काठमाडौंमा थप दुई साता निषेधाज्ञा गर्न सिफारिश
जिल्ला नोभल कोरोनाभाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले काठमाडौंमा थप दुई साता निषेधाज्ञा गर्न सिफारिश गरेको छ।
डीसीसीएमसीको आइतबारको छलफल र काठमाडौंका मेयरहरूको सुझाव अनुसार दुई साता निषेधाज्ञा गर्न सिफारिश गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
“कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा थप्ने सिफारिश गरेका हौं, तर निर्णय भइसकेको छैन,” पराजुलीले हिमालखबरसँग भने । अक्सिजनको व्यवस्थापन र थप जनचेतना जगाउने विषयमा छलफल भएको उनले जानकारी दिए।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेर यो विषयमा निर्णय गरिने पराजुलीले बताए।
१६ वैशाखदेखि शुरू भएको निषेधाज्ञा २९ वैशाखमा सकिँदै छ। गृह मन्त्रालयका अनुसार, सोमबारसम्म ६९ जिल्लामा निषेधाज्ञा लागेको छ।