जसपाका सांसदले विश्वासको मतमा भोटिङ हुँदा तीन विकल्प रोज्न पाउने
जनता समाजवादी पार्टी (जसपा)ले विश्वासको मतमा भोटिङ हुँदा आफ्ना सांसदलाई ह्वीप नलगाउने भएको छ।
जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको हो।
जसपा वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार, सांसदहरू विश्वासको मतको पक्षमा वा विपक्षमा मत दिन र तटस्थ बस्न सक्नेछन्। जसपाका ३४ मध्ये दुई सांसद निलम्बित छन्।
पार्टी अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो विश्वासको मतको पक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष भट्टराई विपक्षमा देखिएका थिए। विश्वासको मतकै विषयलाई लिएर पार्टी फुट्ने अवस्था आएपछि मध्यमार्गी निर्णय गरेको महतोको भनाइ छ।
बैठकअघि ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो धारणा राखेका थिए।