संसद्मा ओलीलाई देउवाको प्रश्न- छातीमा हात राखेर भन्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नुभएको होइन? (पूर्णपाठ)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली नै दोषी भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै देउवाले ओलीको सरकार पूर्ण रूपमा असफल भएको बताए। “देश र जनताका हितमा काम गर्न उहाँलाई कसले कहिले कहाँ रोक्यो? हामीले प्रतिपक्षका रूपमा हमेशा रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्यौं। आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरूका माथि दोष र गुनासा थुपारेर जिम्मेवारीबाट भाग्न पाउनुहुन्न,” देउवाले भने, “यो सरकार गठनपछि विगत तीन वर्षको मूल्यांकन गर्दा माननीय केपी शर्मा ओलीजीको सरकार पूर्ण रूपले असफल भएको छ।”
संविधान निर्माण भइसकेपछि झन्डै दुईतिहाइको सरकार बनेको स्मरण गराउँदै देउवाले तीन वर्षमै विश्वासको मत लिनका लागि आउने अवस्था प्रधानमन्त्री ओलीले नै सिर्जना गरेको बताए। “म माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन,” देउवाले थपे, “एक पटक छातीमा हात राखेर भन्नुस्, आफैंले आफैंलाई सोध्नुस्, यो अवस्था तपाईंले सिर्जना गर्नुभएको अंकगणितीय दम्भ, राजनीतिक अव्यवस्था, कुशासन र भ्रष्टाचारकै कारण होइन?”