एमालेमा ‘जबज’ : सामाजिक रूपान्तरणको सिद्धान्त कि सत्ता प्राप्तिको बाटो?
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई आफ्नो प्रमुख सिद्धान्त मान्ने नेकपा एमाले सामाजिक रूपान्तरणको पाटोबाट टाढिँदै गएको छ।
आजको नेकपा एमालेको पृष्ठभूमि हो, २०२८ सालको झापा विद्रोह। कोअर्डिनेसन केन्द्र हुँदै स–साना वाम समूह एकीकरण भएर बनेको नेकपा माले २०४० को दशकसम्म सशस्त्र विद्रोह वा शान्तिपूर्ण राजनीतिको बाटोमा अघि बढ्ने भन्नेमा अलमलको स्थितिबाट गुज्रिएको थियो।
यद्यपि मालेमा २०३७ सालदेखि शान्तिपूर्ण राजनीतिको बहस शुरू भएको थियो। एमाले नेता सुरेन्द्र पाण्डेका भनाइमा तत्कालीन समयमा पार्टीको मूल उद्देश्य पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापना भए पनि पार्टीभित्रको वैचारिक अस्पष्टताका कारण पञ्चायतविरुद्धको आन्दोलनले गति लिन सकेको थिएन।
२०४६ भदौमा सिरहामा भएको नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिवमा चुनिएपछि भण्डारीले पञ्चायतविरुद्ध आन्दोलनको पहलकदमी लिएका हुन्। उनले पञ्चायती शासनविरुद्ध र प्रजातन्त्रका लागि छुट्टाछुट्टै रूपमा आन्दोलनमा रहेका कांग्रेस र कम्युनिष्ट घटकहरूलाई एक ठाउँमा ल्याए।
अवस्था कस्तो थियो भने, राजा महेन्द्रको २०१७ सालको ‘कू’ मार्फत सरकारबाट हटाइएको नेपाली कांग्रेस पनि प्रजातन्त्रकै लागि आन्दोलनमा थियो। प्रजातन्त्रकै लागि लड्ने क्रममा कांग्रेस र कम्युनिष्ट नेताहरू जेल परेका थिए। तर, एउटै लक्ष्य प्राप्तिका लागि एकसाथ उभिन सकेका थिएनन्।
प्रजातन्त्रका लागि लडेका मुख्य शक्ति विभाजन हुँदा राजाले दलहरूको बीचमा खेलेर निर्दलीय शासन लम्ब्याउने मौका पाएका थिए। “कम्युनिष्टहरूले कांग्रेसलाई भारतपरस्तको आरोप लगाउने, कांग्रेसले कम्युनिष्टहरूलाई अधिनायकवादी र तानाशाही भन्ने। यसले गर्दा प्रजातन्त्रका लागि लडेका शक्ति नै दुई ध्रुवमा विभाजित थिए,” पाण्डे भन्छन्।
दुई ध्रुवमा विभाजित शक्तिलाई एक ठाउँमा ल्याउने र तत्कालीन नेकपा मालेलाई वैचारिक दिशा प्रदान गर्ने काम गरे, तत्कालीन मालेका महासचिव मदन भण्डारीले। फलस्वरूप कांग्रेस र कम्युनिष्टको सहभागितामा २०४६ सालमा जनआन्दोलन भयो र मुलुकबाट ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य सम्भव भयो।
२०४६ भदौमा सिरहामा भएको नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिवमा चुनिएपछि भण्डारीले पञ्चायतविरुद्ध आन्दोलनको पहलकदमी लिएका हुन्।
“कमरेड मदनले आन्दोलन अगाडि बढाउन कांग्रेससहित विभिन्न शक्तिसँग मिलेर जानुपर्छ, कांग्रेस र कम्युनिष्ट दुवै प्रजातन्त्रका लागि लडेका हुन् भने पञ्चायत ढाल्दासम्म त हाम्रो धारणा मिल्ने भएकाले किन मिलेर नजाने भनेर पार्टीमा कन्भिन्स गर्नुभयोे,” पाण्डे भन्छन्, “चर्को बहस भएपछि कांग्रेससँग मिलेर आन्दोलन गर्ने निर्णय मालेले लिएको हो।”
मदन भण्डारीको अनुपस्थितिमा उनले अगाडि सारेका विचार र सिद्धान्तका नाममा भएका क्रियाकलापले कम्युनिष्ट पार्टी र राजनीतिलाई नै विकृत बनाएको छ।
२०४६ भदौमा महासचिवमा चुनिएका भण्डारीले कात्तिकमा पार्टीका नेता झलनाथ खनाल र राधाकृष्ण मैनालीलाई नेपाली कांग्रेससँग संयुक्त आन्दोलनको प्रस्ताव लिएर गणेशमान सिंहसँग कुरा गर्न पठाए। कम्युनिष्टसँग संयुक्त आन्दोलन गर्दा अन्तर्राष्ट्रिय शक्ति रिसाउने र दर्जन कम्युनिष्ट पार्टी भएकाले कोसँग मिल्ने भनेर गणेशमानले प्रश्न उठाए। त्यसपछि कम्युनिष्ट पार्टीहरूलाई संयुक्त वाममोर्चाको छातामुनि ल्याउने काम पनि भण्डारीले गरेका थिए।
चितवनको दासढुंगामा ३ जेठ २०५० मा भएको रहस्यमय दुर्घटनाबाट एमालेले मदन भण्डारीलाई गुमाएको २७ वर्ष पूरा भएको छ। उनको अनुपस्थितिमा उनले अगाडि सारेका विचार र सिद्धान्तका नाममा भएका क्रियाकलापले कम्युनिष्ट पार्टी र राजनीतिलाई नै विकृत बनाएको छ।
के गरे मदन भण्डारीले?
नेता भण्डारीले छोटो समय मात्रै नेतृत्वमा रहेर काम गर्ने मौका पाए। तर, जति समय काम गरे, उनले नेपालमा कम्युनिष्ट स्थापित हुने गरी बाटो देखाए। जसको जगमा अहिले एमाले र अन्य साना वामपन्थी दलहरू उभिएका छन्।
नेपाली कांग्रेससँगको सहकार्यमा संयुक्त आन्दोलन मार्फत पञ्चायत व्यवस्थाको अन्त्य मात्र होइन, उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई देशको माटो सुहाउँदो वैचारिक बाटो प्रदान गरे। वामपन्थी विश्लेषक झलक सुवेदीको भनाइमा सशस्त्र संघर्ष गरेर सत्ता प्राप्तिका लागि अग्रसर कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बाटो नेता भण्डारीले पहिल्याए। जसका कारण नै उनी नेपालमा मात्र नभएर संसारभर चर्चित बन्न पुगे।
नेपाली कांग्रेससँगको सहकार्यमा संयुक्त आन्दोलन मार्फत पञ्चायत व्यवस्थाको अन्त्य मात्र होइन, उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई देशको माटो सुहाउँदो वैचारिक बाटो प्रदान गरे। वाम विश्लेषक झलक सुवेदीको भनाइमा सशस्त्र संघर्ष गरेर सत्ता प्राप्तिका लागि अग्रसर कम्युनिष्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने बाटो नेता भण्डारीले पहिल्याए।
सन् १९९० को दशकमा विश्वभरि नै कम्युनिष्ट संकटको अवस्थाबाट गुज्रिएका थिए। १९९१ डिसेम्बरमा सोभियत संघको विघटन भयो। समाजवादी व्यवस्था भएका पूर्वी यूरोपका देशमा कम्युनिष्ट सत्ता ढल्दै थिए। त्यो अवस्थामा भण्डारीले बहुदलीय प्रतिस्पर्धा मार्फत शक्ति आर्जन गर्न सकिने बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गराए।
विश्लेषक सुवेदी संसारभरि कम्युनिष्ट पार्टीले धक्का खाइरहेका वेला नेपालमा कम्युनिष्ट पार्टीका नाममा चुनाव लड्ने र जित्ने माहोल भण्डारीले निर्माण गरेको बताउँछ। “लिबरल डेमोक्र्याटिक भ्यालु सिस्टममा त्यसका मूल्य–मान्यतालाई कम्युनिष्टहरूले स्वीकार गर्नुपर्छ भन्ने कुरा उनले स्थापित गराए। सशस्त्र क्रान्तिको विचारबाट प्रशिक्षित कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिको बाटोमा डोर्याउनु चानचुने कुरा थिएन।”
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एउटा प्रमुख समस्या हो, पुराना शास्त्रीय विचारबाट टसमस नहुनु। तर, मदनले त्यो सोचलाई ब्रेक लगाइदिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल गरेर देशको माटो सुहाउँदो सिर्जनशीलता निर्माण गर्नसक्ने उनको खुबी थियो।
हुन पनि भण्डारी कति दूरदर्शी थिए भन्ने बुझ्न माओवादीको दश वर्षे सशस्त्र युद्ध नै काफी छ। ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्दै सशस्त्र संघर्षमा होमिएको माओवादी समेत अन्त्यमा बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा आउन बाध्य भयो। जुन कुरा भण्डारीले १८ वर्षअघि नै स्थापित गराएका थिए।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एउटा प्रमुख समस्या हो, पुराना शास्त्रीय विचारबाट टसमस नहुनु। तर, मदनले त्यो सोचलाई ब्रेक लगाइदिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल गरेर देशको माटो सुहाउँदो सिर्जनशीलता निर्माण गर्नसक्ने उनको खुबी थियो। त्यस्तै, आफ्ना विपक्षीहरूलाई विचार, बहस र तर्क मार्फत विश्वस्त पार्न सक्थे। भण्डारीको भाषण कला पनि आकर्षक र प्रभावशाली थियो। जसले गर्दा उनी पार्टीमा स्थापित हुन सके।
कम्युनिष्ट आन्दोलनलाई शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा डोर्याएका उनले २०४९ सालको महाधिवेशनमा त्यसलाई सैद्धान्तीकरण गरेर जनताको बहुदलीय जनवाद (जबज) को नाम दिए। एमाले नेता सुरेन्द्र पाण्डेका भनाइमा जबजले दुई वटा कुरामा जोड दिएको छ– प्रतिस्पर्धा र सामाजिक रूपान्तरण। प्रतिस्पर्धा रूप हो भने त्यसको सार सामाजिक रूपान्तरण हो। अर्थात्, शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा मार्फत सामाजिक रूपान्तरण गरेर समाजवादको लक्ष्य पूरा गर्ने जबजको मर्म हो।
जबजको अपव्याख्या
नेपालसँग सिमाना जोडिएको भारतको पश्चिम बंगालमा ३० वर्षसम्म एकछत्र शासन गरेको कम्युनिष्ट पार्टी अहिले अस्तित्वका लागि संघर्षरत छ। तर, नेपालमा भने कम्युनिष्ट शक्ति राजनीतिको अग्रभागमा छ। एमाले मुलुकको मूल राजनीतिक शक्ति बन्न सफल भएको छ। वाम विश्लेषक झलक सुवेदी मदन भण्डारीले प्रतिपादन गरेको जबजकै कारण यो सम्भव भएको ठान्छन्।
“नेपालको राजनीतिमा मध्यम वर्ग निर्णायक छ। मदनको जबजले मध्यम वर्गलाई आकर्षित गर्यो,” उनी भन्छन्, “कम्युनिष्टहरूले आफ्नो वर्गलाई निम्न वर्गबाट मध्यम वर्गमा सिफ्ट गरे।”
प्रतिस्पर्धाको नाममा भएको जबजको अपव्याख्याले पार्टीमा विकृति पनि हुर्काउँदै लगेको छ। त्यसैको उदाहरण हो, एमालेमा पछिल्ला वर्षमा लोकतन्त्र र प्रतिस्पर्धाका नाममा तलदेखि माथिसम्म देखिएको विवाद र एकले अर्कोलाई खुइल्याउने प्रवृत्ति। जसले जबजको सार सामाजिक रूपान्तरणको आन्दोलनलाई कमजोर बनाउँदै लगेको छ। एमालेको प्राथमिकता सामाजिक रूपान्तरणभन्दा सत्ता बन्दै गएको छ।
समय र सामाजिक विकासक्रममा सिद्धान्त तथा नीतिलाई परिमार्जन गर्दै लैजाँदा मात्र पार्टी जनतामा स्थापित हुनसक्छ। तर, जबजलाई मूल आदर्श मान्ने एमाले त्यसमा चुक्दै गएको छ। अहिले पनि एमालेले २०५१ सालमा मनमोहन अधिकारीको सरकारले ल्याएको वृद्धभत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रमकै रूपलाई निरन्तरता दिएको छ।
एमाले नेता पाण्डे पनि यो कुरा स्वीकार गर्छन्। जबजलाई व्याख्या गर्ने र अगाडि बढाउने नाममा जुन विधि अवलम्बन गरिए, त्यसबारे जबजले सरोकार राख्छ वा राख्दैन भन्ने कुरामा ध्यानै नदिइएको उनी बताउँछन्।
“जबजको रूप बहुदलीय प्रतिस्पर्धा हो भने मूल लक्ष्य सामाजिक रूपान्तरण नै हो। लक्ष्य र रूपको बीचमा मेल भएन भने लक्ष्य छोडिन्छ, रूप मात्र अघि बढ्यो भने हामी दिशाविहीन हुन्छौं,” उनी भन्छन्, “अन्ततोगत्वा कम्युनिष्ट पार्टी आफ्नो लक्ष्यबाट विमुख हुन्छ, पूँजीवादी बाटोमा रूपान्तरण हुँदै जान्छ। प्रतिस्पर्धा रूप हो भने मूल पक्ष सामाजिक रूपान्तरण भएकाले दुवैलाई सँगै लैजानुपर्छ।”
समय र सामाजिक विकासक्रममा सिद्धान्त तथा नीतिलाई परिमार्जन गर्दै लैजाँदा मात्र पार्टी जनतामा स्थापित हुनसक्छ। तर, जबजलाई मूल आदर्श मान्ने एमाले त्यसमा चुक्दै गएको छ। अहिले पनि एमालेले २०५१ सालमा मनमोहन अधिकारीको सरकारले ल्याएको वृद्धभत्ता, आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रमकै रूपलाई निरन्तरता दिएको छ। तत्कालीन समयमा ती कार्यक्रम नयाँ, आकर्षक र सामाजिक रूपान्तरणका लागि सहयोगी भए पनि अहिलेको सन्दर्भमा पुराना भइसके।
एमालेले २०५१ सालमा वृद्धभत्ता ल्याउनुको पछाडि राजनीतिक कारण थियो। किनभने, २०४८ सालमा एमालेले कांग्रेसबाट सबैभन्दा बढी सामना गर्नुपरेको आरोप थियो, कम्युनिष्टले ६० वर्ष पुगेपछि बूढाबूढीलाई गोली हानेर मार्छन्। त्यसलाई चिर्न शुरू गरिएको वृद्धभत्ताले एमाले जनतामा स्थापित भयो। तर, अहिले नयाँ सामाजिक रूपान्तरणका मुद्दा अगाडि सार्नुको सट्टा पुरानै कुरा दोहोर्याउनुले एमालेलाई झन् पछि धकेल्न सक्छ।
एमाले नेता पाण्डे भन्छन्, “समय र समाजको विकासक्रम अनुसार नीतिहरू बदल्नैपर्छ। अब पनि २०५१ सालमा वितरण गरेको वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं भनियो भने एमाले अगाडि बढ्न सक्दैन। त्यतिबेला र अहिलेको परिस्थिति फरक भइसक्यो।