दोहोरो अङ्कले घट्यो शेयर बजार
एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक मंगलबार ११ दशमलव ७० बिन्दुले घटेर एक हजार २९८ दशमलव ६० बिन्दुमा पुगेको हो ।
लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७४ बिन्दुले घटेर २७९.१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको तुलनामा घटेको छ । अर्ब माथिको कारोवार घटेर रु ९५ करोडमा झरेको छ ।
कूल १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयर रु ९५ करोड ८६ हजार ९३६ मूल्यमा खरीद बिक्री भए ।
स्टक एक्स्चेञ्जका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ ।
जलविद्युत् ४५.४९ र वित्त १.०३ बिन्दुले बढेको छ । बैंकिङ ९.८२, व्यापार ४.८२, होटल २४.८८, विकास बैंक २.७३, निर्जीवन बीमा २०५.३१, उत्पादन ५.३७, अन्य ६.९, लघुवित्त १८.०२ र जीवन बीमा २०१.८२ बिन्दुले घटेको छ ।
घटेको बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता रु एक हजार २७१ मूल्यमा रु १६ करोड सात हजार २५८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु नौ करोड ३१ लाख सात हजार १९८ मा कारोवार भई दोस्रो स्थानमा रह्यो ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु तीन करोड ७९ लाख ११ हजार ४८९, कुमारी बैंक रु तीन करोड ७६ लाख ४८ हजार १७४, सानिमा माई हाइड्रोपावर रु तीन करोड ४० लाख एक हजार १६६, छिमेक लघुवित्त वित्तीय संस्था रु दुई करोड ९५ लाख सात हजार १४९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।