो अवस्था अपूरो बुझाइ, ज्ञान र संकटलाई कम आँक्नु कति घातक हुन्छ भनेर प्रधानमन्त्रीका लागि सिकाइ पनि हुनुपर्छ।
अन्ततः महामारीले जनधनको यति धेरै क्षति गरेपछि प्रधानमन्त्री ओलीलाई आज आफ्नै विद्वत्ताको बोझले थिच्यो। नेपालीको रोगप्रतिरोधी क्षमता असाधारण रहेको आफ्नो दाबी गलत रहेको उनले स्वीकार गरे। उनले २ जेठमा बालुवाटारमा भएको बैठकमा भने, “मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ। त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन। तर, यस तहमा वृद्धि भयो।”
त्यति भन्दाभन्दै पनि प्रधानमन्त्रीले जति मान्छे निको भएका छन् त्यसमा इम्युन सिस्टमको भूमिका हुन्छ भन्दै आफ्नो विज्ञताको बचाउ गर्न छाडेनन्।
विद्वत्ताको धुवाँदार प्रचार
प्रधानमन्त्रीले जति आफ्नो विद्वत्ता प्रकट गर्छन्, त्यसभन्दा पनि बढी चर्चा हुने गरेको छ। खासगरी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा कचिङ्गल शुरू भएपछि प्रधानमन्त्री ओलीको विद्वत्ताबारे अति प्रशंसाका भाव सुनिन र देखिन थालेको हो। पार्टीमा किचलोको आयतन जति बढ्दै गयो, उति उनका समर्थकले उनको विद्वत्तालाई प्रचार गर्ने क्रम बढ्दै गयो। सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकतापूर्वको अवस्थामा छुट्याइदिएपछि प्रशंसाको घनत्व र आयतन दुवै झन् बढेर गयो।
नेकपा छँदा बहुमतमा रहेको माधवकुमार नेपाल समूह ब्युँतिएको एमालेमा अल्पमतमा परेपछि त पार्टीभित्रको फरक मतलाई तह लगाउने अस्त्र नै बन्यो, प्रधानमन्त्रीको विद्वत्ताबारेका व्याख्या। जुन उनी पक्षका कार्यकताले कर्तल ध्वनिका साथ मन्त्र जसरी जपिरहे, जसको बाछिटा पार्टी निकट सञ्चारमाध्यमदेखि, सामाजिक सञ्जाल हुँदै सरकारी सञ्चारमाध्यमसम्म यत्रतत्र पर्न थाल्यो।
संसद्मा अविश्वासको सामना गरेर पदमुक्त भएपछि बहुमतको दाबी गर्ने अन्य दल नदेखिँदा फेरि प्रधानमन्त्री नियुक्त ओलीको विद्वत्ता गाथाले झनै गति लिने पक्का छ।
नेकपा छँदा बहुमतमा रहेको माधवकुमार नेपाल समूह ब्युँतिएको एमालेमा अल्पमतमा परेपछि त पार्टीभित्रको फरक मतलाई तह लगाउने अस्त्र नै बन्यो, प्रधानमन्त्रीको विद्वत्ताबारेका व्याख्या। जुन उनी पक्षका कार्यकताले कर्तल ध्वनिका साथ मन्त्र जसरी जपिरहे।
प्रधानमन्त्री ओलीको विद्वत्ताको व्याख्या गर्दा विशेष गरी उनले भारतको जी न्यूजका सुधीर चौधरी र वर्ड इज वन न्यूजकी पाल्की शर्मा उपाध्यायलाई दिएको अन्तर्वार्ता तथा विभिन्न सभा र कार्यक्रममा दिएका भाषणलाई उदाहरणका रूपमा पेश गरेको देखिन्छ। यी भिडिओ सामग्रीको तल लेखिएका प्रतिक्रियाहरूमा प्रधानमन्त्रीको भाषिक क्षमता, ज्ञान भण्डार र अभिव्यक्ति कलालाई खूब प्रशंसा गरिएका भेटिन्छन्। जसमा ‘अद्भुत’, ‘असाधारण’, ‘ज्ञानका विश्वविद्यालय’, ‘विलक्षण’ जस्ता शब्द प्रयोग भएका छन्।
ओझेलको पाटो
अन्तर्वार्तामा सुधीरलाई प्रधानमन्त्री ओलीले भारतबारे नै पढाएर पठाए। प्रस्तोता नेपालबारे सोध्छन्, प्रधानमन्त्री भारतको इतिहास बताउँछन्। प्रधानमन्त्रीले रामायण, महाभारत, भारतीय रजौटाहरू, भास्कराचार्य, ऋषिमुनिहरू र नालन्दको आगलागीबारे लामो व्याख्या गरे।
भारतीय संस्थापन पक्षको पक्षपोषण गर्ने सञ्चारकर्मीको परम्परा धान्दै चौधरीले भारतको आशीर्वाद र खटनमा नेपाल रहनुपर्छ भन्ने कोणबाटै प्रश्नहरू सोधे। त्यसको उत्तर प्रधानमन्त्रीले एक सार्वभौम राष्ट्रको हैसियत देखाएर दिए। प्रशंसकहरूले यसैलाई खूब प्रशंसा गरिदिए।
देशहरू साना हुन् वा ठूला, शक्तिशाली हुन् वा कमजोर सबै बराबर हुन् भन्ने सबैले बुझेकै कुरा हो। संसारभरिकै राष्ट्र प्रमुख वा सरकार प्रमुखहरूले राष्ट्रहरू कोही ठूला–साना हुँदैनन् भनेर औपचारिक रूपमा भन्ने पनि गर्छन्। तर, व्यवहार ठीक उल्टो गर्छन्। त्यो प्रवृत्तिमा अलिकति 'ब्रेक' लागेको देखिए पनि यसको दिगोपनमा शंका गर्ने ठाउँ छँदै छ। नेपाल र भारतबीच कैयौं सन्धि–सम्झौता भएका छन्, ती हरेकमा नेपाल ठगिएको छ। त्यसबारे प्रधानमन्त्री ओली जी न्यूजको अन्तर्वार्तामा बोलेनन्।
२०७२ सालको नाकाबन्दीको अविचलित सामना र चुच्चे नक्साको सन्दर्भ सानो होइन। तर, ती संयोग हुन् कि चिन्तन नै हुन् भनेर हेर्नै बाँकी छ। तर, कोभिड–१९ को सन्दर्भमा हेर्दा प्रधानमन्त्री ओलीलाई विज्ञानभन्दा वेद, पुराणमै बढी दख्खल भएको र विज्ञभन्दा रामायण, महाभारत जस्ता आख्यानकै पात्र प्रिय लाग्ने गरेको पुष्टि हुन्छ।
प्रधानमन्त्री ओलीले भाषणका क्रममा नेपाल भौगोलिक, भाषिक तथा जातीय विविधतायुक्त मुलुक भन्दै आएका छन्। तर, मुलक अविकसित हुनुका प्रधान र सहायक कारणहरू खुट्याउँदैनन्। कति कुरा विकासका बाधक हुन् र कति साधक हुन् भन्ने किटान गर्दैनन्।
८ फागुन २०७७ मा विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले बोलेको एउटा वाक्य (जल यातायातलाई सहज बनाउन कोशी नदीको ‘खुवालुङ’ ढुंगा फुटाउने) ले किराँती समुदाय दुःखी भयो। उनले कोशी नदी र कौशिक ऋषिका बारेमा शास्त्रीय व्याख्या गरे, तर त्यही कोशीमा किराँतीको आस्थाकेन्द्र छ भन्ने भेउ पाएनन्, त्यसलाई साधारण ढुङ्गो मात्रै देखे।
प्रधानमन्त्री ओलीले भाषणका क्रममा नेपाल भौगोलिक, भाषिक तथा जातीय विविधतायुक्त मुलुक भन्दै आएका छन्। तर, मुलुक अविकसित हुनुका प्रधान र सहायक कारणहरू खुट्याउँदैनन्। कति कुरा विकासका बाधक हुन् र कति साधक हुन् भन्ने किटान गर्दैनन्।
हाम्रा नेताहरूले विकासको अनुकरणीय उदाहरण दिने क्रममा अक्सर देखाउने मुलुक हो, सिंगापुर। त्यसका निर्माता ली क्वानले सिङ्गापुर स्वतन्त्र भएपछि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर सुधार गरेका थिए। जसले शिक्षाको गुणस्तर उकासियो र देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्यो। तर, हाम्रा प्रधानमन्त्री शिक्षकहरूलाई आलोचना गरिरहेका छन्, शिक्षामा भएको व्यापारीकरण रोक्न पटक्कै ध्यान दिएका छैनन्।
बरु स्थानीय सांस्कृतिक मान्यता र परम्पराबारे बेपर्वाह बोलिदिँदा र अन्धाधुन्ध निर्णय गर्दा बेलाबेला प्रधानमन्त्री र सरकारले असन्तुष्टि, गुनासो र विरोधको सामना गर्नुपरेको छ।
आफ्नो नेताको प्रशंसा मात्रै गर्ने, कमीकमजोरी नदेख्ने, मन परुन्जेल देवताकै रूपमा बखान गर्ने र मन नपरेको दिन सत्तोसराप गर्ने प्रवृत्तिले समालोचनात्मक चेतको खडेरी देखाउँछ। समालोचनात्मक चेत हराएपछि मानिसले सही र गलत चिन्दैन, असहिष्णु बन्छ, आलोचनादेखि डराउँछ र उक्त डरलाई क्रोधमा पोख्छ।
पाथीभराको प्रसङ्ग घनीभूत बन्दै छ। त्यही भूगोलमा जन्मिहुर्केका प्रधानमन्त्री ओलीले पाथीभरालाई स्थानीय भाषामा ‘मुकुलुङ’ भन्छन् र त्यही नाम स्थापित गर्न चाहन्छन् भन्ने मनोविज्ञान नबुझी पाथीभरा नाम नै अभिलेखीकरण गर्न स्वीकृति दिँदा दुःखेसो कायमै छ।
चाकरी र परनिर्भरता
गत १६ फागुनमा गोरखापत्र दैनिकमा एउटा लेख छापियो, ‘प्रधानमन्त्री ओली ज्ञानको विश्वविद्यालय’। यस्ता लेख, टिप्पणी कैयौं आए, तर गोरखापत्र सरकारी छापा भएकाले यहाँ उल्लेख गर्नुपरेको हो।
भौतिकशास्त्रमा जस्तो ठ्याक्क कुनै मापन छ/छैन, तर तलकाले माथिकालाई अति प्रशंसा गरे चाकरी बन्छ, माथिकाले तलकालाई अति प्रशंसा गरे पुलपुल्याइ हुन्छ। चाकरी र पुलपुल्याइ दुवैले निम्त्याउने विनाश नै हो। चाकरीले माथिकामा घमण्ड बढ्दै जान्छ, पुलपुल्याइले तलकामा थेत्तरोपन र अराजकता बढाउँदै लैजान्छ।गोरखापत्रको उक्त लेख स्तुतिको उदाहरण हो। प्रशंसा र चाकरीभन्दा पनि माथिल्लो स्तरको।
आफ्ना नेतालाई सबैले प्यारो मान्छन्। कांग्रेसजनका लागि शेरबहादुर देउवा वा रामचन्द्र पौडेल वा त्यही पार्टीका अन्य नेता प्यारो हुन्छ। माओवादीको लागि पुष्पकमल दाहाल नै प्यारो। मोहन वैद्य, सीपी मैनाली, नेत्रविक्रम चन्ददेखि उपेन्द्र यादव, महन्थ ठाकुरलाई प्यारो मान्नेहरू छन्। राजावादीलाई कमल थापा प्यारो, थापाभन्दा पूर्वराजा ज्ञानेन्द्र शाह झनै प्यारो।
एमालेमा एकथरीलाई ओली प्यारो, अर्कालाई माधव नेपाल प्यारो। ओली पार्टी अध्यक्ष, प्रधानमन्त्री र पार्टीमा बहुमत कार्यकर्ताको नेता भएकाले धेरैको प्यारो हुने भइहाले। आफ्नो नेताको प्रशंसा मात्रै गर्ने, कमीकमजोरी नदेख्ने, मन परुन्जेल देवताकै रूपमा बखान गर्ने र मन नपरेको दिन सत्तोसराप गर्ने प्रवृत्तिले समालोचनात्मक चेतको खडेरी देखाउँछ। समालोचनात्मक चेत हराएपछि मानिसले सही र गलत चिन्दैन, असहिष्णु बन्छ, आलोचनादेखि डराउँछ र उक्त डरलाई क्रोधमा पोख्छ।
हरेक व्यक्तिमा सबल र कमजोर पक्ष हुन्छन्। कुनै बेला कमजोर पक्ष हाबी हुनसक्छ। तर, प्रधानमन्त्रीलाई देवत्वकरण गर्नमा रमाइरहेका कार्यकर्तामा सबल र दुर्बल पक्षको लेखाजोखा गर्ने समालोचनात्मक चेतना लुप्त भइसकेको प्रतीत हुन्छ।
स्तुति र सत्तोसरापको प्रवृत्ति राजनीतिमा एउटै सिक्काका दुई पाटा झैं देखिन्छन्। हिजो पुष्पकमल दाहाललाई आफ्नो मुक्तिदाता ठानेर ज्यान सुम्पेका सयौं लडाकु यतिखेर उनैलाई कुनै किनाराबाट धारेहात लगाउँदै बसिरहेका छन्। २०५४ सालमा वामदेव गौतमको समूहलाई लखेट्न एक भएकाहरू आज एक–आपसमा शत्रुवत् व्यवहारमा छन्।
हरेक व्यक्तिमा सबल र कमजोर पक्ष हुन्छन्। कुनै बेला कमजोर पक्ष हाबी हुनसक्छ। तर, प्रधानमन्त्रीलाई देवत्वकरण गर्नमा रमाइरहेका कार्यकर्तामा सबल र दुर्बल पक्षको लेखाजोखा गर्ने समालोचनात्मक चेतना लुप्त भइसकेको प्रतीत हुन्छ।
मानवशास्त्री डोरबहादुर विष्टका अनुसार, नेपाली समाजको विशेषता परनिर्भता हो। त्यो परनिर्भरता भाग्यवाद, चाकरीवाद र नातावादमा आधारित छ। प्रशंसालाई चाकरी, चाकरीलाई स्तुतिमा पुर्याउने पछिल्लो घटनाक्रम जसरी विकसित बन्दै गएको छ, यो विष्टले भनेको नेपाली समाजको विशेषताभित्रै पर्छ। त्यसलाई चिर्दै जानुको साटो अझ मलजल गर्दै जाने प्रवृत्तिले तलकालाई परनिर्भर तथा आशे बनाइराख्छ, माथिकालाई निरंकुश र निर्मम बनाउँदै लग्छ।
चाकरी र त्यसभन्दा माथि स्तुति गाउने क्रममा प्रधानमन्त्री ओलीलाई राजनेताको संज्ञा दिने जमात एमालेमा बढ्दै गएको छ। एमाले कार्यकर्ताका लागि राजनेतै होलान्, तर समग्र राष्ट्रका लागि प्रम ओली राजनेता हुन बाँकी छ। राजनेताले सबैलाई समेटेर सँगै हिँडाउँछ। हिँड्न नचाहनेलाई छोडेर भए पनि ठीक बाटोमा हिँड्छ। सँगै हिँडाउने तर उछिन्ने र छोड्दै अगाडि बढ्दा गलत ठाउँमा पुग्ने राजनेता होइन।
राजनेतालाई अरूले दुःख दिए, सताए, सहयोग गरेनन्, सकिनँ भन्ने छूट हुँदैन। राजनेता अगाडि बढेपछि शुरूमा अहमत भएकाहरू पनि क्रमशः पछि लाग्छन्। ठूलो समूह लिएर यात्रा थाल्ने, पर पुग्दा एक्लै हुने राजनीतिज्ञ राजनेता होइन।
राजनीति सबै नीतिको पनि नीति भनेर ठट्टामा भनिएको होइन। प्रधानमन्त्री राजनीतिज्ञ हुन्। राजनीतिज्ञमा हरेक कुराको ज्ञान हुनैपर्छ, हरेक कुरामध्ये कुन प्रमुख, कुन सहायक, कुन गौण भन्ने कुराको हेक्का राखेर लक्ष्य निर्धारण गर्नुपर्छ र त्यो लक्ष्यमा सबैलाई हिँडाउनुपर्छ। त्यस अर्थमा प्रधानमन्त्री ओलीको ज्ञानको भण्डार एमालेका कार्यकर्ताले देखे जति छैन। जति छ, एकपक्षीय छ। शास्त्र, विभिन्न समुदायको जीवनशैली, आस्था, विश्वास आदिमा त्यही एकपक्षीय ज्ञानकै कारण बेलाबखत असमझदारी, असन्तुष्टि र आलोचनाका झिल्का निकाल्ने गरेको छ।
हामीकहाँ भौतिक विकास र सांस्कृतिक विकासलाई एकाकार गरेर लाने राजनेताको जरुरी छ। त्यो बाटोमा आगामी दिनमा प्रम ओली कति अगाडि बढ्न सक्लान्, ज्ञानको भण्डारलाई आवश्यकता र प्रमुखता निर्धारण गरेर नागरिकको हितमा खर्चिन सकून्।