नवनियुक्त १० राज्यमन्त्रीद्वारा शपथग्रहण
मन्त्रिमण्डलमा नेपाली कांगेसका तर्फबाट थपिएका १० जना राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।
कांग्रेसले नै सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थप गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त राज्यमन्त्रीहरुलाई आज प्रधानमन्त्रीको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
शपथ लिनेहरुमा दीपक खड्का (खानेपानी तथा सरसफाइ मन्त्रालय), कञ्चनवादे श्रेष्ठ(उद्योग मन्त्रालय), सुरेन्द्रराज आचार्य(सिँचाइ मन्त्रालय), मिठू मल्ल (सहरी विकास मन्त्रालय), दिलीप खवास गच्छदार (श्रम तथा रोजगार मन्त्रालय), सीताराम महतो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) छन् ।
त्यसैगरी दीर्घराज भाट (वन तथा भू–संरक्षण मन्त्रालय), सुवर्ण ज्वारचन (वाणिज्य मन्त्रालय), तारामान गुरुङ (स्वास्थ्य मन्त्रालय) तथा इन्द्रबहादुर बाँनिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) ले पनि पद तथा गोपनीयताको शपथ लिए ।
नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी हुने राज्यमन्त्रीको नामावली उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिमार्फत मङ्गलबार प्रधानमन्त्री दाहाललाई दिएका थिए ।
व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दल नेकाको साथ र सहयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । सरकार गठन भएको करिब चार महिना पुग्न लाग्दा प्रम दाहालले राज्यमन्त्री थपेका हुन् ।
रासस