संकटमा कसरी गर्ने सीपको उपयोग?
कोभिड–१९ को महामारीका बेला एक–अर्कासँग भएको सीपको उपयोग र विस्तार गर्न सकियो भने संकटको समय कटाउन त सजिलो हुन्छ नै, आयआर्जन पनि गर्न सकिन्छ।
अहिले निषेधाज्ञा जस्तै गत वर्ष बन्दाबन्दी थियो। कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीलाई उपयोग गर्दै यूट्यूबका भिडिओ हेरेर मास्क र भित्री लुगा सिलाउन सिकेँ।
त्यहीबीच शिक्षकहरू मिलेर सामाजिक सञ्जालमा समूह बनायौं र दैनिक एक घण्टा शिक्षक संवाद शुरू गर्यौं। यसरी केही महीनाको घर बसाइपछि आफूले सिकेको सीप आदानप्रदान गर्न दैनिक दुई घण्टा विद्यालय खोल्यौं। त्यही मौकामा शिक्षक सहकर्मीलाई आफूले सिकेको मास्क र भित्री लुगा सिउने सीप सिकाएँ।
यसैबीच आफूले बनाएको कपडाको मास्कको बजारीकरण गर्न केही औषधि पसल पनि चहारेँ। चिनेको एउटा औषधि पसलेले मास्क अर्डर गरे। दुई दिनमा पुर्याउनुपर्ने भएकाले एक जना सिलाइ पसलकी बहिनीसँग सहयोग लिएँ। सबै बिक्री भएपछि मात्रै मूल्य पाइने भएकाले केही दिन पर्खें ।
केही सातापछि आयातीत मास्कको तुलनामा हाम्रो उत्पादन महँगो भयो भन्दै केही थान मास्क पसलेले फिर्ता गरे। यसले मास्क बनाउने अभियान केही समयका लागि रोकियो। यद्यपि लकडाउन खुकुलो भएपछि कतिपय अभिभावक र छरछिमेकीले किनिदिएर प्रोत्साहित गरे भने कतिपयले ‘हामीलाई पनि सिकाइदिनुस्’ भनेर सिक्ने अभिरुचि प्रकट गरे।
आफूले सिकेको सीपको सदुपयोग गर्दा आत्मसन्तुष्टि मात्र मिल्दैन, अतिरिक्त आम्दानीको स्रोत पनि फेला पर्दो रहेछ।
यस पटक पुनः कोरोनाको दोस्रो लहरपछि विद्यालय अनिश्चितकालका लागि बन्द छन्। केही साताको घरबसाइपछि शिक्षकहरूले पुनः सामाजिक सञ्जाल मार्फत शिक्षक संवाद शुरू गरेका छौं। विषम परिस्थितिमा कसरी पठनपाठनलाई निरन्तरता दिने भन्ने लगायत अन्य सीप सिक्ने–सिकाउने छलफल हुन थालेका छन्।
यससँगै फलाटिनको कपडासहितको तीनपत्रे मास्क बनाउने सीप र काम नलाग्ने वस्तुबाट कसरी शैक्षिक सामग्री बनाउने भन्ने सीप शिक्षक सहकर्मीलाई सिकाउन गृहकार्य गर्दै छु। गत वर्षदेखि नै आफूले बनाएको मास्क प्रयोग गर्न थालेका छौं। मास्कसँगै भित्री लुगा, टि–शर्ट लगायत प्रयोग गर्दै आएकी छु, जुन आफैंले बनाएका हुन्।
छोरीलाई पनि केही थान सुतीका मास्क, नाइटसुट, लामो जामा लगायत ऊनीको मोजा बनाइदिएँ। यसरी विषम परिस्थितिमा कसरी समयको सदुपयोग गर्दै आफूले सिकेको सीपको सदुपयोग गर्ने भन्ने अभियानमा शिक्षक सहकर्मी सहभागी हुँदै आएका छन्।
आफूले सिकेको सीपको सदुपयोग गर्दा आत्मसन्तुष्टि मात्र मिल्दैन, अतिरिक्त आम्दानीको स्रोत पनि फेला पर्दो रहेछ। त्यससँगै आफूले बनाएको मास्क प्रयोग गरेर एकातिर आयातीत मास्कलाई विस्थापन गर्दै छौं भने अर्कातिर मास्क किन्ने पैसा जोगाएर आफूले सिकेको सीपको प्रवर्द्धन गरिरहेका छौं।
यसमा चार दशकअघि आमाबाट सिकेको सिलाइ सम्बन्धी आधारभूत ज्ञानले अहिले काम दिएको छ। उतिबेला प्लास्टिकको धागोबाट झोला र फूलदानी बनाइने गरिएको थियो। सासूआमाले बनाउने ती सामानको बजारीकरण गर्न धेरथोर सहयोग गरेकी थिएँ। उहिले गाउँघरमा तानमा बनाइने कपडाकै परिमार्जित रूप आज ढाका र अल्लोका कपडा हुन् भन्दा फरक नपर्ला।
पहिले गाउँघरमा आफूले बुनेको कपडा लगाउँदै हुर्केको पुस्ताको सीपको जगेर्ना गर्न नसक्दाको परिणाम हो, आज आयातीत कपडामा निर्भर हुनुपरेको छ। यद्यपि केही समययता ढाका र अल्लोबाट बनेका जुत्ता लगायत अन्य पहिरनसँगै मास्कको माग बढ्दै गएको छ।
अझ कोभिड–१९ को महामारीले अर्थतन्त्रलाई धराशायी बनाएको छ। यस्तो बेला पनि स्वदेशी उत्पादनमध्ये मास्क पनि विदेश निर्यात भइरहेको समाचार आएका छन्। यसले उद्यमीलाई उत्साहित मात्र बनाएको छ।
सुती, ढाका तथा अल्लोबाट निर्मित मास्क पनि विदेश निर्यात हुँदै आएका छन्। ढाका तथा अल्लो जस्ता कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्दा एकातिर ढाका र अल्लोको बजारीकरण बढ्दै छ भने अर्कातिर साना–ठूला उद्योगले स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्दै छन्।
मास्क बनाउँदा चाहिने मेल्टब्लोन पेपर, फ्याब्रिक, इयर लुप, फिल्टर भल्भ र नोज लुप जस्ता कच्चापदार्थ भने चीनबाट आयात गर्नुपर्ने बाध्यता छ। धेरैजसो मास्क उद्योगले चीनबाट आयातीत कच्चा पदार्थबाट मास्क उत्पादन गरिरहे पनि पछिल्लो समय सुती, ढाका तथा अल्लोबाट निर्मित मास्क पनि विदेश निर्यात हुँदै आएका छन्। ढाका तथा अल्लो जस्ता कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्दा एकातिर ढाका र अल्लोको बजारीकरण बढ्दै छ भने अर्कातिर साना–ठूला उद्योगले स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्दै छन्।
भन्सार विभागले दिएको पछिल्लो तथ्यांक अनुुसार, चालू आर्थिक वर्षको नौ महीना (साउनदेखि चैतसम्म) चार करोड १४ लाख ६७ हजार रुपैयाँ बराबरको मास्क निर्यात भएको छ। विदेशी मुलुकको रोजाइमा नेपाली मास्क पर्न थाले पनि अधिकांश नेपालीले अझै आयातीत मास्क नै बढी प्रयोग गरेको देखिन्छ। अझ कतिपय सञ्चारमाध्यमले सुतीको कपडा लगायत ढाका र अल्लोबाट बनेका मास्कभन्दा आयातीत मास्क बढी सुरक्षित हुने समाचार दिइरहेका छन्। वास्तवमा सुती कपडाबाट बनेको मास्क कति सुरक्षित हुन्छ भन्ने परीक्षण नहुँदा पनि स्वदेशी मास्कले नेपालमा बजार नपाएको देखिन्छ। यी र यस्ता कतिपय कारणले पनि आयातीत मास्कको बजार फैलिँदो छ।
पछिल्लो समय सुतीको तीनपत्रे मास्कमा भित्रबाट फलाटिनको कपडा लगाउँदा सुरक्षित हुने कुरा सञ्चारमाध्यममा आइरहेका छन्। कतिपय स्वास्थ्यकर्मीले पनि सुतीकै कपडाबाट बनेको तीनपत्रे मास्क प्रयोग गर्दै आएका छन्। यस्तैमा डा. अरुणा उप्रेती अग्रपंक्तिमा पर्छिन्। उनले गत वर्षदेखि नै सुतीको तीनपत्रे मास्क नै प्रयोग गर्दै आएकी छिन्।
विडम्बना भन्नुपर्छ, डा.उप्रेती लगायत स्वास्थ्यकर्मीले सुती कपडाको मास्क प्रयोग गरिरहेका भए पनि अधिकांश नेता–मन्त्रीहरूले आयातीत मास्क नै बढी प्रयोग गरेको देखिन्छ। नीति निर्माणको तहमा बसेकाहरूले नै स्वदेशमा उत्पादित मास्क प्रयोग नगर्दा सर्वसाधारणमा यसको नकारात्मक प्रभाव परेको देखिन्छ। स्वदेशमै उत्पादन गरिएका मास्क लगायत अन्य वस्तुसँग स्वदेशी सीप गाँसिएको हुन्छ भन्ने नीति निर्माणको तहमा बसेकाहरूले नबुझे जस्तो देखिन्छ।
नेपालमा उत्पादन गरिएका मास्क विदेशमा निर्यात भइरहे पनि नेपाली बजारमा यसको प्रवर्द्धन र विस्तार गर्न सरकारी संयन्त्र सफल भएको देखिँदैन। त्यस्तै, स्वदेशमा उत्पादित सुतीको कपडा, ढाका र अल्लोबाट बनेका मास्कको प्रचारप्रसार गर्न नेपाली सञ्चारमाध्यम पनि चुकेको देखिन्छ। जसले गर्दा निर्यात भइरहेका नेपाली मास्कबारे बहुसंख्यक नेपाली अनभिज्ञ छन्।
अब स्वदेशमा उत्पादित मास्क लगायत अन्य वस्तुहरूको प्रवर्द्धन र विस्तारका लागि सरकारी संयन्त्रले पहलकदमी लिन जरुरी छ। विशेष गरेर ढाका तथा अल्लोबाट बनेका पहिरनहरू सरकारी कर्मचारीले पोशाकका रूपमा लगाउने नीति बनाइदिए मात्रै पनि स्वदेशी उत्पादन र सीपको प्रवर्द्धन हुनेछ।
त्यति मात्र होइन, यतिबेला कोभिड–१९ को दोस्रो लहरबाट बच्न र बचाउन चाहिने सुतीको तीनपत्रे वा चारपत्रे मास्क स्वास्थ्यको दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश मात्र दिनसके पनि आयातीत मास्कलाई विस्थापित गर्न सकिन्छ। यसो हुनसके सुती कपडा लगायत ढाका र अल्लोबाट बनेका मास्कप्रति नेपालीको आकर्षण बढ्छ। त्यससँगै सीपको प्रवर्द्धन र विस्तारमा टेवा पुग्छ। यो भनेको रोजगारीको वातावरण तयार हुनु पनि हो।