के कोरोनाभन्दा ठूलो व्याधि ओली थिए?
प्रधानमन्त्री ओलीका विरोधीहरूले अब जवाफ दिनुपर्ने बेला आएको छ- यति लामो समय कोरोना संक्रमण महामारीबारे चेतना फैलाउन, यससँग लड्ने तयारी र स्वास्थ्य सामग्री जोहो गर्न हातेमालो गर्नुको सट्टा राजनीतिक तानातानमा किन खेर फालियो?
कसैको सुषुप्त आवेगलाई उत्तेजनामा परिणत गरी आफ्नो स्वार्थसिद्धिमा प्रयोग गर्दै आएका पुष्पकमल दाहालले पछिल्लो पटक शुरू गरेको साढे तीन वर्ष लामो यत्न अन्तत: असफल भएको छ। संसद्को विश्वास गुमाएको तीन दिनपछि नै बिहीबार राति केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार फेरि प्रधानमन्त्री नियुक्त गर्नु दाहालको पछिल्लो यत्न असफल हुनुकै प्रमाण हो।
२७ वैशाखमा संसद्को विश्वास गुमाएर ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले राजनीतिक दलहरूलाई धारा ७६ (२) अनुसार बहुमतको सरकारको दाबी गर्न बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्। तर, उक्त समयमा कसैको पनि दाबी परेन।
ओलीलाई 'प्रतिगामी' भनेर पाँच महीनादेखि सडक, सदन, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्का कुरा गरेका उनका विरोधीहरूले अब जवाफ दिनुपर्ने बेला आएको छ- सबै राजनीतिक विचारधारा बोकेकाहरूले यति लामो समय महामारीबारे चेतना, यससँग लड्ने तयारी र स्वास्थ्य सामग्री जोहो गर्न हातेमालो गर्नुको सट्टा किन राजनीतिक तानातानमा खेर फाले?
कुनै समय भारतको गुडगाउँ र नोइडाबाट उत्तेजनाको राजनीति गर्ने र यो पछिल्लो यत्नका नाइके पुष्पकमल दाहाल महाव्याधिले अहिले गरिरहेको जनधनको क्षतिमा प्रमुख जिम्मेवार छन्। कोरोनाभाइरस महाव्याधिबाट मुलुक गुज्रँदै गर्दा उनले सत्ता संघर्षलाई उत्कर्षमा पुर्याए।
कुनै समय भारतको गुडगाउँ र नोइडाबाट उत्तेजनाको राजनीति गर्ने र यो पछिल्लो यत्नका नाइके दाहाल महाव्याधिले अहिले गरिरहेको जनधनको क्षतिमा प्रमुख जिम्मेवार छन्। कोरोनाभाइरस महाव्याधिबाट मुलुक गुज्रँदै गर्दा उनले सत्ता संघर्षलाई उत्कर्षमा पुर्याए। कतिपय सम्पादक र बुद्धिजीवीलाई प्रभाव र प्रलोभनमा पारेर ओलीलाई कोरोनाभन्दा ठूलो व्याधिको रूपमा चित्रण गरे।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भएर नेकपा बनेसँगै दाहालले सो दललाई कब्जा गरेर आफ्नो वैभवको आधार बनेको १७ हजारको सामूहिक चिताप्रति आफू आजीवन जवाफदेही हुनुनपर्ने परिस्थिति निर्माण गर्न लागे। यसमा उनलाई माधव नेपालको साथ चाहिन्थ्यो। नेता नेपाल एमालेको पछिल्लो महाधिवेशनमा भोग्नुपरेको हार र ओलीको नेतृत्वमा एमालेले पछिल्लो आमचुनावमा पाएको सफलताप्रति खुशी थिएनन्। यस्तोमा दाहाललाई नेता नेपाललाई आफ्नो पक्षमा शनै:शनै: ढल्काउन सजिलो भयो। दाहाल संविधानमा उल्लिखित अविश्वास प्रस्ताव ल्याउन बन्देज लगाइएको दुई वर्ष सकिने दिनको पर्खाइसहित नेता नेपाललाई तयार पारिरहेका थिए। जुन दिन त्यो समय घर्कियो, मुलुकको राजनीतिक तापक्रम उक्लियो।
मुलुक आज जसरी संसद्को विश्वास गुमाउने व्यक्ति नै तीन दिनपछि फेरि प्रधानमन्त्री नियुक्त हुने जस्तो समाचार पढ्न अभिशप्त छ, त्यसको जिम्मेवार दाहाल नै हुन्। दाहालमा विधिप्रति कुनै लगाव देखिएन। उनमा रूपान्तरण देखिएन। कब्जाको राजनीतिलाई उनले छोड्न सकेनन्। सो अनुरूप दाहालले सफल हुनै नसक्ने अविश्वास प्रस्ताव ५ पुसमा अघि सारे। सभामुखले सो प्रस्तावको दर्ता समयलाई 'परिमार्जन' गरेर अगाडि बढाउन खोजे, तर ढिलो भयो।
साढे दुई महीनासम्म 'प्रतिगामी' भनिएका ओलीलाई हटाउन संसद्मा विश्वास मतको प्रस्ताव पारित नभएपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दाबी गर्न आऊ भन्दा असमर्थ भएका ओलीका विपक्षीले बताउनुपर्छ- के प्रयोजनका लागि यत्रो समय बर्बाद गरियो?
तीन वर्षदेखि दाहालको शैली नजिकैबाट नियालिरहेका ओलीले आफ्नो राजनीतिक जीवन समाप्त पार्न दाहाल लागिपरेका र विद्यमान संसदीय अंकगणितका कारण मुलुक अन्तत: संविधान अनुसार निर्वाचनमा नगई सुख छैन भन्ने बुझेरै संसद् विघटनको सिफारिश गर्दै चुनावको मिति तोके। सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन असंवैधानिक भएको ठहर गरेसँगै संसद् पुन:स्थापित भयो। साढे दुई महीनासम्म 'प्रतिगामी' भनिएका ओलीलाई हटाउन संसद्मा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले बहुमतको सरकार बनाउन दाबी गर्न आऊ भन्दा असमर्थ विपक्षीले बताउनुपर्छ- के प्रयोजनका लागि यत्रो समय बर्बाद गरियो?
यो दाहालको 'कब्जा' नीतिको पराजय हो। उनको लहैलहैमा लागेका माधवकुमार नेपाल एमालेमा अटाउन सक्लान्। तर, दाहाललाई अबको राजनीतिक ओत एमालेबाट सम्भव छैन। नेपाली कांग्रेसले कहिलेसम्म दाहाललाई माया गरेर आफ्नो ओरालो यात्रा जारी राख्छ, यो कांग्रेसले तय गर्ने कुरा हो।
कोरोना संक्रमण कहालीलाग्दो गरी उकालो लागेको छ। संक्रमणबाट दैनिक सयौंको संख्यामा नागरिक मरिरहेका छन्। यीमध्ये कतिले स्वास्थ्य सेवा पाए, कतिले पाएनन्, कसैलाई थाहा छैन। अस्पतालमा बेड अभाव र अक्सिजनको हाहाकारकै कारण धेरै संक्रमितले मृत्युवरण गर्नुपरेको छ।
अक्सिजनको चरम अभावकै कारण निजी क्षेत्रका विभिन्न ठूला अस्पतालहरूले कोभिडका थप बिरामी भर्ना गर्न नसक्ने सूचना जारी गरिसकेका छन्। स्वास्थ्य सेवाको यो दयनीयता देखिरहँदा दशौं हजार संक्रमितहरूले सकभर अस्पताल जानुभन्दा घरमै आइसोलेसनमा बस्नु उपयुक्त ठानेका छन्। संक्रमणबाट मृत्यु हुनेका परिवारले अन्त्येष्टि गर्न र शोक मनाउन पनि पाइरहेका छैनन्। समय यति क्रूर भएको छ, अन्तिम संस्कार झटपट गरेर बाँचेकाहरूले आफू सुरक्षित रहने उपाय सोच्नुपर्ने अवस्था छ।
महामारीले थिलथिलो पारेको यस्तो बेला पनि विदेशी चलखेलको अफवाह फैलिन रोकिएको छैन।
विगत केही वर्षमा नेपालमा इतिहासको ठूलो वामपन्थी दल नेकपालाई टिकाउन धेरै मिहिनेत गरेको चीन यहाँको राजनीतिक किचलो र नेकपाको विघटनपछि असन्तुष्ट छ। उसलाई लागेको थियो, नेकपाले लामो समय नेपालको राजनीति हाँक्नेछ। र, याे पनि कि, सो पार्टीलाई आगामी दिनमा दाहालले हाँक्नेछन्। यस्तो बुझाइ हुनुमा ओलीको विगतको स्वास्थ्य अवस्थाको पनि केही भूमिका थियो।
नाकाबन्दीसामु नझुक्ने, चुच्चे नक्सा जारी गर्ने, रामको जन्मभूमि नेपाल भएको बताउने ओलीलाई भारतले सहेको हो, रुचाएको हुँदै होइन। नेपालको विकसित राजनीतिको सन्दर्भमा भन्नुपर्दा, हाल ओलीलाई भारतपरस्त देखाएर उनलाई हानि पुर्याउने भारतीय रणनीति पनि असफल भएको छ।
ओलीभन्दा दाहाल धेरै सजिला पात्र हुन् भनेर चिनियाँहरूले नबुझ्ने कुरै भएन। अपराधको सजायबाट उन्मुक्ति पाउन आन्तरिक र बाह्य शक्तिकेन्द्रसँग जीवनभर सौदाबाजी गर्न बाध्य पात्र सजिलो हुनु स्वाभाविकै भयो।
तर, ओली दोस्रो मिर्गौला प्रत्यारोपणपछि स्वस्थ भए। नेकपाभित्रको आन्तरिक तानातानमा ओलीलाई परास्त गर्ने हैसियतको पात्र देखिएको त थिएन नै, सर्वोच्च अदालतले एमाले र माओवादी-केन्द्र ब्युँताइदिएपछि चीन अलमलमा पर्यो।
महामारीसँग लड्न विश्वले नै मुख ताकिरहेको हाम्रो उत्तरी छिमेक चीनबाट नेपालले आफ्ना नागरिक जोगाउन आश गरे जस्तो सहयोग नपाउनुमा यो अलमल पनि जिम्मेवार छ।
अर्कोतर्फ, 'विश्वको फार्मेसी' भारत आफ्नै भूमिमा नयाँ अवतार लिन पुगेको कोरोनाभाइरसको चपेटाबाट निस्किन असफल देखिएको छ। महीना दिनअघिसम्म 'क्वाड'को विश्व खोप कूटनीतिको अगुवा रहेको भारत अहिले नेपालसहित नजिकका छिमेकी मुलुकलाई रकम भुक्तानी भइसकेको खोप दिन नसक्ने भएको छ।
नाकाबन्दीसामु नझुक्ने, चुच्चे नक्सा जारी गर्ने, रामको जन्मभूमि नेपाल भएको बताउने ओलीलाई भारतले सहेको हो, रुचाएको हुँदै होइन। नेपालको विकसित राजनीतिको सन्दर्भमा भन्नुपर्दा, हाल ओलीलाई भारतपरस्त देखाएर उनलाई हानि पुर्याउने भारतीय रणनीति पनि असफल भएको छ।
ढिलो-चाँडो मुलुक ओलीले ५ पुसमा आकलन गरे जस्तै चुनावमा जानुपर्ने संवैधानिक बाध्यतातर्फ धकेलिँदै छ। तर, महामारीबीच चुनाव कसरी सम्भव होला? आगामी एक महीनाले तय गर्नेछ, नेपाल अझै राजनीतिक खेलकुदमै रुमलिन्छ कि महाव्याधिविरुद्ध कमभन्दा कम मानवीय क्षतिका साथ विजय हासिल गर्छ। यसको जस, अपजस सबैभन्दा बढी ओलीलाई नै जानेछ।