जनमोर्चाले सोध्यो गण्डकीका सांसद थापालाई स्पष्टीकरण
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ।
जनमोर्चाले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले बताए।
२६ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। त्यसको समयसीमा आज दिउँसो ४ः०० बजे सकिँदै छ।
यसअघि मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)का नेताले नयाँ सरकार गठनका लागि ३१ सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरेका छन्। तर, अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने निर्णय गरेको जनमोर्चाका संसदीय दलका नेता थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा विपक्षी दल समस्यामा परेका छन्।
३१ सदस्य पुग्नका लागि जनमोर्चाका तीनै सांसदको हस्ताक्षर अनिवार्य चाहिन्छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् भने एकजना स्वतन्त्र सांसद दीपक मनाङ्गे एमालेकै पक्षमा छन्।
त्यस्तै कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन्।
बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज दिउँसो ४ः०० बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ।