कोरोनाबाट ज्यान गुमाउने आधाभन्दा बढी वृद्धावृद्धा
कोभिड-१९ को संक्रमणबाट नेपालमा ज्यान गुमाएकाहरूमध्ये आधाभन्दा बढी वृद्धवृद्धा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, अहिलेसम्म चार हजार आठ सय ५६ जनाको कोरोनाबाट मृत्यु भएको छ। उनीहरूमध्ये ५६ प्रतिशत अर्थात् दुई हजार सात सय ३५ जना ६० वर्षभन्दा माथिका वृद्धवृद्धा छन्।
जब कि संक्रमित हुने वृद्धवृद्धाको संख्या १० प्रतिशत अर्थात् ४७ हजार पाँच सय ९९ मात्रै रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यस अनुसार, कोरोना संक्रमित वृद्धवृद्धाको मृत्युदर ५.७४ प्रतिशत देखिएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदर १.०८ प्रतिशत रहेको छ।
त्यस्तै, कोरोनाबाट ज्यान गुमाउनेमा दोस्रो नम्बरमा ५० देखि ५९ वर्षसम्मका रहेका छन्। यो उमेर समूहका आठ सय ८१ जनाको ज्यान गएको छ।
कोरोनाबाट मृत्यु हुनेमा ४० देखि ४९ वर्षसम्मको संख्या तेस्रो नम्बरमा छ। यो उमेर समूहका ६ सय ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
यसैगरी ३० देखि ३९ वर्षसम्मका तीन सय ८५ युवाले ज्यान गुमाएका छन्। २० देखि २९ वर्षसम्मका एक सय ३८ युवाको पनि कोरोनाबाट मृत्यु भएको छ।
कोरोनाबाट बालबालिकाको पनि ज्यान गएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, ९ वर्षसम्मका २९ जना र १० देखि १९ वर्षसम्मका २९ जना बालबालिकाले कोरोनाबाट ज्यान गुमाएका छन्।
कोरोनाबाट संक्रमित हुने सबैभन्दा बढी ३१ देखि ४० वर्षका छन्। यो उमेर समूहका एक लाख १४ हजार ४२ जनामा संक्रमण देखिएको छ। यही समूहको हाराहारीमा २१ देखि ३० वर्षका पनि छन्। यो समूहका एक लाख १३ हजार नौ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ४१ देखि ५० वर्षसम्मका ७६ हजार आठ सय ३० जना र ५१ देखि ६० वर्षसम्मका ५३ हजार तीन सय २८ जनामा कोरोना देखिएको छ।
संक्रमित बालबालिकाको संख्या भने कम रहेको छ। ११ देखि २० वर्षसम्मका २९ हजार चार सय ७१ जनामा कोरोना देखिएको छ। ९ वर्षभन्दा कम उमेरका १० हजार चार सय बालबालिकामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।