एक चेतन, अनेक चेतना
आफ्नो जीवनकालमा चेतनले फरक–फरक प्रकृतिका अनेक काम गरे। कहिले माछा विशेषज्ञ बने, सिनेमा बनाए, गीत–कविता–कथा लेखे, शिक्षक बने, सरकारी कर्मचारी भए, कुनै बेला त फूटबल खेलाडी पनि थिए रे। तर, उनलाई सम्झिइने आखिर यही सिर्जनाकै कामले हो।
यो आइतबार (२ जेठ) मेरा लागि निराशापूर्ण दिन रह्यो। बिहान चेतन कार्कीको निधनको खबर सुनें र बेलुका डा. इश्वरलाल (आईएल) आचार्यले पनि हामीलाई छोडेर गएको खबर आइपुग्यो। दुवै मेरा असल मित्र थिए। नेपालको स्वास्थ्य क्षेत्रमा आईएल आचार्यको ठूलो योगदान छ। हामी दुवै बेलायतमा अध्ययनरत छँदा नै मैले उनलाई चिनेको थिएँ।
अर्का मित्र चेतन कार्कीसँग त सँगै काम पनि गरेको हुँ। तत्कालीन शाही नेपाली चलचित्र संस्थानमा म कार्यकारी अध्यक्ष छँदा उनी त्यहाँका कर्मचारी थिए। उनी निर्माण अधिकृत पदमा काम गर्थे। निर्माण अधिकृतलाई सिनेमा र सिनेमा बनाउनेहरूको व्यवस्थापनको जिम्मा दिइएको हुन्थ्यो। आफ्नो काम उनी लगनशील भएर गर्थे। अह्राएका काम र आफ्ना दायित्व दुवै राम्रोसँग निर्वाह गर्थे।
चेतन ८३ वर्षअघि स्याङ्जामा जन्मिएका थिए। बुवा भारतीय सेनामा भएकाले सानैमा छोरालाई देहरादुन लगेका रहेछन्। उतै पढे, हुर्केका भए पनि जब उनी नेपाल आएर पोखरामा काम गर्न थाले, गण्डक क्षेत्रका लोकगीत, लोकभाकामा राम्रोसँग भिजे। गीत पनि लेखे।
यसबारे मैले मिहिन विश्लेषण त गरेको छैन, तर उनलाई सिर्जनामा सघाउन पोखराको जुन प्रकृति छ, त्यसले निश्चय पनि भूमिका खेलेको हुनुपर्छ। त्यहाँ त हिमाल नै तालमा प्रतिबिम्बित हुने स्थिति थियो पहिला।
म आफैं पनि केही सिनेमाको छायांकन पोखरामा गरेको थिएँ। प्रकृति राम्रो भएकाले। मलाई लाग्छ, चेतनको सिर्जनामा पनि यी कुराले निश्चित रूपमा प्रभाव पारेका छन्। मैले उनका कतिपय सिर्जना केही समयअघि नै पढेको थिएँ।
मान्छेले लामो समय सम्झने उनका कृतिमा तीजको गीत विशेष रूपमा पर्छ। ‘कन्यादान’ सिनेमाको गीत ‘तीजको रहर आयो बरी लै...’ सधैं सम्झनामा रहनेछ। उनको किताब ढलेको गिलास केही समय चर्चामा आएको थियो। उनले आत्मा बेचेको छैन, हनिमुन, बसिबियाँलो जस्ता किताब पनि लेखेका थिए।
सिनेमामा आउनुअघि २०१८ देखि २०२५ सालसम्म उनी पोखरामा कृषि विभाग अन्तर्गत मत्स्य शाखामा जागीरे थिए। २०२५ सालमा त्यहाँबाट राजीनामा दिएर उनी काठमाडौं आए। यहाँ आएपछि उनले सञ्चार मन्त्रालय अन्तर्गत सिंहदरबारमा स्थापना गरिएको सिनेमाको एउटा इकाइमा काम थाले।
त्यतिबेला राजा महेन्द्रले भारतको बम्बई (हाल मुम्बई) बस्ने नेपालीमूलका भारतीय निर्देशक हिरा सिंह खत्रीलाई काठमाडौं बोलाएर सिनेमा (बनाउन) शुरू गरे। त्यसरी आमा, हिजो, आज, भोलि र परिवर्तन तीनवटा सिनेमा बने। २०२५ सालमा बनेकोपरिवर्तन मा चेतनले पटकथा लेखेका थिए। त्यसका गीत ‘बैनीको दया छ भने...’, ‘बुझ्नै सकिनौ तिमीले...’ पनि उनैले लेखेका हुन्। लोकलयमा उनको दख्खल देखिन्थ्यो।
चेतनले पछि गएर खत्रीकै नाममा एउटा पुरस्कार स्थापना गरेका थिए। त्यसको पहिलो पुरस्कार लिइदिनुपर्यो भनेर सात–आठ वर्षअघि मलाई आग्रह गरे। (हे. तस्वीर) ‘सिनेमाकै क्षेत्रको पुरस्कार हो, ठीकै छ’ भनेर मैले ग्रहण गरेँ। तर, त्यो पुरस्कारले पछि निरन्तरता पाए जस्तो लागेन।
२०२८ सालमा उनी चलचित्र संस्थानमा आबद्ध भए। मैले छोडेपछि पनि उनी त्यहीँ कार्यरत थिए। म अन्य क्षेत्रतिर लागेँ। तर, हामी दुवै साहित्य, कला, संगीतमै आबद्ध थियौं। उनी गीत, कथा, पटकथा, संवाद, कविता, उपन्यासहरू लेख्थे। म पनि यिनै गतिविधिसँगै प्रसारण क्षेत्रमा भएकाले हाम्रो भेटघाट बरोबर भइरहन्थ्यो।
कोरोनाको कहर शुरू हुनुअघिका अनेक समारोहमा हामी सँगै हुन्थ्यौं। यो क्षेत्रमा निरन्तर लागिरहेका मान्छे हुन्।
उनले आफ्नो जीवनकालमा फरक–फरक प्रकृतिका अनेक काम गरे। कहिले माछा विशेषज्ञ बने, कहिले सिनेमा बनाए, कहिले गीत–कविता–कथा लेखे, कहिले शिक्षक बने, कहिले सरकारी कर्मचारी, कुनै बेला फूटबल खेलाडी पनि थिए रे। तर, अहिलेसम्म उनलाई सम्झिइने त आखिर यही सिर्जनाकै कामले न हो।
हुन त मान्छेको जीवन प्रकृति र जगत्को वरिपरि घुमिरहने हो। त्यसो हुनाले जति बढी क्षेत्रहरूमा अनुभव हासिल गर्यो, जति बढी जीवनलाई बुझ्न सक्यो, त्यति राम्रो हुन्छ, त्यति मान्छे परिपक्व हुँदै जान्छ। तर, लागेका क्षेत्रमा राम्रो गर्न चाहिँ सक्नुपर्यो।
जीवन र जगत्लाई बुझ्ने, अनुभव बटुल्ने र त्यसलाई आफ्ना सिर्जनामा सम्प्रेषण गर्न खोजियो भने सिर्जना मौलाउँछ। यो कुरा चेतनदेखि लिएर सबैमा लागू हुन्छ।
उनले विभिन्न क्षेत्रका अनुभव बटुल्ने काम गरे। तर, जीवन र जगतलाई बुझेर तिनलाई उनले आफ्ना सिर्जनामा कत्तिको अभिव्यक्त गरेका छन्, त्यो आम श्रोता, दर्शक र समीक्षकले मूल्यांकन गर्ने कुरा हो।
उनी कुनै बेला मेरो मातहतका कर्मचारी थिए। हामीबीच कहिले पनि हाकिम–कर्मचारीको सम्बन्ध भएन। अलि पछि गएर त साथीभाइकै सम्बन्ध विकास भयो। उनको स्वभाव राम्रै थियो, जे छ बोलिहाल्ने, मनमा लागेको कुरा भनिहाल्ने बानी थियो। अलिकति रमाइलो गर्नुपर्ने, 'सेन्स अफ ह्युमर' भन्छन् नि, त्यो पनि थियो उनमा। पहिला–पहिला अलि पिउँथे रे। पछि छोडेछन्।
(कुराकानीमा आधारित।)