अक्सिजनको सहज आपूर्ति गर्न मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले अस्पतालहरूमा अक्सिजनको आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई आग्रह गरेको छ।
शुक्रबार आयोगको प्रवक्ता डा. टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी अक्सिजनको अभावमा कोभिड–१९ का बिरामीको ज्यान गइरहेको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “अक्सिजनको अभावमा गत बुधबार मात्रै रुपन्देहीमा नौ जना तथा नेपालगन्जमा ६ जनाको र बिहीबार काठमाडौँका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको सञ्चार अनुगमनबाट पाइएको छ।”
त्यस्तै, उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्यान्ड्स, दीर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टार लगायतका अस्पतालहरू तथा रुपन्देहीको यूनिभर्सल अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने बताएको आयोगले जनाएको छ। “महामारी शुरू भएको एक वर्ष बितिसक्दा समेत अक्सिजन आपूर्ति बढाउन नेपाल सरकारबाट सार्थक पहल नहुँदा आमनागरिकले अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य भएको बुझिएको छ,” आयोगले भनेको छ।
त्यसैले तत्काल कोभिड–१९ बिरामीको सहज उपचार गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। आयोगले भनेको छ, “कोभिड–१९ लगायत सबै गम्भीर प्रकारका बिरामीहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अस्पतालहरूमा अक्सिजनसहितका थप शय्याको व्यवस्था मिलाउन, बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न, कोभिडविरुद्धको दोस्रो चरणको खोपको तत्काल व्यवस्था गर्न, भेन्टिलेटर, सघन उपचार कक्ष (आइसीयू) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।”