लुम्बिनीमा कोरोनासँग जुध्न कांग्रेसका १६ सुझाव
लुम्बिनीमा कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले १६ बुँदे सुझाव दिएको छ।
शनिबार लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले दिएको ध्यानाकर्षण पत्रमा प्रदेश सरकारले काम गर्न नसक्दा महामारी नियन्त्रणबाहिर गएको जनाएको छ।
कनौडियाले भनेका छन्, “प्रदेश सरकार आफ्नै धुन एवं गतिमा अग्रसर हुँदा सरकारी कामकारबाही चुस्तदुरुस्त नदेखिएको, सरकारको लाचारीपन, लापरवाही र गैरजिम्मेवार गतिविधिले महामारी नियन्त्रण र रोकथाम काबुबाहिर गएकोमा नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश भर्त्सना गर्दछ।”
उनले यस्तो अवस्थामा महामारी नियन्त्रण, न्यूनीकरण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिप्रति सम्मान व्यक्त गरेका छन्।
बागमतीपछि सबैभन्दा बढी संक्रमित लुम्बिनीमा रहेका छन्। लुम्बिनीमा होम आइसोलेसनमा १९ हजार तीन सय ९१ र सरकारी तथा निजी अस्पतालमा दुई हजार दुई सय पाँच सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये एक सय ६४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।