भारतझैं नेपाललाई पनि हेर्न बेलायत सरकारलाई आग्रह
ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलले नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको सन्दर्भ औंल्याएर बेलायत सरकारलाई सहयोगको हात बढाउन अनुरोध गरेको छ।
बुधबार जारी वक्तव्यमा काउन्सिलले कोभिड-१९ का कारण छिमेकी देश भारतको दुरवस्था विश्वले देखिरहे पनि नेपाल छायामा परेकोतर्फ ध्यानाकर्षण गराएको छ।
“नेपाल र भारतबीच खुला सिमाना छ जसले गर्दा दुवैतर्फका समस्या बरोबर रूपमा समाधान गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ, “नेपालको दोस्रो लहरको महामारी भारतको भन्दा दुई हप्ता मात्रै ढिला (शुरू भएको) हो। र, त्यहाँको पोजेटिभिटी दर करीब ४५ प्रतिशत छ, भारतीय सीमाछेउ अझ बढी छ।”
आफूहरूले बेलायती विदेशमन्त्री डोमिनिक राब, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई इमेल र हुलाक मार्फत वक्तव्य पठाएको काउन्सिलका अध्यक्ष समेत रहेका अक्सफोर्ड विश्वविद्यालय/सेन्टर फर नेपाल स्टडीजका डा. कृष्ण अधिकारीले हिमालखबरलाई जानकारी दिएका छन्।
“अब हामी यहाँका स्थानीय सांसदहरूलाई पनि यसबारे सरकारसँग लबी गर्न आग्रह गर्छाैं,” अधिकारी भन्छन्, “नेपालमा आइपरेको संकटपूर्ण अवस्था देखेर हामी चिन्तित छौं। नेपालले बेलायतलाई मद्दत गरेको इतिहास छ। अहिले बेलायतले मानवीयताको नाताले पनि नेपाललाई सहयोग गर्नुपर्छ। भारत ठूलो र शक्तिशाली देश भएकाले विश्वको ध्यान उसमा छ। नेपालको अवस्थालाई नजरअन्दाज गरिएको छ। यस्तोमा जीसेभेन देशका अध्यक्षको हैसियतले पनि बेलायतले खोप वितरणको विश्वव्यापी असमानतालाई अन्त्य गर्न भूमिका खेल्न सक्छ ।”
काउन्सिलका १५ जना कार्यकारी सदस्यले जारी गरेको वक्तव्यमा नेपालको अवस्था अहिले डरमर्दो भएको, देशभरका अस्पताल संक्रमितले भरिभराउ भएका, पर्याप्त स्वास्थ्य जनशक्ति नभएको र अक्सिजन अभावका कारण अस्पतालले सेवा दिन नसकिरहेको उल्लेख छ। “नेपालको स्वास्थ्य क्षेत्र नाजुक हालतमा पुगेको र अन्तर्राष्ट्रिय सहयोग प्राप्त नभइरहेकाले हामी बेलायत सरकारलाई आफ्नो वैज्ञानिक विज्ञता र खोप लगाएका अनि यो डरलाग्दो भाइरससँग डिल गर्न जान्ने अनुभवी दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउन अनुरोध गर्छौं ” वक्तव्यमा छ।
बेलायत सरकारले प्रदान गर्ने सहयोगमा संकटग्रस्त ठाउँमा अस्पताल र आइसोलेसन सेन्टर स्थापनाका लागि गोर्खा फौज तैनाथ गर्न सकिने समेत काउन्सिलले सुझाएको छ। भारतलाई भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटर्स उपलब्ध गराएझैं नेपाललाई पनि सोही किसिमको सहयोग गर्न अनुरोध गरिएको छ। नेपालको जनस्वास्थ्य अवस्था भारतको भन्दा नाजुक हुँदै गएकाले भूपरिवेष्ठित देशमा आपत्कालीन स्वास्थ्य सामग्रीको ढुवानी यथाशीघ्र गर्न झकझकाइएको छ।
“नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय क्षेत्र र विशेषतः बेलायत सरकारलाई जानकारी होस् भनेर हामीले हालै राउन्ड टेबल बहस पनि आयोजना गरका थियौं,” अधिकारीले हिमालखबरलाई इमेल मार्फत भनेका छन्,“ काठमाडौंस्थित बेलायती दूतावासकी विकास विभाग निर्देशक लिजा होनानले नेपाललाई कसरी सहयोग गरिएको छ भनेर इमेलमा जवाफ पठाउनु भएको थियो ।”
“बेलायती दूतावास मार्फत हाल हामी दुइटा चिजमा बढी जोड दिइरहेका छौं,” होनानलाई उद्धृत गर्दै अधिकारी भन्छन्, “पहिलो, खोप वितरण पुनः सुचारु गर्नु। दोस्रो, नेपाल सरकारलाई सल्लाह दिन र यहाँका स्वास्थ्यकर्मीलाई तालिम दिन बेलायतबाट आउने आपत्कालीन स्वास्थ्य जनशक्ति समूहको व्यवस्थापनका लागि काम गर्दै छौं।”