चीनबाट चार सय अक्सिजन सिलिन्डर लिएर आइपुग्यो वाइडबडी
चीनले अनुदानमा उपलब्ध गराएको चार सय वटा अक्सिजन सिलिन्डर लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ।
बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको एयर बस ए ३३० (वाइडबडी) आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। चीनले पहिलो चरणमा चार सय वटा अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर दिएको छ।
चीनले नेपाललाई २० हजार वटा अक्सिजन सिलिन्डर अनुदानमा दिने बताएको छ। त्यसैमध्ये पहिलो चरणमा चार सय अक्सिजन सिलिन्डर दिएको हो।
कोरोनाभाइरसको दोस्रो लहर चलेसँगै अक्सिजन सिलिन्डरको अभाव भएको छ। भारतमा पनि कोरोनाको संक्रमण तीव्र भइरहेकाले अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामग्री आयात गर्न कठिनाइ भएको छ। जसले गर्दा सरकारले चीनलाई गुहारेको हो।