माओवादी र जसपासँग मिलेर सरकार बनाउने कांग्रेस पदाधिकारीको निर्णय
नेपाली कांग्रेस पदाधिकारी बैठकले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर सरकार गठन गर्ने निर्णय गरेको छ।
नयाँ सरकार गठनका लागि छलफल गर्न मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको हो। बैठकले माओवादी र जसपासँग मिलेर सरकार गठन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। “माओवादी र जसपासँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको छ,” महतले भने।
यसअघि कांग्रेस केन्द्रीय कार्य समितिले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन्। उनले तीन दिन समय दिएर मिलिजुली सरकार गठनका लागि आह्वान गरेकी हुन्।