काठमाडौंमै दुर्दशा, कोरोना संक्रमितको बरन्डामा उपचार (तस्वीरहरू)
देशको संघीय राजधानी काठमाडौंकै अस्पतालमा कोरोनाभाइरस संक्रमित बिचल्लीमा छन् भने शय्या नपाउँदा बरन्डामै बसेर उपचार गर्न बाध्य भएका छन्।
कोरोना संक्रमितको उपचार हुने देशकै प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कोभिड–१९ का बिरामीले शय्या भरिएका छन्। अस्पतालभित्र ठाउँ नभएपछि बरन्डामा राखेर उपचार गर्न थालिएको छ।
सोमबार त अस्पतालको बरन्डा पनि संक्रमितले खचाखच भरिएको छ। कतै बिरामीलाई भुइँमै राखिएको छ भने कतै आगन्तुक बस्ने बेन्चमै राखेर कोरोना संक्रमितलाई अक्सिजन दिन थालिएको छ। यसरी बरन्डामै अक्सिजनले ज्यान जोगाउने प्रयत्नमा युवा मात्रै होइन, वृद्धवृद्धा पनि छन्।
अहिले काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३७ हजार पाँच सय ८२ रहेको छ। एक हजार दुई सय ३२ जनाले ज्यान गुमाइसकेका छन्।