‘ससाना निक्षेपका लागि ब्यांकमा नआउनु’
विकास ब्यांक एशोसिएसन नेपालले साना साना रकम जम्मा गर्न सकेसम्म ब्यांकमा उपस्थित नहुन आग्रह गरेको छ।
कोभिड–१९ को बढ्दो जोखिमलाई ध्यानमा राखेर आफ्ना सदस्य ब्यांकहरू मार्फत यस्तो आग्रह गरिएको एशोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेलले बताए। एशोसिएसनले भनेको छ, “आ–आफ्ना ग्राहकहरूलाई परिस्थिति सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक ब्यांकमा नआउन अनुरोध गर्ने।”
सम्भव भएसम्म डिजिटल ब्यांकिङ कारोबार गर्न आफ्ना ग्राहकहरूलाई उपलब्ध र सम्भव भएसम्मका सञ्चारमाध्यमबाट अनुरोध गर्न समेत एशोसिएसनले निर्देशन दिएको छ।
ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र सम्भव भएसम्मका थप उपायहरू अवलम्बन गर्नुपर्ने, प्रधान कार्यालयका कर्मचारीहरूलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने, घरबाटै काम गराउने, सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यक भए मात्रै कार्यालयमा बोलाउन भनिएको छ।