एक महीनामै एक लाख नाघे सक्रिय संक्रमित
कोभिड-१९ का सक्रिय संक्रमितको संख्या एक महीनामै एक लाख नाघेको छ। १ वैशाखमा चार हजार थिए भने आज एक लाख कटेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको छ। जब कि १ वैशाखमा सक्रिय संक्रमितको संख्या चार हजार ५६ रहेको थियो।
उनीहरूमध्ये ९४ हजार तीन सय ४३ जना होम आइसोलेसनमै छन्। त्यस्तै, सात हजार दुई सय ९१ जना मात्रै सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचाररत छन्। उनीहरूमध्ये पनि एक हजार दुई सय ४१ जना आईसीयूमा र दुई सय ८५ जना भेन्टिलेटरमा छन्। सबैभन्दा बढी बागमती प्रदेशमा पाँच सय दुई जनालाई आईसीयूमा र एक सय ६१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ मा नौ सय चार, प्रदेश २ मा दुई सय ३७ र बागमती प्रदेशमा चार हजार नौ सय ९५ रहेका छन्। त्यस्तै, गण्डकी प्रदेशमा तीन सय ५९, लुम्बिनीमा एक हजार ६ सय १०, कर्णालीमा तीन सय १८ र सुदूरपश्चिममा आठ सय ६० संक्रमित थपिएका छन्।
अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी काठमाडौंमा तीन हजार दुई सय ५० संक्रमित थपिएका छन्। त्यस्तै, ललितपुरमा चार सय ४८ र भक्तपुरमा दुई सय २६ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाबाट अहिलेसम्म चार हजार दुई सय ५२ जनाले ज्यान गुमाएका छन्। आज मात्रै एक सय ६८ जनाको ज्यान गएको पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार हजार चार सय ४४ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या तीन लाख १६ हजार चार सय ६३ पुगेको छ।