जापानी राजाद्वारा गद्दी त्याग, ‘हेइसी’ युगको अन्त्य
जापानी राजा आकिहितोले मंगलबार जापानको राजगद्दी त्यागेका छन् ।
यसका साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ ।
तीन दशकसम्म चलेको हेइसी युग यही महीना वर्तमान राजा आकिहितोले गद्दी त्यागेसँगै अन्त्य भएको हाे ।
विश्वमा नै पुरानो राजतन्त्रको रूपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।
गद्दी त्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।
१ मेबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । १ मेबाट जापानमा नयाँ शाही युगको शुरुवात हुँदैछ । यस सँगै जापानमा नयाँ युगको नाम ‘रेइवा’ शुरु हुने भएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।
८५ वर्षीय आकिहितोले केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यका कारण राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।