भारतमा ६ देखि ८ हप्ता बन्दाबन्दी गर्न सुझाव
शहरपछि गाउँगाउँमा कोभिड–१९ को संक्रमण फैलिन थालेपछि ६ देखि ८ हप्ता बन्दाबन्दी गर्न भारतको प्रमुख स्वास्थ्य निकायले सुझाव दिएको छ।
भारतको प्रमुख स्वास्थ्य निकाय ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का प्रमुख डा. बलराम भार्गवले विभिन्न जिल्लामा कोरोना संक्रमण दर उच्च देखिएकाले बन्दाबन्दी गर्नुपर्ने बताएका हुन्। “कोरोना संक्रमणको चेन ब्रेक गर्न ६ देखि ८ हप्ता बन्दाबन्दी गर्नुपर्छ,” डा. भार्गवले भनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, सरकारी स्वास्थ्य निकाय आईसीएमआरका प्रमुख भार्गव पहिलो पटक यसरी सार्वजनिक रूपमा बोलेका हुन्।
अहिले भारतमा दैनिक संक्रमण दर संसारकै सबैभन्दा बढी छ। पछिल्लो २४ घण्टामा मात्रै तीन लाख ६२ हजार चार सय ६ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, कोरोनाबाट थप चार हजार एक सय २६ जनाको मृत्यु भएको छ।
भारतका सात सय १८ जिल्लामै संक्रमण देखिएको छ। जसमध्ये तीनचौथाइ जिल्लामा संक्रमण दर उच्च देखिएको छ। ती जिल्लामा १० प्रतिशतभन्दा बढी संक्रमण दर रहेको डा. भार्गवले जनाएका छन्। गाउँमा संक्रमण दर उच्च देखिएकाले ६ देखि ८ हप्ता बन्दाबन्दी गर्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी रूपमा बन्दाबन्दी गर्न मानिरहेका छैनन्। अर्थतन्त्र तहसनहस हुने जनाउँदै उनले बन्दाबन्दी गर्न दिएका छैनन्। जसले गर्दा कोरोना संक्रमण बढ्दै गएको छ।
अर्थतन्त्रलाई देखाएर सरकारले बन्दाबन्दी गर्न आनाकानी गरिरहेको बेला सरकारी स्वास्थ्य निकायका प्रमुखले देशव्यापी बन्दाबन्दी गर्नुपर्ने बताएका हुन्। “संक्रमण दर उच्च रहेका जिल्लामा पूर्ण बन्दाबन्दी गुर्नपर्छ। संक्रमण दर १० बाट ५ प्रतिशतमा झरेपछि फेरि खोल्न सकिन्छ,” डा. भार्गवले भनेका छन्, “तर, ६ देखि ८ हप्तासम्म पूर्ण बन्दाबन्दी नगर्दासम्म संक्रमण दर घट्न सक्दैन।”
आईसीएमआर प्रमुख डा. भार्गवले द हिन्दीसँग दिल्लीको उदाहरण दिँदै बन्दाबन्दी किन आवश्यक छ भन्ने प्रष्ट्याएका छन्। दिल्लीमा संक्रमण दर ३५ प्रतिशतसम्म पुगेको र बन्दाबन्दीपछि अहिले घटेर १७ प्रतिशतमा झरेको बताएका छन्। उनले भनेका छन, “यदि भोलि दिल्लाको बन्दाबन्दी हटाउने हो भने फेरि उही हालत हुन्छ।”