कांग्रेसलाई समर्थन नगर्नुको रहस्य खोल्दै जनमोर्चाका सांसदले भने- बरु राजीनामा दिन्छु
नेपाली कांग्रेसलाई समर्थन नगरेका जनमोर्चाका सांसद कृष्ण थापा भन्छन्- कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएकाे छ।
२६ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले दलहरूलाई तीन दिनभित्र बहुमतको सरकार बनाउने दाबी पेश गर्न दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ। गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा (राजमो)का संसदीय दलका नेता कृष्ण थापाले पार्टीको निर्देशन विपरीत कांग्रेसलाई समर्थन गर्न नमानेपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रियाले गति लिन सकेको छैन।
६० सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का २७ सांसद छन्। स्वतन्त्र सांसद दीपक मनाङ्गेको समर्थन पाउँदा एमालेको पक्षमा २८ मत हुन्छ। विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सभामुखबाहेक २८ मत छ।
तीन सांसद रहेको राजमो निर्णायक छ। तर, राजमोका संसदीय दलका नेता थापाले पार्टीले मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गर्ने गरी गरेको निर्णय मानेका छैनन्। उनले नमानेका कारण विपक्षीले बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा सरकार गठनको दाबी गर्न सकेका छैनन्।
आज ४ बजेसम्म प्रदेश प्रमुखसँग त्यसरी दाबी गर्न नगएमा प्रदेश प्रमुखले प्रदेश सभामा ठूलो दलको नेताका रूपमा पृथ्वीसुब्बा गुरूङलाई नै मुख्यमन्त्री नियुक्त गर्नेछिन्। त्यसलाई रोक्नका लागि राजमोका सांसद थापालाई कारबाही गर्ने प्रक्रिया अगडि बढाइएको छ। त्यही प्रयोजनका लागि थापालाई पार्टीले एक घण्टाको समय दिएर स्पष्टीकरण सोधेको छ।
स्पष्टीकरण चित्तबुझ्दो नभएमा उनलाई सांसद पद नरहने गरी कारबाही गर्ने राजमोको तयारी छ। थापा कारबाहीमा परे भने प्रदेश सभामा कायम सदस्य ५९ हुनेछ। राजमोका दुई सांसदले कांग्रेस उम्मेदवारलाई समर्थन गरेमा बहुमत ३० सदस्यको हस्ताक्षरले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था हुनेछ। यसै सन्दर्भमा थापासँग हिमालखबरले गरेको कुराकानी :
पार्टीले तपाईंलाई स्पष्टीकरणमा के सोधेको छ?
सामाजिक सञ्जाल र अनलाइनहरूमा मैले पनि स्पष्टीकरण सोधियो भन्ने सुनें। तर, मलाई केही सोधिएको छैन। जानकारी पनि छैन।
अहिले स्पष्टीकरण सोध्नुको अर्थ तपाईंलाई कारबाही गर्ने प्रक्रिया अनुरूप नै हुनसक्छ, पार्टीको निर्णय मान्नुभन्दा कारबाही भोग्न तयार हुनुभएको हो?
कांग्रेसका विगतका सरकार हेरेका आधारमा पनि भन्न सकिन्छ, अब बन्ने सरकार कस्तो बन्छ भनेर। त्यसले सुशासन दिन सक्दैन। जनजीविकाका पक्षमा कुनै काम गर्न सक्दैन। त्यसैले त्यस्तो सरकारलाई समर्थन किन गर्नु?
कारबाही भयो भने तपाईंको असहमति हुँदाहुँदै पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने नै देखिन्छ नि?
मैले एक्लै पहाड थाम्न त सक्दिनँ। आफ्नो कर्तव्य पूरा गरें। हिजो निर्वाचनका बेला पनि कांग्रेसलाई जे भनेर हराउन खोजियो। त्यो पार्टीसँग जे कारणले हाम्रा नीति तथा कार्यक्रम मिल्दैनन् त्यो अवस्था अहिले पनि छ। त्यसैले अहिले समर्थन गर्न सकिँदैन।
बाग्लुङमा कांग्रेस र राजमोबीच धेरै पहिलेदेखि नै समस्या छ, समर्थन गर्न नमान्नुको कारण त्यो पनि हो?
हाम्रा तर्फबाट कुनै समस्या छैनन्। कांग्रेसले हाम्रा नेता-कार्यकर्तालाई कुटपिट गर्ने, ज्यान मार्ने, अंगभंग पार्ने अनि उल्टै झुटा मुद्दा लगाएर फसाउने गर्दै आएको छ। हाम्रा थुप्रै साथीभाइ अझै पनि पीडित हुनुहुन्छ। यो सबै बिर्सेर अहिले उनीहरूको सरकारलाई समर्थन गर्न सकिँदैन।
तपाईंलाई पार्टी अध्यक्ष चित्रबहादुर केसीले पैसामा बिकेको आरोप लगाउनुभएको छ नि?
त्यत्रो अनुभवी नेताले यस्तो झुटो आरोप लगाउन मिल्ने भएकै कारण त लगाउनुभएको होला। प्रमाणबिना जे पनि बोल्न मिल्ने भएकै कारण त बोल्नुभएको होला। होइन भने, मैले कहिले, कोसँग कति पैसा लिएको रहेछु त्यो पनि पत्रकारहरूले एक पटक उहाँलाई सोधिदिनुहोला। उहाँसँग प्रमाण रहेछ भने पक्कै सार्वजनिक गर्नुहुनेछ।
मैले कांग्रेसलाई समर्थन गर्न सक्दिनँ भनें, उहाँहरूले मेरो यो कुरालाई राजनीतिक रूपमै खण्डन गरे भइहाल्यो नि। किन, के कति कारणले कांग्रेसलाई समर्थन गर्नुपर्ने हो, त्यो स्पष्ट पारे भइहाल्यो नि। किन नचाहिने आरोप-प्रत्यारोप गर्नु?
तपाईंले कांग्रेसलाई समर्थन नगरेका कारण पृथ्वीसुब्बा गुरुङ नै अल्पमतको मुख्यमन्त्री बन्ने अवस्था आयो भने कुनै पद लिनुहुन्छ?
मलाई कुनै पद चाहिएको छैन। मैले पदका लागि निर्णय गरेको पनि होइन। आज बिहान पोखरा छाडेर बाग्लुङस्थित घर आइपुगेको छु। अब पार्टीले कारबाही नै गर्याे भने किन पो पोखरा गइरहनु र? आफ्नो घर छ, यतै बस्नुपर्ला।
जनमोर्चाले कारबाही गर्यो भने अर्को कुनै पार्टीमा प्रवेश गर्ने सोच छ?
म जनमोर्चाकै इमानदार कार्यकर्ता, शुभेच्छुक भएर बस्नेछु। मलाई कुनै पद र लाभ केही चाहिएको छैन। अर्को पार्टीमा जान मेरो मनले पनि दिँदैन। जीवनभर दु:ख गरेर बनाएको पार्टीलाई छाडेर जान्नँ। अहिले पार्टीका नेताहरूले फेसबूकबाट स्पष्टीकरण सोध्ने वा मेरा विरुद्ध जथाभावी बोल्ने केही गर्नु पर्दैन। उहाँहरूले माग्नुभयो भने राजीखुशीसाथ सहर्ष राजीनामा बुझाउन तयार छु।