बहराइनका राजकुमार पुगे सगरमाथाको चुचुरोमा
बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको आरोहण दलले सगरमाथाको सफल आरोहण गरेको छ।
राजकुमार खलिफासहितको आरोहण दल आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२१ मे ११ स्थानीय समय बिहान ६ः४० बजे बहराइनको राजपरिवारका सदस्यसहितको टोली विश्वको सर्वोच्च शिखर तथा नेपालीको गौरव, शान तथा अनुपम सम्पत्ति सगरमाथा (८८४८.८६ मिटर)को सफल आरोहण गरेको जानकारी प्राप्त भएको छ।”
यसको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले पनि बहराइनका राजकुमार खलिफासहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको जनाएको छ। यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय टोली हो।
यसअघि २४ वैशाखमा कामीरिता शेर्पा नेतृत्वको टोलीले सगरमाथाको सफल आरोहण गरेको थियो। बाटो बनाउनका लागि डोरी बिछ्याउने क्रममा शेर्पाको टोली सगरमाथाको चुचुरोमा पुगेको थियो।