चीनले रद्द गर्याे सगरमाथा आरोहण
नेपालमा कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले उत्तरी मोहडाबाट वसन्त यामको सगरमाथा आरोहण रद्द गरेको छ।
स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले नेपालमा संक्रमण बढेकाले चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथा आरोहण रद्द गरेको जनाएको छ। चीनको खेलकुद प्रशासनले शुक्रबार सूचना प्रकाशित गरेर सगरमाथा आरोहण रद्द गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले पनि जनाएको छ।
कोरोना महामारीसँग जोगिनका लागि यो कदम चालिएको समाचारमा उल्लेख छ। केही समयअघि नेपालबाट सगरमाथा आरोहणमा गएका आरोहीमा पनि संक्रमण देखिएको समाचार आएको थियो। सगरमाथा आधारशिविरबाट फर्केका स्थानीय बासिन्दामा पनि संक्रमण देखिएको थियो।
चीनले यो सिजनमा सगरमाथा आरोहणका लागि ३८ जनालाई अनुमति दिएको थियो। ती सबै चिनियाँ नागरिक हुन्।
नेपालले भने सगरमाथा आरोहणका लागि चार सय आठ जनालाई अनुमति दिएको छ। उनीहरूमध्ये एक सय ६० जनाभन्दा बढीले आरोहण गरिसकेका छन्। सगरमाथा आरोहणका क्रममा दुई जनाको ज्यान गएको छ।
सगरमाथा आरोहणका लागि यो समय सबैभन्दा राम्रो मानिन्छ। वसन्त याममा सबैभन्दा बढी सगरमाथा आरोहण हुने गर्छ।
यस पटक भने कोरोनाको त्रास यथावत् छ। गत वर्ष कोरोना महामारीका कारण नेपालले सगरमाथा लगायत हिमाल आरोहण रद्द गरेको थियो। यो वसन्त याममा भने कोरोना जोखिमलाई बेवास्ता गर्दै सगरमाथा लगायत अन्य हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ।
यो याममा २५औं पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन्। त्यस्तै, बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफाले पनि नेपालतर्फबाट सगरमाथा आरोहण गरेका छन्। अन्य आरोही पनि सगरमाथा आरोहणको प्रयासमा छन्।