कता हराए नेता ‘अभिनेता’ ?
भारतमा लोकसभा चुनावको माहोल तातेको छ । कैयौं सेलिब्रेटी पार्टी प्रवेश गर्दै छन् । कोही एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्दैछन्। कोही 'क्याम्पेन' गरिरहेका छन् । कोही चुनाव लडिरहेका छन्।
हालै बलिउड अभिनेता सनी देओल पनि बीजेपीमा प्रवेश गरेका छन् । उनलाई बीजेपीले गुरुदासपुरको टिकट दिएको छ ।
सनी देओल मात्र होइन, फिल्मी क्षेत्रका कैयौं अभिनेता राजनीति क्षेत्रमा प्रवेश गरी आफ्नो भाग्यको परीक्षण गर्दैछन् ।
कैयौं सफल भएका छन् । कैयौंं अभिनेताको आज पनि राजनीतिमा बोलबाला रहेको छ । तर, अभिनेताबाट नेता बनेका कैयौं सिनेकर्मी राजनीतिको भीडमा गुमनामझैं छन् ।
सुनिल दत्त (कांग्रेस), विनोद खन्ना (बीजेपी), राज बब्बर (समाजवादी पार्टीबाट कांग्रेस) स्मृति इरानी (बीजेपी), हेमा मालिनी (बीजेपी), जया प्रदा (समाजवादी पार्टीबाट बीजेपी), जया बच्चन (सपा), शत्रुघ्न सिन्हा (बीजेपीबाट कांग्रेस) यी नेता तथा अभिनेत्री राजनीतिमा सफल तथा सक्रिय मानिन्छन् ।
अमिताभ बच्चन तथा गोविन्दा जस्ता सुपरस्टार एकाएक सबैलाई चकित पार्दै राजनीतिमा आए । धेरै मतले चुनाव पनि जिते । तर, उनीहरूलाई राजनीति फापेन नै भनौं । बोफोर्समा नाम आएपछि अमिताभ बच्चनले लोकसभा सदस्यबाट राजीनामा दिए ।
गोविन्दा दोस्रो पटक राजनीतिका लागि अनिच्छुक देखिए ।
कोही यस्ता फिल्म तथा टीभी कलाकार छन् जो राजनीतिमा आउँदा ठूलै हल्लाखल्ला मच्चिएको थियो । तर, आज उनीहरूको नाम कतै देखिदैन ।
दक्षिण भारतका कयौं कलाकार राजनीतिक मैदानमा सफल छन् ।
नीतिश भारद्वाज– यी कलाकार कृष्णको भूमिकामा परिचित छन् । उनले बीआर चोपडाको महाभारतमा भगवान् श्रीकृष्णको भूमिका खेलेर लोकप्रियता हासिल गरेका थिए ।
टीभीमा सफल नीतिश राजनीतिमा प्रवेश गरे । उनी सन् २०९६ मा सांसद पनि बने । तर, सन् १९९९ को लोकसभा चुनावमा उनी पराजित भए ।
अरविन्द त्रिवेदी– रामानन्द सागरको रामायणमा अरविन्द त्रिवेदीले रावणको भूमिका खेलेका थिए । रावणको भूमिकामा अरविन्दलाई मिलेको सफलतालाई राजनीतिमा जोडदाररूपमा भजाइएको थियो । सन् १९९१ मा अरविन्द गुजरातको साबरगाठा जिल्लाबाट सांसद बनेका थिए ।
दीपिका चिखालिया– रामानन्द सागरको रामायणमा सीताको भूमिका खेलेर चर्चामा आएकी दीपिका चिखालियालाई राजनीतिमा आफ्नो धार्मिक छविको खूब फाइदा भयो । दीपिका आफ्नो लोकप्रियताबाट सन् १९९१ मा बीजेपीबाट गुजरातको बडौदाकी सांसद बनिन् ।
गोविन्दा– सन् २००४ मा कांग्रेस पार्टी प्रवेश गरेका थिए । उनले मुम्बईबाट लोकसभा चुनाव पनि जितेका थिए । तर, उनले सन् २००८ मा राजनीति छाडेर फिल्मी करियरमा फोकस गर्न थाले ।
सञ्जय दत्तका पिता सुनिल दत्तले कांग्रेस पार्टीबाट सफलता पाए । पिताको बिंडो थाम्न सञ्जय दत्त पनि राजनीतिमा आए ।
सन् २००९ मा समाजवादी पार्टीमा लागेर लखनऊबाट चुनाव लड्ने विचार गरेका उनको चुनावी नामांकन उनलाई सुप्रिम कोर्टले रद्द गरिदियो।सञ्जयले चुनाव लड्न पाएनन् ।
त्यस बखत उनले 'स्टार क्याम्पेनर'को रुपमा प्रचार गरेका थिए । पछि उनी समाजवादी पार्टीबाट पनि बाहिरिए। अब बहिनी प्रिया दत्तको चुनावी 'क्याम्पेन' भन्दा अरूमा चुनावी रुचि देखिएको छैन ।
अभिनेत्री उर्मिला मातोनडकर पनि भारतीय कंग्रेसबाट मुम्बईबाट चुनाव उठेकी छन् ।
परेश रावल तथा अनुपम खेर जस्ता बलिउडका अभिनेता पनि राजनीतिमा लागेका छन् । याे क्रम अझै बढ्ने देखिन्छ । किनकि राजनीतिमा अभिनयकाे लाेकप्रिय मत भजाउने क्रम जारी छ । –एजेन्सी