किन चाहिन्छ वनस्पतिको चित्र?
सुन्दा आश्चर्य लाग्नसक्छ। तस्वीरभन्दा चित्रबाटै वनस्पतिको पहिचान प्रष्टसँग गर्न सकिन्छ, वैज्ञानिक अनुसन्धानमा पनि चित्रलाई नै बढी महत्त्व दिइन्छ। तर, हामीकहाँ वनस्पतिका चित्र बनाउनेहरू नै दुर्लभ छन्।
सन् १८०२ मा बेलायतको इस्ट इन्डिया कम्पनीको कारिन्दा भएर फ्रान्सिस् ब्यूक्यानन् हामिल्टन काठमाडौं आएका थिए। उनी १४ महीना नेपाल बस्दा वनस्पतिका ११ सय प्रजातिको नमूना संकलन गरे, एक सय जति वनस्पति तथा जन्तुका चित्र तयार गर्न लगाए।
उबेला क्यामेराको आविष्कार भइसकेको थिएन। त्यसैले चाँडै कुहिने प्रकृतिका वनस्पतिको नमूना चित्र बनाउन प्राथमिकता दिइन्थ्यो। लिन्नियस सोसाइटी लन्डनको विद्युतीय सञ्जालमा राखिएको एक सामग्री अनुसार, हामिल्टनले त्यो बेला बंगाली चित्रकार हलुदारलाई चित्र कोर्न लगाएका थिए।
हलुदार सन् १७९७ देखि नै हामिल्टनको साथमा थिए। हामिल्टन लिखित एन एकाउन्ट अफ द फिसेस फाउन्ड इन द रिभर गंगेज एन्ड इट्स ब्रान्चेज’ (सन् १८२२) पुस्तकमा हलुदारबाट बनाइएका चित्रहरू समावेश छन्। वेस्टर्नघाटमा पाइने सिद्रा जस्तो आकृति भएको एक माछा जातिलाई हलुदारीया भनिन्छ। हामिल्टनले नै हलुदारको कामको सम्मानमा उक्त माछा जातिको नामकरण हलुदारीया भनी गरिदिएका हुन्।
हलुदारबाट बनाइएका चित्रकै आधारमा हामिल्टनको एक सचित्र लेख सन् १८०५ मा बेलायतको इक्जोटिक बोटनी जर्नलमा प्रकाशन भएको थियो। ‘फिगर्स एन्ड डिस्क्रिप्सन अफ नेपाल प्लान्ट्स’ शीर्षकको उक्त लेख नै नेपालको वनस्पति सम्बन्धी पहिलो वैज्ञानिक लेख हो। लेखमा वनस्पतिको रंगीन चित्र राखिएको छ।
२०६८ सालमा रोयल बोटानिकल गार्डेन इडिनबर्घ, स्कटल्यान्डमा कार्यरत वनस्पतिविद् मार्क एफ. वाटसनको अगुवाइमा काठमाडौं बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनै हलुदारबाट बनाएका चित्रहरू प्रदर्शित गरिएका थिए।
यही ग्यालरीमा गत ६–२६ अप्रिलमा नीरा जोशी प्रधानले आफ्नो आठौं एकल वनस्पति चित्रकला प्रदर्शनी ‘द ब्यूटी अफ नेपाल्स् फ्लोरा’ गरिन्। प्रधान फ्लोरा फ्रम काठमाडौं भ्याली (१९९९) पुस्तककी लेखिका समेत हुन्।
वनस्पतिका चित्र
वनस्पति विज्ञानमा नयाँ पत्ता लगाइएको प्रजातिको विवरण उल्लेख गर्दा रंगीन तस्वीरभन्दा चित्रलाई नै प्राथमिकता दिइन्छ। यसो हुनुको कारण, चित्रमा सम्बन्धित प्रजाति पहिचान गर्न आवश्यक बोटसहित पात, फल, फूल, फूलको बाह्य दल (सेपल), पुष्प दल (पेटल), स्त्रीकेशर (पोथी प्रजनन अंग), पुंकेशर (भाले प्रजनन अंग) प्रष्ट देखिने गरी चित्र बनाइएको हुन्छ। चित्रमा पोथी प्रजनन अंगको भित्री भाग समेत उतारिएको हुन्छ।
वनस्पति पहिचानका निम्ति माथि भनिएका सबै विवरण उतारिएको चित्रलाई वनस्पति चित्रण (बोटानिकल इलुस्ट्रेसन) भनिन्छ। जब कि तस्वीरमा समेत यी सबै कुरा देखाउन सम्भव हुँदैन। त्यसैले पनि बोटानिकल इलुस्ट्रेसन वनस्पतिको विभिन्न भाग चित्र मार्फत स्पष्ट पार्ने कला हो। यसैलाई वनस्पति कला (बोटानिकल आर्ट) भनिन्छ।
वनस्पति कलाको शुरूआत इसापूर्व नै भएको थियो। उसबेला औषधिजन्य वनस्पति पहिचानका निम्ति ग्रीक भाषामा यस्ता चित्र बनाइन्थे। यसको व्यापक प्रयोग चाहिँ स्वीडेनका वनस्पति तथा जन्तु वैज्ञानिक कार्ल लिन्नियसले १८औं शताब्दीमा गरे। त्यसपछि प्रकाशन भएका वनस्पतिका पुस्तक तथा जर्नलमा यस्ता इलुस्ट्रेसनले प्राथमिकता पाए।
नेपालको वनस्पति अध्ययन–अनुसन्धान गर्न अर्का वनस्पतिविद् नाथानियल वालिच पनि सन् १८२०–२१ ताका काठमाडौं आएका थिए। नेपालको वनस्पति खोजमा महत्त्वपूर्ण योगदान दिएका उनले आफ्ना दुई पुस्तक टेन्टामेन फ्लोरा नेपालेन्सिस्, भाग १–२ (१८२४–२६) र प्लान्टा एसियाटिक रारिओर्सभाग १–३, (१८३०–३२) मा प्रशस्त वनस्पतिका इलुस्ट्रेसन प्रयोग गरेका छन्। उनको पहिलो पुस्तकमा वनस्पतिका श्यामश्वेत र दोस्रोमा रंगीन चित्र समाविष्ट छन्। वालिचले विष्णुप्रसाद र गोराचन्दलाई चित्र बनाउन लगाएको पाइन्छ।
चित्र भर्सेस तस्वीर
वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएको लेख प्रकाशन गर्दा वनस्पतिको विवरणसहित इलुस्ट्रेसन पनि अनिवार्य थियो। तर, पछिल्लो समय इलुस्ट्रेसनको ठाउँ तस्वीरले लिन थालेको छ। यसो हुनुमा इलुस्ट्रेसनका लागि लाग्ने समय र वनस्पतिविद्मा क्षमताको अभाव कारक मानिएको छ। इलुस्ट्रेसन र तस्वीर दुवै राख्नेहरू पनि नभएका भने होइनन्।
रोयल बोटानिकल गार्डेन इडिनबर्घ, यूकेका वनस्पतिविद् भास्कर अधिकारी वनस्पतिको राम्रो इलुस्ट्रेसन बनाउन सक्ने वनस्पतिविद्मा पर्छन्। अधिकारी र अरूहरूको ‘एन् एकाउन्ट अफ थुन्बर्जिया इन नेपाल, विथ अ डिस्क्रिप्सन अफ द न्यू स्पेसिस् थुन्बर्जिया नेपालेन्सेस (सन् २०१३)’ लेखमा इलुस्ट्रेसन र तस्वीर दुवैको प्रयोग गरिएको छ।
यस्तै, भक्त रास्कोटी र रिता आलेको ‘फाइटोट्याक्सा’ नामक जर्नलमा प्रकाशित ‘न्यू स्पेसिस अफ अर्किड्स एन्ड नोट्स अन अर्किडेसी अफ नेपाल (सन २०१९)’ लेखमा पनि इलुस्ट्रेसन र तस्वीर दुवै छन्।
वनस्पतिको इलुस्ट्रेसनमा खिचिने रेखांकन जस्तै तस्वीर पनि वनस्पति संकलन गरेकै बेला खिच्न उपयुक्त हुन्छ। यसो गर्नाले फूल तथा पातको रङ प्राकृतिक अवस्थामै हुन्छ। तर, इलुस्ट्रेसनका निम्ति समय निकै लाग्ने भएकाले अधिकारी र माइकल मोइलर लिखित ‘डिडाइमोकार्पस नेपालेन्सिस, अ न्यू स्पेसिस् फ्रम इस्टर्न नेपाल (सन् २०२०)’ लेखमा बोटानिकल इलुस्ट्रेसन क्लेयर ब्याङ्सले गरेकी छिन्।
अब चर्चा गरौं, नेपालका वनस्पति सम्बन्धि लेखिएका पुस्तकहरु बारे । फ्लोरा अफ नेपाल–३ ( २०११) यो रोयल बोटानिकल गार्डेन इडिनबर्घ, स्कटल्यान्ड, यूकेले प्रकाशन गरेको पुस्तक हो। मार्क एफ. वाटसन प्रमुख सम्पादक रहेको यो पुस्तकमा नेपाल, बेलायत, अमेरिका, जापान, स्वीडेन, आयरल्यान्ड र अस्ट्रेलियाका लेखकहरूले नेपालमा पाइने फूल फुल्ने वनस्पतिबारे विभिन्न लेख लेखेका छन्।
पुस्तकमा २१ वनस्पति परिवारका १२३ जाति अन्तर्गत ६०० प्रजाति, १९ उपप्रजाति, ३१ भेराइटी र चार फर्माका विवरण समावेश छन्। २० वनस्पति परिवार अन्तर्गत जम्मा २१४ प्रजाति, एक उप–प्रजाति र ६ भेराइटीका इलुस्ट्रेसन छन्। १६ प्रजातिका इलुस्ट्रेसन पुस्तकमा भास्कर अधिकारीले बनाएका छन्।
यसैगरी, वनस्पति इलुस्ट्रेटर नीरा जोशी प्रधानले बनाएका चार प्रजातिका इलुस्ट्रेसन पनि पुस्तकमा राखिएका छन्। प्रधानले नै बनाएको अर्को रंगीन इलुस्ट्रेसन पुस्तकको भित्रपट्टिको पृष्ठमा राखिएको छ (हेर्नुहोस् तस्वीर: ३)। अन्य इलुस्ट्रेसन सबै विदेशीले बनाएका हुन् ।
वनस्पति विभागले सन् १९८६ मा फ्लोरा अफ काठमाडाै भ्याली पुस्तक प्रकाशन गरेको थियो। उक्त पुस्तकमा १,३१२ प्रजाति वनस्पतिको नालीबेली दिइएको छ। वनस्पति पहिचान निम्ति प्रकाशित यो अहिलेसम्मकै महत्त्वपूर्ण पुस्तक मानिन्छ। विभागले नै सन् १९६९ मा प्रकाशन गरेको फ्लोरा फुल्चोकी एन्ड गोदावरी पनि अर्को महत्त्वपूर्ण पुुस्तक हो। तर, यी दुवै पुस्तकमा न वनस्पतिको इलुस्ट्रेसन छ, न तस्वीर।
वनस्पति विभागले सन् २०१७ मा अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल–१ र फ्लावरिङ प्लान्ट्स अफ नेपाल: एन् इन्ट्रोडक्सन’ पुस्तकहरू प्रकाशन गरेको छ। यी पुस्तकहरूमा वनस्पति पहिचान सम्बन्धी विवरण नभएका हुनाले इलुस्ट्रेसन, तस्वीर नराखे पनि हुन्थ्यो। तर, दुवैमा वनस्पतिका प्रशस्त तस्वीरलाई स्थान दिइएको छ।
वनस्पतिको पहिचानबारे लेखिएका पुस्तक तथा जर्नलका लेखमा तस्वीर प्रयोग गर्न उपयुक्त होइन भन्ने मान्यता पनि छ। यसको वकालत रोयल बोटनिक गार्डेन्स, कियू, लन्डनले प्रकाशन गर्दै आएको कर्टिस बोटानिकल म्यागजिनले गर्दै आएको छ। सन् १७८७ मा शुरू भएको यो म्यागजिनले वनस्पतिको रंगीन इलुस्ट्रेसनलाई मात्र स्थान दिँदै आएको छ।
दुुर्लभ नीराहरू !
वनस्पति विज्ञान अन्तर्गत १०+२, स्नातक र स्नातकोत्तर तहका प्रयोगात्मक कक्षामा विद्यार्थीले वनस्पतिको चित्र बनाउनुपर्ने हुन्छ। तर, यस्तो चित्र कसरी बनाउनुपर्छ भन्ने चाहिँ पाठ्यक्रममा छैन। वनस्पतिको इलुस्ट्रेसन प्राकृतिक नमूना नै हेरी बनाउन प्रोत्साहित गरिनुपर्नेमा पुस्तकमा जस्तो छ, त्यस्तै बनाउन लगाउने प्रचलन छ।
तर, स्नातकोत्तर तहको थर्ड सेमेस्टर अन्तर्गत वनस्पति पहिचान पढिने खण्ड एप्लाईड सिस्टेम्याटिक्सको पाठ्यक्रममा ड्रइङ एन्ड इलुस्ट्रेसन, बेसिक फोटोग्राफी टेक्निक्समा चार घन्टा पढाउनुपर्ने भन्ने लेखिएको छ। यो पनि पाठ्यक्रममा केही वर्षअघि मात्र राखिएको हो। अब चार घण्टामा दुई घण्टाको इलुस्ट्रेसन कक्षामा विद्यार्थीले के कति जान्न सक्लान्, यसको लेखाजोखा हुनैपर्ने देखिन्छ।
वनस्पति विभाग तथा केन्द्रीय वनस्पति विभाग, कीर्तिपुरले सन् २०१५ मा प्रकाशन गरेको ट्याक्सोनोमिक टूल्स एन्ड फ्लोरा राइटिङ पुस्तकमा ‘बोटानिकल इलुस्ट्रेसन’ शीर्षकको एक लेख छ, जसलाई नीरा जोशी प्रधान र लोकेश रत्न शाक्यले लेखेका हुन्। यो लेखमा वनस्पतिका इलुस्ट्रेसन सम्बन्धी मनग्य जानकारी लिन सकिन्छ।
सन् २०२० सम्म फ्लोरा अफ नेपाल का १० वटै भाग प्रकाशन सिध्याउने गरी रोयल बोटानिकल गार्डेन इडिन्बर्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबीच सहमति भएको थियो। तर, अहिलेसम्म भाग ३ मात्र प्रकाशित छ। अब त्यो परियोजना कसरी अघि बढ्छ, निश्चित छैन। काम शुरू भइहाले पनि नेपाली वनस्पति इलुस्ट्रेटरको भने कमी नै छ। यसका निम्ति विदेशीकै भर पर्नुपर्छ।
वनस्पति इलुस्ट्रेसन वानस्पतिक विवरण स्पष्ट पार्नका निम्ति गरिने कार्य मात्र होइन, जीविकोपार्जनको कर्म पनि हो। यसका रंगीन चित्रकला विदेशमा महँगो मूल्यमा बिक्री हुन्छन्। तर, नेपालमा व्यावसायिक रूपमा यस्तो चित्रकलामा नीरा लगायत औंलामा गन्न सकिने चित्रकारहरू मात्र सक्रिय छन्।
वनस्पति इलुस्ट्रेसन कलामा कला मात्र होइन, विज्ञान पनि गाँसिएको छ। वनस्पति इलुस्ट्रेसन एक हिसाबले हाम्रा अमूर्त सम्पदा हुन्, यसलाई जोगाउँदै, बनाउँदै लैजानुपर्छ। त्यसैले पनि सरकार, विश्वविद्यालय एवं अन्य सम्बन्धित निकायले वनस्पतिका इलुस्ट्रेटर जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ।