भारतमा पहिलो पटक घट्यो साप्ताहिक रूपमा संक्रमित संख्या
भारतमा कोरोनाभाइरसको दोस्रो लहर चलेयता पहिलो पटक साप्ताहिक रूपमा संक्रमितको संख्या घटेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने यथावत् छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, दैनिक थपिने संक्रमितको संख्या घट्दै आएको भए पनि हप्ताभरको संख्या यसअघि घटेको थिएन। गत हप्ताका थपिएका संक्रमितको तुलनामा यो हप्ता थपिएका संक्रमितको संख्या घटेको हो।
यो हप्ता भारतमा २४ लाख संक्रमित थपिएका छन्। यो गत हप्ताको तुलनामा १६ प्रतिशतले कम हो। गत हप्ता २७ लाख ४० हजार संक्रमित थपिएका थिए।
तर, मृत्यु हुनेको संख्यामा भने कमी आउन सकेको छैन। यो साता २८ हजार ३३४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो गत हप्ताको तुलनामा ४ प्रतिशत बढी हो। गत हप्ता २७ हजार २४३ जनाको मृत्यु भएको थियो।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या पनि एक महीनायताकै सबैभन्दा कम रहेको छ। दुई लाख ८१ हजार ८६० संक्रमित थपिएका छन्। जब कि गत हप्ता दैनिक थपिने संक्रमितको संख्या चार लाख नाघेको थियो।
नौ दिनअघि भारतमा चार लाख १४ हजार संक्रमित थपिएका थिए। त्यसको तुलनामा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या ३० प्रतिशत कम हो।
योसँगै भारतमा संक्रमितको संख्या दुई करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ। त्यस्तै, सक्रिय संक्रमितको संख्या पनि १० लाख ९४ हजार ३६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि केही बढेको छ। कोरोनाबाट चार हजार १०० जनाको मृत्यु भएको छ। योसहित पछिल्लो चार दिन लगातार चार हजारभन्दा बढीको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४११ पुगेको छ।
दैनिकसँगै साप्ताहिक रूपमा कोरोना संक्रमितको संख्या घटेकाले दोस्रो लहर कम हुँदै गएको चिकित्सकहरूको अनुमान छ। तर, पछिल्लो पटक शहरमा भन्दा गाउँमा संक्रमण देखिएकाले चिन्ता बढाएको भारतीय स्वास्थ्यकर्मीहरूको भनाइ छ।