देशका ३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
कोभिड–१९ को संक्रमण देशभरि नै देखिएको भए पनि ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या धेरै रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ती जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ।
निषेधाज्ञाको समयमा पनि लुकिछिपी हिँडडुल गर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने भएकाले संक्रमण घट्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, निषेधाज्ञा भए पनि मानिसको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी आएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, ती जिल्लामा संक्रमित व्यक्ति समेत खुलमखुला हिँडडुल गरिरहेको पाइएको छ। “संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझीनबुझी, लुकिछिपी वा खुलमखुल्ला उल्लंघन भइरहेको देखिन्छ,” डा. अधिकारीले प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “ती जिल्लामा संक्रमण उच्च रहेको तथा संक्रमित व्यक्तिहरू सार्वजनिक स्थलहरूमा खुलेआम हिँडिरहेको देखिन्छ।”
ती जिल्लालाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिममा राखेको छ, जहाँ ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
यी जिल्लामा प्रदेश १ का मोरङ, झापा र सुनसरी, प्रदेश २ का धनुषा, पर्सा र महोत्तरी रहेका छन्। त्यस्तै, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलान्चोक, मकवानपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली रहेका छन्।
यस्तै, गण्डकी प्रदेशका कास्की, नवलपरासी (पूर्व), गोरखा, तनहुँ र स्याङ्जा, लुम्बिनी प्रदेशका दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, पाल्पा र बर्दियामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमका कैलाली, बैतडी र कञ्चनपुरमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ।
यी जिल्लामा स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।