के नेपालीहरूले भात धेरै खान थालेका हुन्?
नेपालले कुल वस्तु निर्यात गरेर कमाएको धनमध्ये आधा त धान–चामल किन्नै खर्च गरिरहनुपरेको छ। यसले नेपालीहरूले भात धेरै खान थालेका हुन् त भन्ने आश्चर्यजनक प्रश्न उब्जाइदिएको छ।
अधिकांश नेपालीको नछुट्ने मुख्य खान्की हो, भात। आयातको तथ्यांक हेर्दा नेपालीले खाने भातको परिमाण आश्चर्यमा पार्ने गरी बढ्दै गएको देखिन्छ।
साउनदेखि चैत मसान्तसम्ममा नेपालमा रू.३९ अर्ब १६ करोड बराबरको धान–चामल आयात भयो। अर्थात्, हरेक दिन रू.१४ करोड ७० लाख बराबरको बेसाहा। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतजति धेरै हो। २०७६ साउनदेखि चैतसम्ममा देशमा रू.२३ अर्ब ८० करोड बराबरको मात्रै धान–चामल आयात भएको थियो।
के एकाएक नेपालीले भात धेरै खान थालेर धान–चामलको आयात अचम्मलाग्दो गरी बढेको हो? सरकारी अधिकारीहरू पनि रनभुल्लमा छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्की धान–चामल आयातको तथ्यांकले आफूलाई आश्चर्यमा पारेको बताउँदै भन्छन्, “यतिविघ्न धान–चामल केका लागि आयात भइरहेको हो भनी बुझ्न यसबारे अध्ययन गर्ने निधो गरेका छौं।”
साउनदेखि चैत मसान्तसम्ममा नेपालमा रू.३९ अर्ब १६ करोड बराबरको धान–चामल आयात भयो। अर्थात्, हरेक दिन रू.१४ करोड ७० लाख बराबरको बेसाहा। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४ प्रतिशतजति धेरै हो।
नेपालले कुल वस्तु निर्यात गरेर कमाएको रकमको आधाजति त धान–चामल आयातमा मात्रै खर्च गरिरहनुपरेको छ। भन्सार विभागका अनुसार, चालू आर्थिक वर्षको साउन–चैतमा देशले रू.७८ अर्ब ८१ करोड बराबरको वस्तु विदेशमा निर्यात गरेको छ।
सरकारी तथ्यांकका अनुसार, चालू आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक धान फलेको छ। कृषि मन्त्रालयका अनुसार, यो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फल्यो। यो बितेको वर्षको तुलनामा १.२८ प्रतिशत धेरै हो। एकातिर किसानका खेतमा धान धेरै फल्ने, अर्कातिर चामलको आयात अचाक्ली बढ्ने विपरीत अवस्था देखिएको छ।
सोझो हिसाबमा नेपालीहरूले भात धेरै खान थालेकाले बेसाहा बढेको अनुमान गर्न मिल्छ। तर, निष्कर्ष निकालिहाल्न भने मिल्दैन।
केले बढायो आयात?
केन्द्रीय तथ्यांक विभागले गरेको सन् २०१६/१७ को वार्षिक घरपरिवार सर्वेक्षण अनुसार, नेपालीले वर्षमा प्रतिव्यक्ति ११२ किलो चामल खान्छन्। तर, सन् २०१५/१६ को यस्तै सर्वेक्षणले भने नेपालीको प्रतिव्यक्ति वार्षिक चामल खपत १३१ किलो देखाएको थियो। त्यसपछि यस्तो सर्वेक्षण भएको छैन।
तर, कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी औसतमा नेपालीको प्रतिव्यक्ति चामल उपभोग वार्षिक १३० किलो हाराहारीमा रहेको अनुमान गर्छन्। यो तथ्यांक हेर्दा नेपालमा बर्सेनि ३ करोड नागरिकको पेट भर्न ३९ लाख मेट्रिक टन चामल भए पुग्नुपर्ने हो।
भन्सार विभागको तथ्यांकले धान–चामल आयातको परिमाण धेरै बढिरहेको देखाउँछ। जस्तै, २०७६ को साउनदेखि चैतसम्ममा नेपालमा २ लाख ९२ हजार मेट्रिक टन चामल आयात भएको थियो। तर, २०७७ को साउन–चैतमा ४ लाख २३ हजार मेट्रिक टन चामल आयात भयो।
मिलमा धान कुट्दा ५५/६० प्रतिशत मात्रै चामल बस्छ। जसलाई हिसाब गर्दा नेपालमा बर्सेनि ६५ लाख मेट्रिक टन धान भए नेपालीको पेट भर्न पुग्छ। तर, देशभित्रको उत्पादन र आयात हेर्दा ७५ लाख टनभन्दा धेरै परिमाणमा धान खपत भइरहेको देखिन्छ।
भन्सार विभागको तथ्यांकले धान–चामल आयातको परिमाण धेरै बढिरहेको देखाउँछ। जस्तै, २०७६ को साउनदेखि चैतसम्ममा नेपालमा २ लाख ९२ हजार मेट्रिक टन चामल आयात भएको थियो। तर, २०७७ को साउन–चैतमा ४ लाख २३ हजार मेट्रिक टन चामल आयात भयो। अर्थात्, एक वर्षमै चामल आयात करीब ४५ प्रतिशतले बढ्यो।
आयात भएको धानको परिमाण त दोब्बरभन्दा बढी छ। चालू आर्थिक वर्षको साउन–चैतमा ५ लाख ४६ हजार टन धान आयात भएको तथ्यांकले देखाउँछ। जब कि, गत आर्थिक वर्षको यही अवधिमा धानको आयात २ लाख ४७ हजार मेट्रिक टन मात्रै थियो। आयातीत धानको कतिपय हिस्सा भने बीउ राख्न पनि प्रयोग हुन्छ। नेपालमा आयात हुने धान–चामल अधिकांश भारतबाट आयात भए पनि चीन, थाइल्यान्ड, जापान, अमेरिका जस्ता देशबाट समेत आयात भइरहेको तथ्यांकले देखाउँछ।
गाउँ गाउँसम्मै मोटरबाटो पुगेपछि पछिल्ला वर्षहरूमा कोदो, फापर जस्ता रैथाने बालीका परिकारको सट्टा पहाड र हिमालमा पनि चामलको माग बढ्दै गएको छ। वैदेशिक रोजगारीले चामल खरीद गर्न सक्ने क्षमता बढाइदिएपछि त्यस्तो माग झन् चुलिएको छ। मध्यमवर्ग र धनी परिवारहरूले लामो दाना भएका र बास्नादार चामल खोज्ने प्रवृत्तिले पनि चामल आयात बढाइरहेको छ।
बियरको बढ्दो खपतले चामल र कनिकाको आयातलाई दबाब परेको हुनसक्छ। बियर उद्योगहरूले कनिका र चामललाई बियर उत्पादनमा प्रयोग गर्दै आएका छन्। नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ता पनि मदिरा उद्योगसहित पशु आहारका लागि कनिकाको खपत बढिरहेको बताउँछन्।
तर, कृषि मन्त्रालयका सचिव डा. कार्की नेपालीले भात धेरै खान थालेकाले मात्रै यसरी चामल आयात भइरहेको कुरामा शंका गर्छन्। उनी चामलको प्रयोग नागरिकका भान्साबाहेक अन्यत्रै पनि भइरहेको हो कि भन्नेमा शंका जनाउँछन्। नेपालमा घरेलु स्तरमा मदिरा बनाउन पनि चामलको प्रयोग हुने गर्छ। तर, यो अहिले मात्र होइन, बितेको लामो समयदेखि हुँदै आएको प्रवृत्ति हो।
यद्यपि, बियरको बढ्दो खपतले चामल र कनिकाको आयातलाई दबाब परेको हुनसक्छ। बियर उद्योगहरूले कनिका र चामललाई बियर उत्पादनमा प्रयोग गर्दै आएका छन्। नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ता पनि मदिरा उद्योगसहित पशु आहारका लागि कनिकाको खपत बढिरहेको बताउँछन्। एकै वर्षका बीचमा नेपालमा आयात हुने कनिकाको परिमाण ३६४ प्रतिशत बढेको छ। गत साउन–चैतमा ८२ हजार १८७ मेट्रिक टन कनिका आयात भएको छ, जुन बितेको वर्षको यही अवधिमा १७ हजार ७११ मेट्रिक टनमा सीमित थियो।
गुप्ता धान–चामलको आयात बढ्नुमा देशमा उत्पादित धानको गुणस्तर खस्किनुलाई कारण मान्छन्। उनी एक क्विन्टल धान कुट्दा २०–२५ किलोसम्म कनिका निस्किइरहेको जुन बितेका वर्षहरूका तुलनामा दोब्बर भएको बताउँछन्। देशभित्र धान धेरै फलेपछि मिलमा कुट्दा कनिकामा धेरै खेर गएकाले चामल आयात बढाउनुपरेको उनको तर्क छ। अर्कातिर, कोभिड–१९ को महामारी शुरू भएपछि भारतबाट अनौपचारिक रूपमा भन्सार छलेर चामल ल्याउने प्रवृत्ति धेरै हदसम्म कम भएको छ। बन्दाबन्दीको अवधिमा त यसरी ल्याउने क्रम ठप्प नै भएको थियो। अहिले सीमाक्षेत्रका बजारहरूमा पनि नेपाली मिलहरूले उत्पादन गरेकै चामलहरू बिक्री भइरहेको गुप्ता बताउँछन्।
उसो त, चामलको आयात कागजमा मात्रै भएको अनुमान गर्नेहरू पनि छन्। कृषि मन्त्रालयका एक अधिकारी भन्सार बिन्दुमा चामलको नाममा अरू नै वस्तु आयात भएको वा विवरणमा मात्रै चामल आयात गरेर रकमलाई वैधानिक रूपमा भारत पठाइएको हुनसक्ने अनुमान गर्छन्। तर, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल भन्सारबाट अरू नै वस्तु आयात गरेर चामल देखाइन सम्भव नरहेको तर्क गर्छन्। यो वर्षको पहिलो नौ महीनामा रू.३९ अर्ब १६ करोडको चामल आयात हुँदा रू.३ अर्ब ५ करोड राजस्व उठेको छ।
कृषि मन्त्रालयका एक अधिकारी भन्सार बिन्दुमा चामलको नाममा अरू नै वस्तु आयात भएको वा विवरणमा मात्रै चामल आयात गरेर रकमलाई वैधानिक रूपमा भारत पठाइएको हुनसक्ने अनुमान गर्छन्। तर, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल भन्सारबाट अरू नै वस्तु आयात गरेर चामल देखाइन सम्भव नरहेको तर्क गर्छन्।
कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत धान–चामल आयातको मात्र होइन, उत्पादनको तथ्यांकमा पनि समीक्षा गर्नुपर्ने बेला आएको बताउँछन्।
“आयातको बढ्दो ग्राफले देशभित्रको धान उत्पादन भनिएजति होइन कि भन्ने आशंका पनि पलाएको छ,” रेग्मी भन्छन्, “हाम्रो धान उत्पादनको तथ्यांकलाई समीक्षा गर्नुपर्ने भएको छ।”
मन्त्रालयमा सहसचिवको नेतृत्वमा रहेको तथ्यांक प्राविधिक समिति छ, जसमा नेपाल राष्ट्र ब्यांक, केन्द्रीय तथ्यांक विभागका अधिकारीहरूसहितको सहभागिता रहन्छ। यही समितिले हरेक वर्ष नेपालमा उत्पादन हुने धानको आँकडा सार्वजनिक गर्छ। तर, अहिलेको उत्पादन र आयातको तथ्यांकले सोच्न बाध्य बनाएकाले अब समितिमा छलफल गरिने रेग्मी बताउँछन्।