उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, सीडीओको बैठक बस्दै
कोभिड–१९ को संक्रमण नघटेपछि काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ।
कोरोनाभाइरसको संक्रमण बढेपछि १६ वैशाखदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको थियो। दुई साता लामो निषेधाज्ञा ३० वैशाखमा सकिँदै छ।
कोरोना संक्रमण नरोकिएपछि फेरि निषेधाज्ञा थप्न लागिएको हो। यसका लागि आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। “कोरोना संक्रमण नघटेकाले उपत्यकामा निषेधाज्ञा थप्न लागेको हौं। कति दिन थप्ने भन्ने निर्णय गर्नका लागि बैठक बस्दै छ,” प्रजिअ पराजुलीले भने।
यसअघि सोमबार नै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले काठमाडौंमा दुई साता निषेधाज्ञा थप्न सिफारिश गरेको थियो। त्यही सिफारिशलाई आधार बनाएर आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने भएको हो।
सोमबार काठमाडौं उपत्यकामा तीन हजार ६ सय सात जनामा संक्रमण पुष्टि भएको थियो। यसमध्ये काठमाडौंमा दुई हजार सात सय ७५, भक्तपुरमा तीन सय २७ र ललितपुरमा पाँच सय पाँच जनामा कोरोना देखिएको थियो।
काठमाडौंसँगै देशका अन्य जिल्लामा संक्रमण घटेको छैन। सोमबार देशभर नौ हजार दुई सय ७१ जनामा कोरोना संक्रमण देखिएको थियो।
गृह मन्त्रालयका अनुसार, कोरोना संक्रमण नियन्त्रणका लागि अहिले देशभरका ६९ जिल्लामा निषेधाज्ञा लागू छ। कोरोना संक्रमणको जोखिम कम रहेका आठ जिल्लामा मात्रै निषेधाज्ञा लगाइएको छैन।