महामारीमा कसरी मनाउने जात्रापर्व?
संस्कृति मानिसका लागि भएकाले यसलाई अहिलेको कोरोना संक्रमण महामारी जस्तो असहज परिस्थिति र हाम्रो आवश्यकता अनुसार सीमित वा सांकेतिक रूपमा मनाउन लचिलो हुनु नै सबैका लागि हितकर हुन्छ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर फैलिएसँगै काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरिँदा देश यतिबेला बन्दाबन्दीमा छ। गत वर्ष पनि संक्रमण भित्रिएपछि रोकथामका लागि बन्दाबन्दी गरिएको थियो।
झट्ट हेर्दा हामीले विगतको कोरोना कहरबाट धेरै कुरा सिक्यौं जस्तो देखिए पनि वास्तवमा गल्ती दोहोर्याउने मूर्खता नै बढी भयो। इतिहास विगतका विवरण मात्रै नभएर वर्तमान र भविष्यका लागि पाठ पनि हो। तर, कोरोना संक्रमण महामारीको सन्दर्भमा त्यो पाठ पढ्न नसक्नु हाम्रो कमजोरी रह्यो।
११ चैत २०७६ मा पहिलो पल्ट बन्दाबन्दी हुुँदा काठमाडौंमा ‘पाहाँचह्रे’ पर्व चलिरहेको थियो। त्यस लगत्तै वैशाख महीनाको शुरूका दिनहरूमा भक्तपुर, ठिमी, तोखा लगायतका बस्तीमा प्रमुख रूपमा मनाइने बिस्केट लगायतका जात्राहरू रोकिए।
कोरोनाभाइरस बढी भीडभाड तथा जमघट गर्दा फैलिने भएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आह्वान गर्दै बन्दाबन्दीको घोषणा गरिएको थियो। त्यसको पालना गरी सांस्कृतिक गतिविधिलाई स्थगन गरिनु वा औपचारिकतामा सीमित गर्नु बुद्धिमानी थियो। तर, महामारीको संकट रहिरहँदा स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै राजनीतिक सभा, जुलुशहरू बढ्न थालेपछि यसको प्रभाव समुदायमा पनि पर्न गयो। सांस्कृतिक गतिविधि पनि स्वतः बढ्न पुग्यो।
कोरोनाभाइरस संक्रमणको जोखिम रहिरहँदा स्वास्थ्य मापदण्डको उल्लंघन गर्दै राजनीतिक सभा, जुलुशहरू बढ्न थालेपछि यसको प्रभाव समुदायमा पनि पर्न गयो। सांस्कृतिक गतिविधि पनि स्वतः बढ्न पुग्यो।
कोरोना संक्रमण महामारीको बेला सांस्कृतिक जात्रा एवम् पर्वमा रोक लगाइँदा कतिपय ठाउँमा असमझदारी र तनाव पनि भयो। महामारीमा सांस्कृतिक गतिविधिको चर्चा हुनासाथ पाटनको रातो मत्स्येन्द्रनाथको रथयात्रा प्रमुख टिप्पणीको विषय बन्छ। सरकारले रथयात्रा रोक्न आदेश दिनुअघि नै सरकारी बजेट निकासा गरेर रथयात्राको सम्पूर्ण तयारी सम्पन्न भइसकेको थियो। जात्रा गर्न नदिने हो भने किन तयारी गर्न दिएको भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो।
त्यस अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर औपचारिकता पुर्याएर जात्रा सम्पन्न गर्ने सम्बद्ध पक्षले राखेको प्रस्तावलाई राज्यले बुुझ्न सकेन। रथयात्राका क्रममा भीडभाड हुने र त्यसले कोरोना फैलाउन सक्ने एउटै रटान गरेर बस्नेबाहेक अरू विकल्प दिन सकेन। यसैबीच सर्वसाधारणमा स्थानीय संस्कृतिमा राज्यले हस्तक्षेप वा दमन गर्न खोजेको बुुझाइ बन्न गयो। जात्राको दिन सम्बन्धित पक्ष अनिर्णीत अवस्थामै थियो, सर्वसाधारण आफैं गएर रथयात्रा शुरू गर्न जाँदा प्रहरीसँग झडपको स्थिति निम्तियो।
त्यो घटनापछि त्यसबेला रथयात्रासँग सम्बन्धित स्वयं नेवार समाजभित्रै पनि अनेक प्रश्न उठेका थिए। जात्रा गर्नैपर्ने हो र, यो वर्ष रथयात्रा नगर्दा हुन्न र, जात्रा ठूलो कि स्वास्थ्य भन्ने प्रश्न र टीकाटिप्पणी सुनिए। राजनीतिक सभा, बैठक, उद्घाटनका क्रममा जतिसुकै भीडभाड गर्न हुने, तर संस्कृतिमा मात्र बन्देज लगाइँदा सर्वसाधारणको अहंले काम गरेको बुझिन्छ। रथयात्राका सम्बन्धमा त्यतिबेला उठेका प्रश्नमाथि अनेक दृष्टिकोणले थुप्रै चिन्तन मनन गर्न सकिन्थ्यो। तर, यतातिर ध्यान गएन र गल्तीको पुनरावृत्ति भइरह्यो।
संस्कृति भन्नासाथ परम्परादेखि चल्दै आएको, अवैज्ञानिक, धर्म र आस्थासँग सम्बन्धित भएका कारण जात्रापर्व अनिवार्य मनाउनैपर्ने जस्ता सोचविचार राख्ने गरिन्छ। तर, यो संकुचित बुझाइ हो। वास्तवमा संस्कृति अन्तर्गतको एउटा इकाइ मात्र हो, धर्म। आस्था र श्रद्धाका आधारमा प्रायः धार्मिक कुरामाथि प्रश्न उठाइँदैन। संस्कृतिका कतिपय अन्तर्यलाई बुझ्न नसकेपछि धर्मका सम्बन्धमा जस्तै यसमाथि पनि छलफल चलाइएन र संस्कृति पनि क्रमशः जड बन्न पुग्यो।
मानिस र प्रकृतिलाई केन्द्रमा राखेर संस्कृतिको विकास गरिएको हुन्छ। यस अनुसार, मानिसका लागि संस्कृति हो, संस्कृतिका लागि मानिस होइन। मानिसको आवश्यकता अनुसार संस्कृति स्वतः परिवर्तनशील हुन्छ। जुन संस्कृतिले मानिसको आवश्यकता पूरा गर्दैन वा समयक्रममा मानिसको हित विपरीत हुनजान्छ, त्यो संस्कृति नै संकटमा पर्छ। संस्कृतिलाई आवश्यकता अनुसार परिमार्जन नगरी आस्था वा परम्पराका नाममा जडवत् निरन्तरता दिन खोज्ने जाति वा समुदाय क्रमशः पछौटे हुँदै अन्ततः हराउने वा अन्य जाति वा समुदायमा विलुप्त हुने गरेको पाइन्छ। यसबाट मानिस र संस्कृतिबीच कस्तो अन्तरसम्बन्ध हुन्छ भन्ने बुझिन्छ।
मानिस र प्रकृतिलाई केन्द्रमा राखेर संस्कृतिको विकास गरिएको हुन्छ। यस अनुसार, मानिसका लागि संस्कृति हो, संस्कृतिका लागि मानिस होइन। मानिसको आवश्यकता अनुसार संस्कृति स्वतः परिवर्तनशील हुन्छ। जुन संस्कृतिले मानिसको आवश्यकता पूरा गर्दैन वा समयक्रममा मानिसको हित विपरीत हुनजान्छ, त्यो संस्कृति नै संकटमा पर्छ।
प्रायः संस्कृतिको अभ्यास प्रकृतिसँग आत्मसात् गर्ने मानव जीवनको पद्धति हो। यो जैविक विविधताको संरक्षण गर्ने ज्ञान पनि हो। निश्चित संस्कृतिको अध्ययनबाट सम्बन्धित मानव समुदायको लामो यात्राबाट आर्जित ज्ञानबारे थाहा पाइन्छ। संस्कृति अन्तर्गत नै रहेका जात्रापर्व कुनै अमुक पात्रप्रति कृतज्ञ भई आदरभाव व्यक्त गर्ने एवं यही अभ्यासको माध्यमबाट आफ्नो र अरूको पनि हित होस् भनी कामना गर्ने माध्यम हुन्।
उदाहरणका लागि, पाटनमा प्रत्येक वर्ष गरिने मत्स्येन्द्रनाथको रथयात्रालाई लिन सक्छौं। मौलिक रूपमा करुणामय भनिने यी रक्तावलोकितेश्वर बौद्ध दर्शन अनुसार, जगत् र प्राणीको उद्धारका लागि प्रयत्नरत बोधिसत्वमध्ये एक हुन्। यिनलाई नेपालमा भित्र्याउने कार्यमा लिच्छवि राजा नरेन्द्रदेवको पनि मुख्य हात रहेको कथनबाट स्पष्ट हुन्छ, यो ईस्वीको आठौं शताब्दीको कुरा हो।
अवलोकितेश्वरको अवधारणाको विकास गर्ने महायान बौद्ध धर्म अन्तर्गत नै पछि विकसित सिद्ध परम्परा अन्तर्गत एक मत्स्येन्द्रनाथ पनि हुन् र कालान्तरमा करुणामयसँग उनलाई आत्मसात् गराइएको बुुझिन्छ। यस अनुसार, बुंगद्यः, करुणामय, रक्तावलोकितेश्वर र रातो मत्स्येन्द्रनाथ नामले सम्बोधन गरिन्छ।
संस्कृतिका गतिविधि यस्तो वा उस्तो नै हुनुपर्छ भन्ने भन्दा पनि समुदायको क्षमता वा परिस्थिति अनुसार हुने गर्छ। कहिले र कसरी मनाउने भन्ने सवालमा पनि सम्बन्धित समुदायलाई पायक पर्ने समय निर्धारण गरिएको हुन्छ। प्रतिकूल अवस्थामा जात्रापर्व स्थगन गरेर उपयुक्त समयमा मनाउने गरेको पनि पाइन्छ। उदाहरणका लागि, सामान्यतः वैशाख पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाणसँग सम्बन्धित भनेर मान्ने चलन छ। तर, यो केही दशकअघि श्रीलंकाबाट भारत हुँदै आएको चलन हो।
संस्कृतिका गतिविधि यस्तो वा उस्तो हुनुपर्छ भन्ने भन्दा पनि आआफ्नो क्षमता वा अवस्था अनुसार हुने गर्छ। कहिले र कसरी मनाउने भन्ने सवालमा पनि सम्बन्धित जनसमुदायलाई पायक पर्ने समय निर्धारण गरिएको हुन्छ। प्रतिकूल अवस्थामा जात्रापर्व स्थगन गरेर उपयुक्त समयमा मनाउने गरेको पनि पाइन्छ।
बुद्धको जन्मस्थल लुम्बिनीमा हरेक वर्ष चैत्र पूर्णिमाका दिन लाग्ने मेलाले एक महीनाअघि नै सो उत्सव मान्ने गरेको परम्परा बुझ्न सकिन्छ। यही सन्दर्भलाई तिब्बती बौद्ध धर्मावलम्बीहरू अरू नै दिनमा उत्सव मनाउँछन् भने थाइल्यान्ड लगायतका केही अन्य बौद्ध समाजमा महीना दिनपछि मात्रै मनाइन्छ।
यस्तै, मुस्ताङ र मनाङमा मनाइने यार्तुङ पर्व पहिला बेग्लै समयमा मनाइन्थ्यो। अचेल जनैपूर्णिमाको दिनबाट मनाउन शुरू गरिन्छ। एउटै पर्व मणिरिम्दू भए पनि तेङबोचे गुम्बा, थामे गुम्बा र चिवाङ गुम्बामा बेग्लाबेग्लै समयमा मनाइन्छ। दुम्जे पर्व पनि जुनावेशी उपत्यका (खुम्बु) मा अप्रिलतिर र दोलखाको लामाबगरमा जनवरीतिर मनाइन्छ। यसलाई संस्कृतिमा रहेको लचकताका उदाहरण मान्न सकिन्छ। काठमाडौं उपत्यकामा मनाइने चाड तथा जात्रापर्वमा पनि लचकता पाइन्छन्।
विशेष अवस्थामा जात्रापर्व औपचारिकता मात्रै पुर्याएर सम्पन्न गर्न पनि सकिन्छ। तलमाथि पर्यो भने ‘क्षमा पूजा’ गरेपछि दोषबाट मुक्त भइने मान्यता छ। कोरोना कहरको बेला औपचारिकता मात्रै पुर्याउने वा ‘क्षमा पूजा’ गर्ने उपाय उपयुक्त हुन्छ।
भीडभाड हुने जात्रापर्व मनाउन संस्कृतिकर्मीहरूले जोड दिनुको कारण के हो भन्ने प्रश्नलाई समग्रमा बुझ्दा प्रष्ट हुन्छ।
पछिल्लो समय महामारीको समयमा पनि राजनीतिक दलहरूले प्रदर्शन तथा सभा गर्दा कसले कति मान्छे जुटाउन सक्छ भनेर एक खालको प्रतिस्पर्धा नै देखियो। संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने नियम बनाइयो। तर, बालुवाटारबाट राम र सीताको मूर्ति चितवनमा लैजाँदा होस् वा धरहरा उद्घाटनमा, कतै आह्वान गरेरै त कतै बेरोकटोक भीड जम्मा गरियो। सरकार आफूले बनाएको नियम र मापदण्ड आफैं तोड्दै हिँडेपछि सर्वसाधारणले पनि त्यसैगरी बाहिर निस्किने र भीडभाड गर्ने कुरालाई हल्का रूपमा लिए। जसको गलत सन्देश जात्रालुहरूमा पर्नु स्वाभाविकै भयो।
भक्तपुरमा प्रत्येक वर्ष मनाइने बिस्केट जात्रा सरकारले रोक्न खोजेको थियो, तर स्थानीयको विरोधका कारण सरकार पछि हट्नुपर्यो। सरकार आफैंले महामारीलाई बढावा दिने गरी भीड जम्मा पार्ने, तर जात्रापर्व चाहिँ नमनाऊ भन्ने निर्देशन दिँदा संस्कृतिमाथि वक्रदृष्टि लगाएको बुझाइ बन्न पुग्यो। जसको प्रभावले विगतका वर्षहरूमा भन्दा पनि बढी भीड र चर्चासहित जात्रा सम्पन्न भयो।
बालुवाटारबाट राम र सीताको मूर्ति चितवनमा लैजाँदा होस् वा धरहरा उद्घाटनमा, कतै आह्वान गरेरै त कतै बेरोकटोक भीड जम्मा गरियो। सरकार आफूले बनाएको नियम र मापदण्ड आफैं तोड्दै हिँडेपछि सर्वसाधारणले पनि त्यसैगरी बाहिर निस्किने र भीडभाड गर्ने कुरालाई हल्का रूपमा लिए। जसको गलत सन्देश जात्रालुहरूमा पर्नु स्वाभाविकै भयो।
कोरोना संक्रमणका कारण यस वर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक मात्र गरिएको छ। यसअघि सीमित व्यक्तिको सहभागितामा रथयात्रा गर्ने तयारी थियो। कोरोना संक्रमणको दोस्रो लहर तीव्र फैलिरहेको अवस्थामा रथयात्राको तयारी गर्न दिनु आलोच्य थियो नै, यो तयारीका कारण जसरी पनि रथयात्रा निकाल्नुपर्ने सन्देश पनि गइरहेको थियो। तर, पछि देवतालाई रथारोहण गराएर सांकेतिक रथयात्रा गरी सम्पन्न गर्ने निर्णय भयो। जस अनुसार राष्ट्रप्रमुखसहितको उपस्थितिमा जावलाखेलमा सम्पन्न गरिने भोटो देखाउने कार्यक्रम स्थगन गरिएको छ।
चाडबाड तथा जात्रापर्व संस्कृतिको निरन्तरताका साथै मनोरञ्जनका लागि पनि हो। तर, महामारीको संकटका बेला कसरी रमाउन सकिन्छ र? रातो मत्स्येन्द्रनाथको रथजात्राको सन्दर्भमा देखाइएको लचकता अन्य सांस्कृतिक पर्वहरूमा पनि अपनाउनु बुद्धिमानी र सबैका लागि हितकर हुनेछ। महामारीको संकट टरेपछि अनुकूल समयमा खुलेर जात्रापर्व मनाऔंला।