थप सहयोग गर्न चीन सरकारलाई नागरिक अपील
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल खोप पर्याप्त नभएको भन्दै थप खोप उपलब्ध गराएर नेपाललाई सहयोग गर्न नागरिक प्रतिनिधिले चीन सरकारलाई अनुरोध गरेका छन्।
“भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउन नेपाल सरकारले मिति तय गरेको छ,” नागरिक प्रतिनिधिले जारी गरेको विज्ञप्तिमा छ, “यसले थोरै भए पनि आशा सञ्चार गरेको छ। तर, यो पर्याप्त छैन। थप खोप उपलब्ध गराउन हामी अपील गर्छौं ताकि थप मानवीय क्षति रोक्न सकियोस्।”
विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२०० प्रतिशतले बढेको र कोरोना पोजेटिभ दर लगातार ५० प्रतिशतभन्दा बढी रहेको अवगत गराउँदै नागरिक प्रतिनिधिले चीन सरकारलाई कोभिड–१९ महामारी रोकथाममा सहयोग गरिदिन अपील गरेका छन्।
नागरिक प्रतिनिधिमा अभियन्ता जगन्नाथ लामिछाने, दलित एनजीओ फेडेरेसनका भक्त विश्वकर्मा, मानवअधिकारका लागि एकल महिलाको समूह–लुम्बिनी प्रदेशकी अध्यक्ष जानकी घिमिरे, अभियन्ता फुलमोहम्मद मियाँ, फिल्म निर्देशक सामसन कार्की, अपांगता अधिकारकर्मी सौगात वाग्ले, पत्रकार गोविन्द परियार, आभाष्ना पाण्डे, व्यवसायी संगम शेर्पा गरी ८३ जनाको नाम छ।
उनीहरूले सम्भावित मानवीय क्षति रोक्न नेपाललाई आफ्ना छिमेकीको सहयोग अपरिहार्य भएको जनाएका छन्। स्वास्थ्य जनशक्ति र फ्रन्टलाइनमा रहेर काम गर्नेको संख्या देशभर अपुग रहेको र नेपालको स्वास्थ्य पूर्वाधार नाजुक अवस्थामा आइपुगेको विज्ञप्तिमा उल्लेख छ।
दोस्रो लहरको संक्रमण कम गर्न अहिले तुरुन्त ५० हजार अक्सिजन सिलिन्डर आवश्यक रहेको नेपाल सरकारले बताएको र चीनले २० हजार सिलिन्डर र अन्य स्वास्थ्य सामग्री पठाउने कुराले आशावादी बनाएको तीन बुँदे अपीलमा उल्लेख छ।
“यो सहायतालाई छरितो ढुवानी मार्फत र मात्रा थप गरेर अक्सिजन कन्सन्ट्रेटर्स र अक्सिजन वितरणका लागि आवश्यक अन्य सहायता उपलब्ध गराउन हामी अनुरोध गदर्छौं,” विज्ञप्तिमा उल्लेख छ, “हाम्रा स्वास्थ्यकर्मीले सुरिक्षत रूपमा संक्रमितलाई आधारभूत सेवा दिन सक्ने गरी पीपीई, टेस्टिङ किट, मास्क र अन्य स्वास्थ्य उपकरण प्रदान गरेर हामीलाई सहायता गर्न हामी अपील गर्छाैं।”
यो भयानक भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा ल्याउन सक्ने विश्वकै पहिलो मुलुकका रूपमा चीनको अनुभव र स्रोत महत्त्वपूर्ण रहेको भन्दै यस्तोमा महामारीसँग जुघ्न फिल्डमा खटिएका नेपालका फ्रन्टलाइन वर्करलाई सहयोग गर्न चीनले पठाउने कुनै पनि प्रकारका आपत्कालीन स्वास्थ्य समूहको सराहना गर्ने नागरिक विज्ञप्तिमा भनिएकाे छ।
सन् २०१५ को भूकम्पपछिका दिन र त्यसपछिको नाकाबन्दीका बेला चीनले नेपाललाई निरन्तर सहायता दिएको कुरा नेपालीले कदापि नबिर्सिने पनि नागरिक प्रतिनिधिले उल्लेख गरेका छन्।
“यो अभूतपूर्व घडीमा, नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएकाे छ।
आफूहरूको अपील चीन सरकारसम्म पुर्याइदिन र चीनले नेपाललाई प्रदान गर्ने सम्पूर्ण सहायताको रफ्तार बढाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई नागरिक प्रतिनिधिले अनुरोध गरेका छन्।