‘अपवादबाहेक खोप लगाएकामा गम्भीर समस्या देखिएको छैन’
कोरोना महामारीको दोस्रो लहरले व्यापकता लिन थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको १६ दिनभन्दा बढी भइसकेको छ। निषेधाज्ञा कहिलेसम्म लम्बिन्छ? यतिका दिन निषेधाज्ञा भइसक्दा पनि संक्रमितको संख्या किन घटिरहेको छैन? जस्ता जिज्ञासा धेरैले राखिरहनुभएको छ।
कोरोना संक्रमणको अहिलेको अवस्था स्थिर हो, अलिकति तलमाथि भइरहने। संक्रमितको संख्या अझै बढ्ने क्रममा छ या घट्ने क्रममा, एक–दुई दिनको तथ्यांक हेरेर निष्कर्षमा पुग्न सकिँदैन। आगामी साताको ‘ट्रेन्ड’ हेरेर मात्र हामी कुन अवस्थामा छौं भन्ने कुरा गर्न सकिन्छ।
अहिले आएर हामीले संक्रमण केही कम होला कि भन्ने अनुमान गर्नुको कारण मानिसहरूले आफ्नो परिवारभन्दा बाहिरका व्यक्तिसँग सम्पर्क गर्न पाएका छैनन् भन्ने आधारमा हो। यही अवस्था रहिरहे अबको केही हप्तापछि संक्रमण दर कम होला भन्ने लागेको हो।
अहिले निषेधाज्ञाले समुदायमा मानिसका भेटघाट बन्द भएका छन्। जमघट छैनन्। तर पनि, संक्रमितको संख्या नघट्नुको कारण भनेको निषेधाज्ञाअघि नै घर–घरमा भाइरस पुग्नु हो। घर–घरमा पुगेको भाइरसले जे गर्नसक्ने हो, त्यही गरिरहेको छ। जसलाई अप्ठेरो पार्नसक्छ, उसैलाई पारिरहेको छ।
अहिलेसम्मका अध्ययनमा मानिसको शरीरमा भाइरस प्रवेश गरेको पाँचदेखि ६ दिनमा लक्षण देखाउन शुरू गर्दछ भनिएको छ। जुन बेला लक्षण देखिन्छ, त्यो बेला भाइरसको ‘लोड’ पनि बढी हुन्छ र त्यही बेला अर्कोमा सर्ने सम्भावना पनि बढी हुन्छ। तीन सातासम्मको अवधिमा घरमा भाइरसले कस–कसलाई संक्रमण गर्ने हो, गरिसक्छ।
अहिले आएर हामीले संक्रमण केही कम होला कि भन्ने अनुमान गर्नुको कारण मानिसहरूले आफ्नो परिवारभन्दा बाहिरका व्यक्तिसँग सम्पर्क गर्न पाएका छैनन् भन्ने आधारमा हो। यही अवस्था रहिरहे अबको केही हप्तापछि संक्रमण दर कम होला भन्ने लागेको हो।
टेकु अस्पतालको अवस्था हेर्दा गत साताभन्दा केही कम बिरामी आएको देखिन्छ। अघिल्लो साता जस्तो बेड अपुग भएर म्याट बिछ्याएर उपचार गर्ने अवस्थामा थोरै भए पनि राहत भएको छ। तर, टेकुकै अवस्था हेरेर सबैको अवस्था बताउन गाह्रो हुन्छ। अहिलेकै जस्तो निषेधाज्ञा कायम राखिएमा आउँदो एक महीनाभित्र संक्रमणमा कमी आउने निश्चित छ।
अहिले पनि संक्रमणको संख्या बढ्नुमा हाम्रो लापरवाही पनि प्रमुख कारण हो। संक्रमितको संख्या केही घट्ने अनि निषेधाज्ञा खोल्ने निर्णयले पुनः संक्रमण बढ्ने जोखिम पनि उत्तिकै छ। भाइरसको फैलावट जति रोक्न सक्यो, त्यति नै म्युटेसन हुने सम्भावना कम हुन्छ। म्युटेसनसँगै नयाँ भेरियन्ट बन्ने सम्भावना भएकाले पनि संक्रमणको दर रोक्नैपर्ने दायित्व बढेको हो।
अहिलेसम्म उपचारका लागि आएका बिरामीसँगको अन्तर्क्रियाबाट हामीले अपवादलाई छाडेर खोप नलगाएका मानिस नै धेरै मारमा परेको पाएका छौं। परिवारका सबै संक्रमित त छन्, तर खोप लगाएका व्यक्तिलाई अस्पताल भर्ना गर्नुपरेको छैन।
त्यसैले अब कोरोनाका लागि ‘रामवाण’ भनेकै खोप नै हो। अब जसरी हुन्छ, खोपका लागि जोड दिनुपर्दछ। सबैले खोप लगाउनुपर्छ।
(पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)