चिकित्सकको प्रिस्क्रिप्सनमा कुपन्डोलबाट रेम्डेसिभिर किन्न पाइने
कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग भइरहेको रेम्डेसिभिर चिकित्सकको सिफारिशमा ललितपुरको कुपन्डोलस्थित आयन हेल्थकेयरबाट खरीद गर्न सकिने भएको छ।
नेपालमा आयन हेल्थकेयरले रेम्डेसिभिर आयात गर्दै आएको छ। त्यहींबाट सहज रूपमा खरीद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन्।
अस्पताल तथा कुनै पनि व्यक्तिले आवश्यक परेमा रेम्डेसिभिर खरीद गर्नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचना जारी गरी चिकित्सकको प्रिस्क्रिप्सनको आधारमा आफ्नो परिचय खुल्ने कागजात देखाएर खरीद गर्न पाइने जानकारी दिएको छ।
मन्त्रालयले रेम्डेसिभिरको मूल्य पनि तोकेको छ। एउटा भाइलको मूल्य रू.चार हजार नौ सय रहेको छ। यसका लागि सम्पर्क व्यक्तिहरूको फोन नम्बर पनि दिएको छ।