कोरोनाबाट एकै वडाका ९ जनाको मृत्यु
दैलेखको दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाभाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ।
स्थानीय गौरी स्वास्थ्य चौकीका संयोजक रमेश लम्सालका अनुसार, मृत्यु भएकामध्ये ६ जनाको कोरोना परीक्षण गरिएको थियो भने तीनको परीक्षण गरिएको थिएन। उनीहरूमा पनि ज्वरो आउने, शरीर र छाती दुख्ने तथा रुघाखोकी लाग्ने लक्षण देखिएको लम्सालले बताए।
बिरामी भएको पाँचदेखि आठ दिनमा उनीहरूको मृत्यु भएको संयोजक लम्सालले बताए। अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो। बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको उनले बताए।
कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो। एउटै टोलमा १०० भन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए। (रासस)