कोरोना पोजेटिभ देखिएको कति दिनमा चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन हुन्छ ?
सरकारले जेठ २ बाट कोरोनाभाइरसविरुद्धको खोप अभियान पुनः शुरू गर्ने भएको छ। यस पटक चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा वितरण गर्ने भनिएको छ। कोरोना संक्रमण भइरहेको अवस्थामा वा संक्रमणमुक्त भएपछि खोपको दोस्रो मात्रा लगाउनुहुन्छ कि हुँदैन भन्नेमा कतिपयलाई अलमल भएको देखिन्छ। कोरोनाभाइरसको प्रकृति, संक्रमण, उपचारको विधि र प्रक्रिया सम्बन्धी यस्तै द्विविधा हटाउन सघाउने उद्देश्यले हिमालखबरले कोभिड-१९ः जिज्ञासा र जवाफ स्तम्भ शुरू गरेको छ। दोस्रो मात्राको खोपबारे घनश्यामराज पाण्डे र अन्यले हिमालखबरको ट्वीटरमा जिज्ञासा राख्नुभएको थियो। हामीले संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग यसबारे कुराकानी गरेका छौं। उनको जवाफ :
- कोरोना पोजेटिभ देखिएको कति समयपछि चिनियाँ भेरोसेल खोपको दोस्रो मात्रा लगाउन मिल्छ? संक्रमण भइरहेको अवस्थामा खाेप लगाउँदा के हुन्छ?
डा. अनुप सुवेदी: तपाईंलाई जुनसुकै कारणले ज्वरो आइरहेको छ वा तपाईं कोभिड–१९ को संक्रिय संक्रमित हुनुहुन्छ भने सामान्यतया खोप लगाउन हुँदैन। संक्रमणबाट निको भएपछि खोप लगाउन मिल्छ।
तर, निको हुनु भनेको के हो? निको हुनका लागि दुइटा क्राइटेरिया छन्। एक, लक्षण शुरू भएको दिनबाट गन्दा ११औं दिन पुगेको हुनुपर्छ। र, ज्वरो आउन छोडेको तीन दिन पूरा भएको हुनुपर्छ। यी दुइटा क्राइटेरिया मिलेपछि तपाई संक्रमणमुक्त भएको मानिन्छ।
संक्रमणमुक्त भएको एक महीनाभित्र खोप लगाउन आवश्यक छैन। किनभने, अहिले जुन भेरिएन्ट फैलिरहेको छ, त्यही भेरिएन्टका कारण एक महीनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम छ। यो अवधिमा अर्को भेरिएन्टसँग एक्स्पोज हुने जोखिम पनि कमै हुन्छ।
एउटा भेरिएन्टले संक्रमण भइसकेपछि शरीरमा निर्माण हुने एन्टिबडीले अर्को भेरिएन्टसँग पनि लड्ने देखिएको छ। भर्खर संक्रमण भएको व्यक्तिमा एन्टिबडी एकदम उच्च हुन्छ। तसर्थ, संक्रमण भएको एक महीनादेखि तीन महीनासम्म सामान्यतया खोप लगाउनु पर्दैन। अरू देशमा पनि यस्तै अभ्यास छ।
विकसित देशमा किन यस्तो अभ्यास गरिएको हुनुपर्छ भने त्यहाँ एक वा तीन महीनापछि मात्रै खोप लगाउँछु भन्दा फरक पर्दैन, खोप पाइहालिन्छ। हाम्रो देशमा चाहिँ एक महीनापछि खोप पाउने टुंगो छ कि छैन? छैन भने संक्रमण निको हुनासाथ दोस्रो डोज खोप लगाए हुन्छ।
खासमा एक महीनाभित्रै लगाइहाल्न जरुरी थिएन, किनभने शरीरकै एन्टिबडीले सुरक्षा दिइरहकै हुन्थ्यो, तर दोस्रो डोज खोप पछि पाइन्छ/पाइँदैन भन्ने नै टुंगो नभएकाले (पाएको बेला) लगाइहाल्दा हुन्छ। चाँडै खोप लगाएर कुनै हानि हुँदैन।
तर, भुल्न नहुने कुरा के छ भने, अक्सिजनको मात्रा कम भएर स्टेरोइड्स नामक औषधि खाइरहनुभएको छ भने खोप लगाउन मिल्दैन। अस्पतालबाट डिस्चार्ज भएका बिरामीलाई घर गएपछि पनि केही दिनसम्म स्टेरोइड्स खान सिफारिश गरिएको हुनसक्छ। उहाँहरूले स्टेरोइड्स औषधिको उपचार सकिएको (औषधि खान छोडेको) हप्ता दिनपछि मात्रै खोप लगाउँदा राम्रो हुन्छ।