एमालेमा यसरी बिथाेलियाे बनिसकेको सहमति
एमालेमा दोस्रो तहका नेताबीच बनिसकेको सहमति एकाएक बिग्रिएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने भएका छन्।
नेकपा (एमाले)मा बनिसकेको सहमतिको वातावरण एकाएक बिथोलिनुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले एक-अर्कालाई दोष दिएका छन्।
बिहीबार साँझ एमाले मिलाउनका लागि सक्रिय दोस्रो पुस्ताका नेताहरूले २ जेठ २०७५ को अवस्थाको स्थायी कमिटीको बैठक बोलाउने र बैठकबाट एउटा कार्यदल बनाएर अघि बढ्ने सहमति गरेका थिए। तर, शनिबार राति एकाएक वरिष्ठ नेता नेपाल समूहका सांसदहरूले सामूहिक राजीनामा दिने निर्णय गरेसँगै एमालेमा बनेको सहमति भत्किएको छ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्यो सहमति अनुसार अघि नबढ्दा यो अवस्था आएको नेपाल पक्षका नेताहरूको भनाइ छ। “अस्ति एउटा सहमति बनेको थियो, तर त्यो सहमति अनुसार उहाँहरू अघि बढ्न तयार नभएपछि एकाएक वातावरण बिग्रियो,” एमाले मिलाउनका लागि नेपाल पक्षका तर्फबाट भूमिका खेलिरहेका नेता गोकर्ण विष्टले हिमालखबरसँग भने, “अस्ति (बिहीबार) स्थायी कमिटी बैठक बोलाएर त्यसबाट कार्यदल बनाएर अघि जाने सहमति भएको थियो, तर हिजो (शनिबार) उहाँहरू त्यसमा छलफल गर्न तयार हुनुभएन।”
उनको भनाइमा त्यसपछि नै नेपाल पक्षका सांसदहरूले राजीनामा बुझाउने निर्णय गरेका हुन्। “सँगै बस्दा पनि सरकारले राम्रो काम नगर्ने, त्यसको अपजस पनि लिनुपर्ने बाध्यता भएकाले ९५ प्रतिशत साथीहरूको राजीनामा दिनुपर्छ भन्ने विचार आयो,” नेता विष्टले भने।
तर, ओली पक्षीय नेताहरू भने नेपाल र भीम रावलका कारण बनिसकेको सहमति भंग भएको बताउँछन्। “हामी बिहीबार भएको सहमतिमै कायम छौं, त्यसमै कायम रहँदारहँदै राजीनामा गर्ने निर्णय गर्नुले उहाँहरूको नियत छर्लङ्ग भएको छ,” ओली पक्षीय नेता सुवास नेम्वाङले भने।
प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिने निर्णय गरेपछि एमालेको दोस्रो पुस्ताका नेता एकता जोगाउनका लागि सक्रिय भएका थिए। उनीहरूको पहलकै कारण एमालेमा सहमतिको वातावरण बन्दै गएको थियो।
तर, उनीहरू त्यसमा सफल हुन सकेनन्। दुवै पक्षका नेतारूले यसको दोष एक–अर्कालाई लगाएका छन्। सहमति अनुसार अघि बढ्न नसक्दा नेपाल पक्षका सांसदले राजीनामा गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको छ।
#सम्पादित