चितवनमा आईसीयूमा उपचाररत ११ संक्रमितको मृत्यु
कोभिड-१९ को संक्रमणबाट पछिल्लो १८ घण्टामा चितवनका विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको छ। उनीहरू सबैको आईसीयूमा उपचार भइरहेको थियो।
कोरोनाबाट मृत्यु हुनेमा चितवनका ३ र अन्य जिल्लाबाट उपचारका लागि आएका ८ जना रहेका छन्। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरूको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ।
चितवन मेडिकल कलेजमा उपचाररत ४ कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार, मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष छन्। निमोनियाको समस्या भई गत २४ वैशाखमा अस्पताल भर्ना भएका उनलाई त्यही दिन संक्रमण पुष्टि भएको थियो। त्यसयता कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मृत्यु भएको हो।
यस्तै, चितवनको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ। निमोनियाको समस्या भई २७ वैशाखमा अस्पताल भर्ना भएकी उनलाई पनि त्यही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पनि आईसीयूमा उपचारका क्रममा २ जेठ राति १२ः५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएसँगै २४ वैशाखमा अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा २ जेठ राति ७ः५५ बजे मृत्यु भएको हो।
यस्तै, भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना संक्रमणका कारण मृत्यु भएको छ। २१ वैशाखमा अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा २ जेठ साँझ ५ः२० बजे मृत्यु भएको हो।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको छ। राप्ती–१ का उनी निमोनियाको समस्या देखिएपछि २१ वैशाखमा अस्पताल भर्ना भएका थिए। उनको स्वाब परीक्षण गर्दा २२ वैशाखमा कोरोना पुष्टि भएको थियो। आईसीयूमा उपचाररत उनको आज बिहान ७ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
बाराको निजगढ नगरपालिका–९ का ३२ वर्षीय युवकको कोरोनाबाट आज बिहान ७ बजे मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि २४ वैशाखमा अस्पताल भर्ना भएका थिए। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय युवकको पुरोनो मेडिकल कलेजमा मृत्यु भएको छ। २४ वैशाखमा अस्पताल भएका उनको स्वाब परीक्षण गर्दा २५ वैशाखमा संक्रमण पुष्टि भएको थियो। आईसीयूमा उपचाररत उनको आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ का ३५ वर्षीय युवकको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको छ। कोरोना देखिएपछि २ जेठमा अस्पताल भर्ना भएका उनको राति ८ः३० बजे मृत्यु भएको हो। उनलाई पनि निमोनियाको समस्या देखिएको थियो।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय युवक रहेका छन्। २ जेठमा अस्पताल भर्ना भएका उनको राति १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
त्यस्तै, रुपन्देहीको कालिका नगरपालिका–१० का ४९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ। क्यान्सरको समस्या भई अस्पताल आएका उनलाई २९ वैशाखमा संक्रमण देखिएको थियो। कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा २ जेठ साँझ ७ः३० बजे मृत्यु भएको हो।
भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका–५ का ६० वर्षीय वृद्धको आज बिहान ३ः४५ बजे मृत्यु भएको छ। निमोनियाको समस्या भई २ जेठमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पनि आईसीयूमा राखेर उपचार भइरहेको थियो। (रासस)