कोरोना संक्रमितका लागि रेम्डेसिभिर जुटाउन सास्ती, बिरामीका आफन्त भन्छन्– अस्पतालमै उपलब्ध होस्
कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको एन्टीभाइरल औषधि रेम्डेसिभिर सम्बन्धित अस्पतालमा वितरण गरेको सरकारले दाबी गरे पनि बिरामीका आफन्तले सहज रूपमा पाउन सकेका छैनन्।
ललितपुरको जावलाखेलका एक पुरुषलाई १० वैशाखमा कोरोना संक्रमण पुष्टि भयो। घरमा आराम गरिरहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गर्यो। चिकित्सकले रेम्डेसिभिर औषधिको ६ भायल ल्याउन आफन्तको हातमा कागज थमाए।
स्वास्थ्य मन्त्रालयको २९ वैशाखको तथ्यांक अनुसार, देशभरका अस्पतालमा एक हजार २४१ जना आईसीयूमा उपचाररत छन्, तीमध्ये २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा उपचाररत गम्भीर बिरामीहरूका लागि चिकित्सकले रेम्डेसिभिर सिफारिश गर्छन्। तर, त्यो औषधि हत्तपत्त नपाइने बिरामीका आफन्त तथा परिवारजन बताउँछन्।
उनका आफन्त रेम्डेसिभिर खोज्न उपत्यकाका विभिन्न औषधि पसल चहारे, तर कतै पाएनन्। कँडेल थरका उनका आफन्त भन्छन्, “चिनजानका सबैलाई फोन गरेँ। चिनजानका आधारमा बल्लतल्ल दुई डोज मात्र पाएँ। औषधि खोज्दा पाएको सास्ती भनिसाध्य छैन।”
देशमा कोरोनाभाइरसका संक्रमित थपिने क्रम दिनहुँ बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार (२९ वैशाख) साँझको तथ्यांक अनुसार, सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरू भरिएका छन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार, देशभरका अस्पतालमा एक हजार २४१ जना आईसीयूमा उपचाररत छन्, तीमध्ये २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आईसीयू र भेन्टिलेटरमा उपचाररत गम्भीर बिरामीहरूका लागि चिकित्सकले रेम्डेसिभिर सिफारिश गर्छन्। तर, त्यो औषधि हत्तपत्त नपाइने बिरामीका आफन्त तथा परिवारजन बताउँछन्।
बुटवलका ताराप्रसाद घिमिरेका आफन्तले पनि रेम्डेसिभिर खोज्दा त्यस्तै सास्ती खेपे। घिमिरे कोरोना संक्रमण भएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचाररत छन्। चिकित्सकले उनका लागि रेम्डेसिभिर खोज्न आफन्तलाई भने। आफन्तले विभिन्न ठाउँमा धाएर बल्लतल्ल औषधि पाए।
भक्तपुरकी एलिना दुलालका बुवालाई कोरोना संक्रमण भयो। अस्पतालमा भर्ना भएका उनको उपचारका लागि पनि चिकित्सकले रेम्डेसिभिर ल्याउन भने। एलिनाले आफ्नो बुवालाई बचाउन रेम्डेसिभिर उपलब्ध गराइदिन फेसबूक मार्फत सार्वजनिक आग्रह गरिन्। फेसबूकमा साथी रहेका एकजनाले आफन्तको उपचारका लागि रेम्डेसिभिर किनेका रहेछन्। उपचारका क्रममा आफन्तको मृत्यु भएपछि बचेको दुई डोज उनले एलिनालाई दिए। बाँकी चार डोज विभिन्न ठाउँमा हारगुहार गर्दा बल्लतल्ल पाइयो।
के हो रेम्डेसिभिर?
रेम्डेसिभिर एन्टीभाइरल औषधि हो। यो कोभिड-१९ विरुद्धको औषधि होइन। कोभिड–१९ को लागि हालसम्म कुनै पनि औषधि प्रामाणिक रूपमा सिफारिश भएको छैन। अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थ (एनआईएच) का अनुसार, रेम्डेसिभिर एक दशकअघि हेपाटाइटिस सी र अर्को एक खोकीको भाइरसविरुद्ध बनाइएको हो। तर, यी दुवै भाइरसविरुद्ध यो प्रभावकारी देखिएन। अहिले कोरोनाभाइरसविरुद्ध प्रभावकारी भएको भन्दै विश्वव्यापी रूपमै यसको प्रयोग भइरहेको छ।
गत वर्ष गरिएको एक अध्ययनमा रेम्डेसिभिर दिइएका कोरोनाका सिकिस्त बिरामी छिटो निको भएको पाइएको थियो। अमेरिकाको नियमनकारी निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले त्यसबेला यसलाई प्रयोग गर्ने अनुमति दिएको थियो। तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई मान्यता दिएको छैन। डब्लूएचओका अनुसार, रेम्डेसिभिरले कोभिड–१९ संक्रमितको अवस्थामा कुनै सुधार ल्याउँछ भन्ने प्रमाणित भएको छैन।
औषधिमा बिचौलियाको खेलो
औषधि व्यवस्था विभागका अनुसार, पछिल्लो एक सातामा बाङ्लादेशबाट ७ हजार भायल रेम्डेसिभिर नेपाल भित्रिएको छ। २० वैशाखमा ३ हजार र २४ वैशाखमा ४ हजार आएको हो। यस्तै, बाङ्लादेशबाटै २८ वैशाखमा १० हजार भायल अनुदानमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तीन हजारमध्ये ५३ वटा अस्पतालमा २ हजार ६०९ वटा रेम्डेसिभिर वितरण गरिएको थियो। अवस्था कस्तो भयो भने, वितरण गरिएको भनिएका अस्पतालका फार्मेसीबाट बिरामीका आफन्तले औषधि पाएनन्।
“स्वास्थ्य सेवा विभागका पदाधिकारीले टिचिङ अस्पतालको फार्मेसीमा औषधि पुग्यो भनेपछि त्यहाँ गएँ, फार्मेसीको मान्छेले पहिले औषधि आएको छैन भन्यो, एक घण्टापछि जाँदा आएर पनि सकिसक्यो भन्यो,” त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक बिरामीका आफन्त भन्छन्।
अस्पतालको फार्मेसीमा वितरण हुने औषधि बिचौलियाको हातमा पर्ने र उनीहरूले महँगो मूल्यमा बिक्री गर्ने उनको शंका छ। उनको शंकाको आधार के भने, उनले बिचौलिया मार्फत नै औषधिको जोहो गरे। औषधि लिन बिचौलियाले एकान्त ठाउँमा टाढा–टाढासम्म बोलाउने गरेको उनी बताउँछन्।
महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार, पक्राउ परेकाको बयानका आधारमा २५ देखि ३० हजारसम्म पर्ने ६ भायल रेम्डेसिभिर अहिले बजारमा १ लाख ५० हजारसम्म बिक्री भइरहेको छ।
एक भायलको रू. ४ हजार ५०० पर्ने रेम्डेसिभिर चाहिए ३० हजारमा मिलाइदिन्छु भन्नेहरू भेटिएको भक्तपुरकी एलिना दुलाल बताउँछिन्। “एक भायलको ३० हजारमा मिलाइदिन्छु भन्नेहरू पनि आए,” उनी भन्छिन्, “औषधिको कालोबजारी भइरहेको यसैबाट पुष्टि हुन्छ।”
गत बिहीबार (२४ वैशाख) मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले रेम्डेसिभिरको कालोबजारी गरेको आरोपमा गोरखाका रसुल मियाँलाई काठमाडौं महाराजगन्जबाट पक्राउ गरेको थियो। रसुलले ६ भाइल रेम्डेसिभिर रू.१ लाख २५ हजारमा बेच्न खोजेका थिए। रसुलले आफूले एक फार्मेसीबाट रेम्डेसिभिर किनेको बताएका थिए।
महाशाखाका एसपी कृष्ण पंगेनीका अनुसार, पक्राउ परेकाको बयानका आधारमा २५ देखि ३० हजारसम्म पर्ने ६ भायल रेम्डेसिभिर अहिले बजारमा १ लाख ५० हजारसम्म बिक्री भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा रेम्डेसिभिर ल्याउन औषधि व्यवस्था विभागले गत वर्ष यती फर्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई अनुमति दिइएको थियो।
भारतमा संक्रमण बढेसँगै अहिले भारतबाट रेम्डेसिभिर आउन बन्द छ। आयातकर्ताले बाङ्लादेशबाट औषधि ल्याउने गरेका छन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमन सिंह भने बिरामीको संख्या अनुसार औषधि व्यवस्था विभागले कोटा तोकेर औषधि पठाएको दाबी गर्छन्। “कुनै बेला पठाएको कोटाले पनि नपुगेको हुनसक्छ, अर्को चाहिँ कस्ता बिरामीलाई दिने/नदिने भन्दा पनि सबैलाई दिने गरेकाले समस्या भइरहेको छ,” उनी भन्छन्, “हामीले माग अनुसार आयात गर्न भनेका छौं र अनुगमन पनि बढाएका छौं।”
यसैबीच, २८ वैशाखमा ललितपुरको कुपन्डोलस्थित आधिकारिक आयातकर्ता आयन हेल्थकेयरले २२ हजार भायल रेम्डेसिभिर औषधि नेपालमा भित्र्याएको छ। कोभिड–१९ उपचार गर्ने क्रममा अस्पतालहरूबाट चिकित्सकहरूले रेम्डेसिभिर सिफारिश गरेमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनमा आयन मार्फत एक भायलको रू.४ हजार नौ सय दरले खरीद गर्न सकिने स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना जारी गरी जानकारी दिएको छ।
संक्रमितका आफन्त भन्छन्– अस्पतालमै उपलब्ध होस्
बिरामीका आफन्तहरू रेम्डेसिभिर औषधि अस्पतालमै उपलब्ध गराउनुपर्ने बताउँछन्। ताराप्रसाद घिमिरेका आफन्त भवीन्द्र घिमिरे बिरामीको उपचार हुने अस्पतालले नै औषधि दिने व्यवस्था मिलाउनुपर्ने बताउँछन्।
“बिरामीका आफन्तले औषधि खोज्न लगाउँदा कालोबजारी र बिचौलियाका कारण सास्ती पाइयो,” उनी भन्छन्, “बरु अस्पतालले नै सोझै प्रयोग गर्ने व्यवस्था मिलाए लागेको रकम हामी भुक्तानी गरिहाल्थ्यौं।”
भक्तपुरकी एलिना दुलाल पनि लागेको शुल्क लिएर सम्बन्धित अस्पतालले नै औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गर्छिन्।
“कोटा अनुसार औषधि आउने फार्मेसीबाट पनि सर्वसाधारणले पाउँदैनन्, सम्बन्धित अस्पताललाई नै दिएर बिरामीलाई प्रयोग गरिने व्यवस्था भए राम्रो हुन्थ्यो,” उनी भन्छिन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंह भने अस्पतालबाट बिरामीले सोझै पाउने गरी व्यवस्था गरिएको दाबी गर्छन्।
हालै स्वास्थ्य मन्त्रालयले रेम्डेसिभिर औषधि कोरोना संक्रमण भई उपचार गराइरहेका विपन्न नागरिकलाई पनि उपलब्ध गराउने निर्णय गरेको छ। २८ वैशाखमा बाङ्लादेशबाट १० हजार भायल रेम्डेसिभिर सरकारले अनुदानमा पाएको छ। यो औषधि कोरोना संक्रमित भई सरकारी अस्पतालमा उपचाररत गरीब तथा विपन्नलाई वितरण गर्ने गरी व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
२९ वैशाखको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “अस्पतालमा संक्रमितको चापको आधारमा सम्बन्धित अस्पतालको सामाजिक सेवा इकाइको सिफारिशको आधारमा स्वास्थ्य सेवा विभागले गरीब तथा विपन्न नागरिकलाई निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको छ। रेम्डेसिभिरमा गरीब बिरामीको पहुँच होस् भनेर यो निर्णय गरिएको हो।”