काठमाडौं उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित
काठमाडौं उपत्यकामा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। आज थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७७ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ३४६ जनामा संक्रमण देखिएको छ। आइतबार १ हजार ८८१ जनामा संक्रमण देखिएको थियो।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ हजार ५२७ पुगेको छ। अहिलेसम्म काठमाडौंमा १ लाख ६५ हजार ३६४ जनामा कोरोना देखिएको छ भने १ हजार १८९ जनाको मृत्यु भएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ललितपुरमा ४५४ जनामा कोरोना देखिएको छ। योसँगै ललितपुरमा सक्रिय संक्रमितको ७ हजार १७१ पुगेको छ। कोरोनाबाट ३१८ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या २८ हजार २१७ पुगेको छ।
भक्तपुरमा पछिल्लो २४ घण्टामा २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ७६ पुगेको छ। अहिलेसम्म भक्तपुरमा १६ हजार ८४० जनामा कोरोना देखिएको छ भने २३५ जनाको मृत्यु भएको छ।