निर्वाचन आचारसंहिता उल्लंघनमा नवनियुक्त गृहमन्त्रीलाई कारबाही हुनसक्ने!
राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नवनियुक्त गृहमन्त्री रामबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही हुनसक्ने निर्वाचनका जानकारहरू बताउँछन्।
निर्वाचन आयोगले ६ जेठमा हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठद्वारा बिहीबार जारी सूचना अनुसार, २९ वैशाखदेखि उपनिर्वाचन सम्पन्न नहुँदासम्मका लागि बागमती प्रदेशभरि आचारसंहिता लागू भइसकेको छ।
निर्वाचन आचारसंहिता, २०७२ मा नेपाल सरकार र नेपाल सरकारका मन्त्री लगायतलाई नै आचारसंहिता लागू हुने स्पष्ट उल्लेख छ। तर, उपनिर्वाचनमा राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)को तर्फबाट उम्मेदवारी दिएका रामबहादुर थापा भने पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्।
नवनियुक्त गृहमन्त्री थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचनका जानकारहरू भने उम्मेदवार बनेको व्यक्तिले नियुक्ति लिनु आचारसंहिता विपरीत भएको बताएका छन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, “आचारसंहिता भनेको जुनसुकै निर्वाचन प्रक्रियामा लागू हुन्छ, यही उपनिर्वाचनको सन्दर्भमा कसलाई लाग्छ? कसलाई लाग्दैन? भन्ने निर्वाचन आयोगलाई सोध्नु उचित होला।”
राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार बनेको व्यक्तिले नियुक्ति लिन मिल्छ कि मिल्दैन? भन्ने प्रश्नमा एक पूर्वआयुक्त भन्छन्, “संविधान र ऐन, कानूनकै पालना नभएको अवस्थामा उहाँहरूले आचारसंहिता सम्झेर बस्नुहोला जस्तो लाग्दैन।”
आयोगका बहालवाला एक आयुक्त भने कसैले उजुरी गरे छानबिन गरेर कारबाही गर्ने बताउँछन्। “उपनिर्वाचनमा उम्मेदवार बनेका व्यक्ति मन्त्री बन्न पाउँदैन भनेर किटानी साथ त लेखिएको छैन, तर सामान्यतया सबै आचारसंहिता लागू हुन्छ,” नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, “गृहमन्त्रीज्यूको विरुद्धमा पनि उजुरी पर्यो भने छानबिन गर्छौं र दोषी देखिए कारबाही हुन्छ।”