ग्रान्डी अस्पतालले पनि कोरोनाका नयाँ बिरामी भर्ना नलिने
अक्सिजनको अभाव भएपछि ग्रान्डी इन्टरनेशनल अस्पतालले पनि कोभिड–१९ का थप बिरामी भर्ना नलिने भएको छ।
बुधबार सूचना जारी गरी अक्सिजन अभाव भएकाले थप बिरामी भर्ना नलिने जनाएको हो। सरकारले अक्सिजनको कोटा निर्धारण गरेकाले नयाँ बिरामी लिन सक्ने अवस्था नभएको जनाएको छ।
ग्रान्डी अस्पतालको सूचनामा भनिएको छ, “नेपाल सरकारको नियम अनुसार, दैनिक एक सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने भएको कारणले गर्दा हामीले चाहे अनुसारको थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौं।”
अहिले ग्रान्डी अस्पतालमा भर्ना भएका बिरामीका लागि पनि दैनिक दुई सय ५० सिलिन्डर अक्सिजन आवश्यक परिरहेको आकस्मिक विभागका प्रमुख डा. अजयसिंह थापाले बताए। तर, सरकारले एउटा अस्पताललाई एक सय सिलिन्डर मात्रै दिने निर्णय गरेको छ। जसले गर्दा धेरै बिरामी उपचार भइरहेका अस्पतालमा ज्यान जोगाउन कठिन भएको छ।
सरकारले अहिले उपलब्ध गराउँदै आएको अक्सिजनले आधा पनि नधान्ने गरेको उनले बताए। “बिरामीलाई अक्सिजन दिन नसकिने भएपछि थप बिरामी भर्ना नगर्ने निष्कर्षमा पुगेका हौं,” डा. थापाले भने।
बिरामी भर्ना गरेर मात्रै नहुने उनको भनाइ छ। “बिरामी भर्ना गरेर मात्रै हुँदैन, उपचार पनि दिनसक्नुपर्छ। अहिले कोरोनाका बिरामीको ज्यान जोगाउन आवश्यक पर्ने अक्सिजन नै दिन नसकिने भएपछि किन बिरामी भर्ना गर्ने?” उनी भन्छन्। सरकारले अक्सिजनको कोटा बढाएपछि थप बिरामीको भर्ना लिने ग्रान्डीले जनाएको छ।
यसअघि मेडिसिटी, नेशनल मेडिकल कलेज लगायतका अस्पतालले पनि थप बिरामी लिन नसक्ने जनाइसकेका छन्। त्यस्तै, भक्तपुरका सरकारी अस्पतालले समेत थप बिरामी लिन छाडेका छन्।
काठमाडौं उपत्यकासँगै देशभरका सरकारी तथा निजी अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ। एक सातायता अक्सिजनको अभाव बढ्दै गएको छ। केही अस्पतालमा अक्सिजन नपाएरै कोरोना संक्रमितको ज्यान गएको छ।