कोरोना रोकथाममा उदाहरणीय काम गर्दै यी स्थानीय सरकार, संक्रमित खोज्दै पुग्छन् घरघर
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरसँग जुध्न अधिकांश स्थानीय सरकार निष्क्रिय देखिए पनि सिन्धुपाल्चोकका केही स्थानीय तह भने संक्रमित पत्ता लगाउन घरघर पुग्ने गरेका छन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाभरि हालसम्म जम्मा ३१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। तीमध्ये अहिले सक्रिय संक्रमित १४ जना मात्र छन्। करीब १७ हजार जनसंख्या रहेको गाउँपालिकाभर पाँच दिनयता नयाँ संक्रमित थपिएका छैनन्। हालसम्म एकजना संक्रमितको पनि मृत्यु भएको छैन।
कोरोना संक्रमणको दोस्रो छाल तीव्र रूपमा गाउँगाउँसम्म फैलिरहँदा हेलम्बुमा नियन्त्रणमा राख्न सम्भव कसरी भयो?
आफैं संक्रमित भएर आइसोलेसनमा बसिरहेका गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा संक्रमितको पहिचान गरेर छुट्टै बसाउनु नै संक्रमण रोकथामको कारण भएको बताउँछन्।
संक्रमित पहिचान गर्न हेलम्बु गाउँपालिकाले प्रत्येक वडामा टोली बनाएको छ। स्वास्थ्यकर्मीसहितको उक्त टोली लक्षण देखिएका व्यक्ति खोज्दै घरघर पुग्छ। अध्यक्ष शेर्पाका अनुसार, शंका लागेमा गाउँपालिकाको टोली पुगेर स्वाब संकलन गर्छ। लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ। उनी भन्छन्, “यसले संक्रमण फैलिनबाट रोकेको छ।”
चेतनाको अभाव, समुदायबाट अपहेलित हुने डर लगायत कारणले मानिसहरू बाहिर नआउने समस्या भएकाले घरघर पुगेर गरिएको परीक्षण प्रभावकारी भएको उनको बुझाइ छ। गत वर्ष अघिल्लो लहरमा पनि अध्यक्ष शेर्पा स्वास्थ्यकर्मीको टोली लिएर घरघर पुगेका थिए। त्यो प्रभावकारी भएकाले अहिले थप व्यवस्थित गरेर काम गरिरहेको उनी बताउँछन्।
हेलम्बु जस्तै समुदायस्तरमै पुगेर नागरिकको स्वाब संकलनको काम सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाले पनि गरिरहेको छ। इन्द्रावतीका अध्यक्ष वंशलाल तामाङ कोरोना नियन्त्रणका लागि परीक्षण व्यापक बनाइएको बताउँछन्।
“परीक्षण गरेर संक्रमितलाई अरूबाट अलग राख्दा संक्रमणको चेन ब्रेक हुने भएकाले हाम्रो प्राथमिकता नै परीक्षण हो,” उनी भन्छन्।
तामाङका अनुसार, स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ। २८ हजार जनसंख्या भएको गाउँपालिकामा हालसम्म शंकास्पद १८३ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये २७ जना सक्रिय संक्रमित छन्। संक्रमणबाट यो गाउँपालिकामा हालसम्म तीन जनाको मृत्यु भएको छ।
निषेधाज्ञा, स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन गर्न वडा अध्यक्षको नेतृत्वमा बनाइएको टोलीले निगरानी गरिरहेको अध्यक्ष तामाङले बताए। उनी भन्छन्, “नागरिकको सहयोग र परीक्षणको मात्रा बढ्यो भने महामारी नियन्त्रण छिटै गर्न सकिन्छ।”
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ स्थानीय स्वास्थ्य चौकीको सिफारिशमा गाउँपालिकाले कोरोना परीक्षण गर्दै आएको बताउँछिन्। उनका अनुसार, हालसम्म ८६ जनाको पीसीआर परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये दुईजना संक्रमणमुक्त भएका छन्।
आसपासका स्थानीय तहसँग मिलेर काम गर्दा कोरोना नियन्त्रणमा ल्याउन सकिने तामाङ बताउँछिन्। “आफ्नो क्षेत्रको संक्रमण नियन्त्रण भएर मात्रै नहुने भएकाले हामीले अरू पालिकासँग पनि समन्वयमा काम गरिरहेका छौं,” उनी भन्छिन्, “छिमेकी बलेफी गाउँपालिकासँग मिलेर हामीले २० बेडको अक्सिजनसहितको आइसोलेसन वार्ड तयार पारेका छौं।”
जुगल गाउँपालिकाले ७० बेडको आइसोलेसन सेन्टर बनाउने काम पनि अगाडि बढाएको छ।
अधिकांश पालिका प्रभावहीन
मुलुकमा तीन तहको सरकार भए पनि नागरिकलाई गाह्रोसाह्रो पर्दा भन्न वा गुनासो सुनाउन सजिलो र नजिकको पनि स्थानीय सरकार नै हो। यसमा गत वर्ष कोरोना संक्रमण शुरू हुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको काममा स्थानीय सरकारको काम प्रभावकारी मानिएको थियो। तर, यो वर्ष स्थानीय सरकारको गतिविधि देखिएकै छैन। स्वायत्त अधिकारसहितका सरकार यो पटक कता रुमल्लिए त?
परराष्ट्रमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्य प्रदीपकुमार ज्ञवालीले पत्रकार कनकमणि दीक्षितसँग गरेको भिडिओ वार्तामा संक्रमणको तीव्र दर र गम्भीर बिरामी हुने भएकाले अहिलेको अवस्थामा स्थानीय सरकारलाई चुनौती रहेको बताएका छन्। उनले भनेका छन्, “अहिले धेरै संक्रमित अक्सिजनको आवश्यकता र विज्ञको सल्लाह चाहिने खालका गम्भीर छन्, जुन स्थानीय सरकारको सामर्थ्यभन्दा बढी हो।”
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ चाहिँ संघ र प्रदेशले सघाए स्थानीय सरकार महामारी नियन्त्रणमा सक्षम रहेको बताउँछन्।
“पर्याप्त अक्सिजन, औषधि, परीक्षणका लागि सामग्री भए स्थानीय सरकार नागरिकको जीवन रक्षा गर्न सक्षम छन्,” उनी भन्छन्, “तर, यसमा माथिल्ला तहका सरकारले चासो दिएका छैनन्।” संघले सीसीएमसीको बैठक मार्फत निर्देशन दिनेबाहेक केही काम नगरेको उनको भनाइ छ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ पनि प्रदेश सरकारसँग समन्वय भइरहे पनि सहयोग नआएको बताउँछिन्। “अहिलेसम्म हामीले आफ्नै प्रयासमा काम गरिरहेका छौं,” तामाङ भन्छिन्, “अब प्रदेश र संघबाट सहयोग आउला भन्ने लागेको छ।”