‘कांग्रेस-माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैनौं’
‘हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।’
२७ वैशाखमा प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्तावमाथि मतदान हुँदा जनता समाजवादी पार्टी (जसपा) का १५ सांसदले विपक्षमा भोट दिए भने १५ जना तटस्थ रहे। उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायत सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिँदा महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका सांसदहरू भने तटस्थ बसे।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आफूहरूको माग पूरा नभएसम्म सरकार निर्माण प्रक्रियामा सहभागी हुने कुनै गुन्जाइस नभएको बताउँछन्। महतोसँग हिमालखबरले गरेको कुराकानीको संक्षेपः
प्रस्तावमा मतदान हुँदा जसपाका सांसदहरू दुई कित्तामा उभिए। नयाँ सरकार गठनबारे पार्टीको धारणा के हो?
जसपा अधिकार, माग र मुद्दाका लागि जन्मेको पार्टी हो। राज्यले जाति, भाषा, क्षेत्र, लैंगिकताका आधारमा विभेद गरेकाहरूलाई अधिकार सम्पन्न बनाउनु हाम्रो प्रमुख लक्ष्य हो। त्यसकारण सत्ता-स्वार्थ गठबन्धनभन्दा हाम्रो लागि माग र मुद्दा प्रधान हो।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनको पहल गरिरहेको देखिन्छ। जसपा कांग्रेस–माओवादी गठबन्धनमा सामेल हुने सम्भावना कत्तिको छ?
मैले भनिसकें, हाम्रो पार्टी अधिकारका लागि स्थापना भएको हो। सत्तालिप्सामा लाग्दैनौं। शहीदको रगतले बनेको यो पार्टी कांग्रेस र माओवादीलाई सरकारमा पुर्याउन सती जान सक्दैन।
जसपाकै १५ सांसदले कांग्रेस र माओवादीसँगै विश्वासको मतको विपक्षमा मतदान गरे, १५ जना तटस्थ बसे। यो त दुवै हातमा लड्डु लिन खोजे जस्तो भएन र?
होइन, उपेन्द्र यादवजीहरूले विपक्षमा मत दिनुभएको हो। उहाँले तीन दलको विज्ञप्तिमा पनि हस्ताक्षर गर्नुभएको छ। हामी उहाँलाई कारबाही गर्छौं।
जसपा पदाधिकारी बैठकले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरिसकेपछि कारबाही गर्न मिल्छ र?
मतदान गरेका कारणले कारबाही गर्न लागिएको होइन। पार्टीको निर्णयबिना हस्ताक्षर लगायत सरकार गठनमा जान लागेकाले कारबाही गर्ने भनेको हुँ। पार्टीलाई विभाजनतर्फ लैजाने उपेन्द्रजीको गतिविधि कारबाहीयोग्य छ।
सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता हामीले चाहेका हौं।
पटक–पटक माग र मुद्दा भन्नुभयो। के हुन् तपाईंहरूका माग र मुद्दा?
हामीले सांसद रेशम चौधरी लगायतमाथिको झुटा मुद्दा खारेज, संविधान संशोधन र सबै नेपालीलाई राज्यले समान दृष्टिकोणले हेर्ने सुनिश्चितता चाहेका हौं।
यी माग पूरा हुने भए चाहिँ गठबन्धन सरकारमा जाने पार्टीको नीति हो?
हो, पछिल्लो एक महीनामा हजार पटकभन्दा बढी हामीले भन्यौं कि हाम्रा लागि मुद्दा महत्त्वपूर्ण हो, हाम्रो माग पूरा गरियोस्। ओलीले आफ्नै स्वार्थका लागि भए पनि केही माग पूरा गरे। केही माग प्रक्रियामै छन्।
यता, ओलीजीसँग मिलेर माग पूरा गर्न लगाउने, फेरि कांग्रेस माओवादीतिर पनि लाग्न हामीलाई नैतिकताले दिंदैन।
त्यसो भए माग पूरा नहुँदासम्म सरकार निर्माणमा यहाँहरू कतै लाग्नुहुन्न?
मतदानको अघिल्लो दिन ओली र शेरबहादुर देउवाजीलाई भेटेर जे भनेका थियौं, संसद्मा त्यही गर्यौं। हामी जे भन्छौं, त्यही गर्छौं । अहिले ओलीलाई धोका दिन सक्दैनौं। तटस्थ छौं, तटस्थ बस्छौं।