वैकल्पिक सरकार गठनमा नलाग्ने महन्थ ठाकुरको प्रष्टीकरण
संसद्मा जनता समाजवादी पार्टी (जसपा)का सांसद दुई धारमा उभिएपछि मध्यरातमा अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गरी वैकल्पिक सरकार गठनमा नलाग्ने प्रष्टीकरण दिएका छन्।
सोमबार राति ठाकुरले जारी गरेको विज्ञप्तिमा वैकल्पिक सरकार गठनमा लाग्नु मधेस आन्दोलनको विपरीत हुने जनाएका छन्। ठाकुरले भनेका छन्, “जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपाको मूल धेय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो, मधेस आन्दोलनको मर्म र भावना विपरीत हो भन्ने हाम्रो ठहर छ।”
केपी शर्मा ओली नेतृत्वको सरकारले नै मधेसका मुद्दा सम्बोधन गर्न लागेको उनको भनाइ छ। वैकल्पिक सरकार निर्माणले अस्थिरता हुने र मधेसका मुद्दा सम्बोधनको कार्य अनिश्चित हुनेको उनको दाबी छ।
प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत प्राप्त गर्न सकेनन्। विश्वासको मतको पक्षमा ९३ मत परे भने विपक्षमा एक सय २४ मत परे। एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद अनुपस्थित रहे।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्ट पक्षका १५ सांसदले प्रधानमन्त्री ओलीले संसद्मा पेश गरेको विश्वासको मतको विपक्षमा मतदान गरेका थिए। ठाकुर पक्षका १५ सांसद भने मतदान नगरी तटस्थ बसेका थिए।
संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली स्वतः प्रधानमन्त्री पदबाट मुक्त भएका छन्। योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मिलिजुली सरकार गठनका लागि आह्वान गरिसकेकी छिन्।