नरहरि बुटीले निको पार्दैन कोरोना
नेपालमा कोरोनाभाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचार सम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन्।
तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडिओ फेसबूकमा धेरैले शेयर गरेका छन्।
उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबूकमा भिडिओहरू राखेका छन्। एकअर्कालाई ट्याग गर्दै राखेका भिडिओमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर सङ्क्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्याइदिने बताएका छन्।
गत वैशाख २९ गते फेसबूकमा गरिएको पोस्टलाई सोमबारसम्म चार हजार ३ सयभन्दा धेरैपटक शेयर गरिएको छ। एउटा भिडिओ ७३ हजारभन्दा धेरैले फेसबूकमा हेरेका छन् भने त्यसलाई समेत २ हजारभन्दा धेरै शेयर गरिएको छ।
सयभन्दा बढीको सङ्ख्यामा उनीहरूका अन्य केही भिडिओहरू समेत शेयर भएका छन्। उनीहरूले ती बुटी आफ्नै भाइ, सासू र दिदीलाई खुवाएको बताएका छन्।
उक्त बुटी कोरोनाभाइरसको औषधि भएको भन्दै एक वर्षअघि योहो टेलिभिजनमा प्रेम कैदीले पत्रकार जीवराम भण्डारीलाई अन्तर्वार्ता दिएका थिए। जसको क्लिप सो टेलिभिजनको आधिकारिक फेसबूक पेजमा अझै रहेको छ। यूट्यूबमा समेत पीएनपी टिभी, एभरेस्ट नेपाल नामक यूट्यूब च्यानलमा प्रेम कैदीकाे त्यस सम्बन्धी भिडिओ हेर्न पाइन्छ।
ती भिडिओमा उनले उक्त बुटीले कोरोनाभाइरस लगायत १००८ किसिमका रोग निको पार्ने दाबी गरेका छन्। सो भिडिओ हजारौं पटक हेरिएको छ। आममानिसमा उक्त बुटीबारे चासो र उत्सुकता रहेको पाइएकाले साउथ एसिया चेकले त्यसबारे वनस्पति र आयुर्वेदका विज्ञहरूसँगको कुराकानीका आधारमा यो सामग्री तयार पारेको छ।
कस्तो हो यो ‘बुटी’?
साउथ एसिया चेकले यस वनस्पतिको पहिचानका क्रममा केही वनस्पति र आयुर्वेदका विज्ञहरूसँग सम्पर्क गरेको थियो।
उनीहरूबाट एकैखाले जवाफ नपाइएपछि हामीले सो वनस्पति मगाएर विज्ञहरूको सहयोगमा थप अध्ययन गर्यौं। त्यसलाई औषधि भनी दाबी गर्ने व्यक्तिले बागमती नदी किनारमा उम्रिएको त्यसको बिरुवा हामीलाई देखाए। उनीहरूबाट त्याे बिरुवा लिएपछि थप जानकारी लिन हामीले वनस्पतिविद्हरूलाई सम्पर्क गर्यौं।
यस क्रममा हामीले गोदावरीस्थित राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा समेत त्यसको फोटो पठायौं। सोको नमूना राखिएको उक्त प्रयोगशालाका प्रमुख सुवास खत्रीले त्याे चिनोपोडियम प्रजातिको एक वनस्पति भएको बताए। उनले भने, “चिनोपोडियम हामीले खाने बेथेको सागसँग मिल्दोजुल्दो वनस्पति हो। त्यसको फूल र बिउका आधारमा अझ साँघुरो तरिकाले वर्गीकरण गर्न सकिन्छ।”
यसलाई डेसफानिया एम्ब्रोसिओनिडेस नामले समेत पछिल्लो समय चिनिने गरेको अर्का एक जना वनस्पतिविद् कमल मादेनले साउथ एसिया चेकलाई बताए। उनले भने, “यो वनस्पति औषधिदायक नै हो।” उनका अनुसार, ‘प्लान्ट्स एन्ड पीपल अफ नेपाल’ शीर्षक किताबमा यसको औषधि के-केमा प्रयोग हुन्छ भन्ने लेखिएको छ। यसको बिउको पाउडर ४ चिया चम्चा सुत्ने बेलामा ४ रात खानाले पेटको जुका मार्न उपयोगी हुने उक्त पुस्तकमा उल्लेख गरिएकाे मादेनले बताए। “यसलाई अल्सरका लागि समेत उपयोगी मानिएको पाइन्छ। यसैगरी यो टनिकका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ,” उनले भने।
नरहरि बुटी प्रवर्द्धन गरिरहेका प्रेम कैदीले भने आफूले योगी नरहरिनाथबाट त्यसबारे मौखिक रूपमा थाहा पाएको दाबी गरे। तर, त्यसको कुनै लिखित विवरण आफूसँग नभएको उनकाे भनाइ छ। यसकाे प्रयोग गरेरै महत्त्व थाहा पाएको भन्दै थप अध्ययनको आवश्यकता समेत आफूहरूले महसूस नगरेको उनको दाबी छ।
के भन्छन् आयुर्वेदका चिकित्सक?
नरहरि बुटीले कोभिड रोग निको हुन्छ भन्ने आयुर्वेदका ग्रन्थमा कतै नभेटिने एक जना आयुर्वेद चिकित्सक प्रकाश ज्ञवाली बताउँछन्।
साउथ एसिया चेकसँग उनले भने, “यसबारे अनुसन्धान भएको आधिकारिक प्रमाण छैन। कुनै व्यक्तिले प्रयोग गर्दै जाँदा राम्रो भएको हुनसक्छ, तर आयुर्वेदमा यसको प्रयोग विधि नभएकाले हामीले प्रयोग गर्ने गरेका छैनौं।” कोभिड मात्र नभएर अन्य रोगको उपचारमा समेत यसलाई प्रयोग गर्ने नगरिएको ज्ञवालीको भनाइ छ।
नेपाल संस्कृत विश्वविद्यालयमा केन्द्रीय आयुर्वेद क्याम्पसका पूर्वप्रमुख प्राध्यापक डा. श्याममणि अधिकारीले आफूले नरहरि बुटीका बारेमा जानकारी नपाएकाले भन्न नसक्ने बताए। उनले त्यस बिरुवाको अन्य नाम भए भन्न सकिने बताउँदै थपे, “आयुर्वेदमा एउटै बिरुवाको धेरै नाम हुन्छ। सबैले सुनेको गुर्जोको पनि धेरै नाम छ। तर, एउटै औषधिले कोभिड निको पार्ने अहिलेसम्म आयुर्वेदिक औषधि बनेको छैन।”
उनी थप्छन्, “कसैलाई कुनै जडीबुटीले कुनै पक्षमा केही राहत दिएको हुनसक्छ। तर, प्रमाणित नभईकन त्यसमा मात्र भर पर्दा घातक हुनसक्छ।”
जडीबुटी जथाभाबी खाँदा के हुन्छ?
जडीबुटी जथाभाबी खाँदा त्यसको असर तत्कालै नदेखिए पनि दीर्घकालमा भने हानि हुनसक्ने विज्ञहरू बताउँछन्।
डा. ज्ञवाली भन्छन्, “अन्य औषधि जस्तो जडीबुटीले तत्कालै साइड इफेक्ट नगर्ने हुनाले पत्तो नभएको हो। हामीले खाने गरेको अमला नै कतिपय बिरामीले खान मिल्दैन।” उनका अनुसार, अमला युरिक एसिडको बिरामीले धेरै खान मिल्दैन। दीर्घरोग भएका बिरामीले मात्रा नमिलाई जडीबुटी खाँदा घातक हुनसक्ने विज्ञहरू बताउँछन्।
“रक्तचाप वा सुगर नियन्त्रण गर्नलाई विभिन्न औषधि दिने गर्छौं। कसैले मात्रा नमिलाई खाएमा घातक हुनसक्छ,” ज्ञवाली थप्छन्। मरिच, अदुवा धेरै मात्रामा खाँदा पाइल्स हुनेहरूलाई रगत बग्ने समस्या देखिने बताइन्छ। कोभिड-१९ हुँदा बाफ लिनुपर्छ भनेर धेरै बाफ लिँदा नाकबाट रगत आएको, सुख्खा भएको आयुर्वेदका विज्ञहरू बताउँछन्। डा. श्याममणि अधिकारी भन्छन्, “आयुर्वेदिक औषधि पनि गुणस्तरीय नखाँदा त्यसले असर गर्नसक्छ। जस्तै, मिसावट भएको बेसार, महहरू खाँदा त्यसको प्रभाव नहुन सक्छ।”
जथाभाबी प्रयोग रोक्न के गरिएको छ ?
नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद तथा वैकल्पिक माध्यमबाट संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी गरेको छ। त्यो पालना गर्न नेपाल सरकारले २०७८ वैशाख १२ गते पत्रचार गरेको थियो।
त्यसमा विभिन्न औषधिको नाम र मात्रा, खाने तरिका उल्लेख गरिएको छ। यसबारे वेबसाइटमा पनि सूचना राखिएको छ।
सेवन कसरी गर्ने ?
आयुर्वेदिक औषधिकाे सेवन आयुर्वेदिक चिकित्सक, विज्ञको सल्लाह अनुसार गर्नुपर्ने विज्ञहरू बताउँछन्। “आयुर्वेदमा पनि सामान्य लक्षण भएका र गम्भीर बिरामीका लागि चलाउने औषधि फरक हुन्छ,” डा. ज्ञवाली भन्छन्। “गर्भवती, बच्चा, वृद्धका लागि फरक हुन्छ। आयुर्वेदिक अस्पतालमा कोभिडका गम्भीर बिरामी र सामान्य लक्षण भएकालाई औषधि र मात्रा पनि फरक दिइन्छ।”
त्यसैले व्यक्तिको स्वास्थ्य र रोगविशेषको अवस्था अनुसार चिकित्सकको सल्लाहमा प्रयोग हुने औषधिले मात्र अपेक्षित प्रतिफल दिने हामीसँग कुरा गरेका दुवै आयुर्वेदका विज्ञहरूले बताए।