कोरोना संक्रमितलाई सुझाव- सकेसम्म सामाजिक सञ्जाल र समाचारबाट टाढै बसौं
कोभिड-१९ बारे सामाजिक सञ्जालमा आउने अनेक सूचना, तस्वीर, जानकारी अनि सञ्चारमाध्यम मार्फत छरिने कतिपय भ्रम फैलाउने सामग्रीले संक्रमित र उनीहरूका आफन्तलाई राहत होइन, आहत पारिरहेका छन्।
वैशाख पहिलो साता कोभिड-१९ पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका गोंगबुका भवीन्द्र घिमिरे अक्सिजनको मात्रा घटेपछि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना भए। अस्पतालमा दिन कटाउन फेसबूक चलाउन थाले।
फेसबूकमा घरीघरी पोस्ट गरिएका श्रद्धाञ्जली, शव जलाउँदै गरेका तस्वीर र कोरोनाबाट मृत्यु भन्ने समाचार हेरेपछि उनलाई सकस पर्न थाल्यो। चिटचिट पसिना र एक्कासि श्वास बढ्न थाल्यो।
“मेरा लागि सबैभन्दा चिन्ता र तनावको विषय नै फेसबूकमा कोरोनाका कारण मृत्यु भएका मानिसको श्रद्धाञ्जली र भयभीत पार्ने फोटो बन्यो। सामाजिक सञ्जाल हेर्दिनँ भन्दाभन्दै हात जान्थ्यो, अनि यस्तै त रहेछ संसार, म पनि कति दिन बाँच्छु र भन्ने सोचाइ आउँथ्यो।”
“मेरा लागि सबैभन्दा चिन्ता र तनावको विषय नै फेसबूकमा कोरोनाका कारण मृत्यु भएका मानिसको श्रद्धाञ्जली र भयभीत पार्ने फोटो बन्यो,” घिमिरे भन्छन्, “सामाजिक सञ्जाल हेर्दिनँ भन्दाभन्दै हात जान्थ्यो, अनि यस्तै त रहेछ संसार, म पनि कति दिन बाँच्छु र भन्ने सोचाइ आउँथ्यो।”
गत साता अस्पतालबाट ‘डिस्चार्ज’ भएका घिमिरे भन्छन्, “संक्रमण भएका मान्छेहरू के गरेर बस्दा रहेछन्, कोरोना जितेका मान्छेका अनुभव पढ्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। तर, त्यस्तो अनुभव कमै मात्र भेटिन्थ्यो।”
विराटनगरकी पत्रकार चिना थापा पनि आइसोलेसनमा बस्दा खुशी बनाउने र सकारात्मक समाचार मात्रै आइदेओस् भन्ने लागेको अनुभव सुनाउँछिन्।
नकारात्मक समाचारको मार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४ वैशाखसम्म २५ लाख ९८ हजार ४०६ जनाको कोरोना परीक्षण गर्दा तीन लाख ७७ हजार ६०३ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये दुई लाख ९५ हजार ३९५ जना निको भइसकेका छन्। तीन हजार ५७९ जनाले ज्यान गुमाएका छन्।
अहिले होम आइसोलेसनमा रहेका संक्रमितको संख्या ७८ हजार १८ छ भने संस्थागत आइसोलेसनमा पाँच हजार ४७५ जना छन्।
यो तथ्याङ्कले देखाउँछ, संक्रमितको ठूलो संख्या घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन्। घरमा एकान्तवास बस्दा धेरैले दिन कटाउन फेसबूक, ट्वीटर, यूट्यूब आदि चलाउनु अस्वाभाविक होइन। तर, तिनमा आउने कोरोनासँग सम्बन्धित अफवाह, मृत्यु वा भयावह अवस्था देखाउने तस्वीर, भिडिओ र समाचारले नकारात्मक प्रभाव पार्ने गरेको देखिन्छ।
बुटवलका पत्रकार डिआर घिमिरे कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा छन्। पत्रकारितामा तीन दशक बिताएका उनी नकारात्मक समाचारले कति असर गर्दो रहेछ भन्ने कुराको अनुभूति अहिले गरिरहेका छन्। “नकारात्मक र निराश बनाउने समाचार पोस्टहरू नराखे हुन्थ्यो जस्तो लाग्दो रहेछ,” उनी भन्छन्, “राम्रा र सकारात्मक कुराले ऊर्जा थप्दा रहेछन्, जीवनभर पत्रकारिता गरेको मैले बल्ल सकारात्मक समाचारको शक्ति बुझ्दै छु।”
घरमा एकान्तवास बस्दा धेरैले दिन कटाउन फेसबूक, ट्वीटर, यूट्यूब आदि चलाउनु अस्वाभाविक होइन। तर, त्यसमा आउने कोरोनासँग सम्बन्धित अफवाह, मृत्यु वा भयावह अवस्था देखाउने तस्वीर, भिडिओ र समाचारले नकारात्मक प्रभाव पार्ने गरेको देखिन्छ।
चिकित्सकहरू सामाजिक सञ्जालमा कोरोनासँग सम्बन्धित विवरण हेरेर आत्तिँदा शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेका घटना प्रशस्त पाइएको बताउँछन्। महामारीमा हटलाइनबाट परामर्श दिइरहेका मनोचिकित्सक रितेश थापा कोरोना सम्बन्धी नकारात्मक समाचारले अनावश्यक भय सिर्जना गर्ने गरेको बताउँछन्।
“ठीक हुने बिरामीहरू पनि अरूको मृत्युको समाचार पढेपछि ‘लौ म पनि मर्ने हो कि’ भनेर आत्तिएको पाउँछु,” डा. थापा भन्छन्, “भारतमा जताततै बाहिरै शव जलिरहेको तस्वीर हेरेपछि धेरै बिरामीले आफूलाई पनि बाँच्ने हाेइन कि जस्ताे लाग्न थालेकाे अनुभव सुनाए।”
त्यसो त सामाजिक सञ्जालका पोस्टहरूले बिरामी मात्र होइन, आफन्तलाई पनि अत्याउने गरेका छन्। काठमाडौं, बालुवाटारकी एक महिलाका बुवा र हजुरआमा कोरोना संक्रमण भएर ग्रान्डी अस्पतालमा भर्ना भए। उनीहरूलाई हेरचाह गर्ने क्रममा ती महिलाले सामाजिक सञ्जाल कमै मात्र प्रयोग गरिन्। त्यसबेला सामाजिक सञ्जालमा शेयर भएका समाचार र तस्वीरले अत्याउने गरेको बताउँदै उनी भन्छिन्, “हाम्रो मनोविज्ञान नै नकारात्मकतामा रमाउने हुँदो रहेछ, तर त्यस्ता कुराले कति पीडा दिन्छ भन्ने कुरा परेकालाई मात्र थाहा हुन्छ।”
१५ वैशाखमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि विराटनगरकी पत्रकार चिना थापाले सामाजिक सञ्जाल बन्द गरिन्। धेरैले खोजीनिती गर्न थालेपछि सातौं दिनमा बल्ल फेसबूक मार्फत आफू संक्रमित भएको जानकारी सार्वजनिक गरिन्।
सामाजिक सञ्जाल सँगसँगै महामारीमा सञ्चारमाध्यम पनि थप जिम्मेवार हुनुपर्ने डा. रितेश थापा बताउँछन्। पाठक संख्या बढाउने नाममा कतिपय सञ्चारमाध्यमले मृत्यु र भयावह तस्वीरहरू प्रकाशन/प्रसारण गरिरहेको र यसले बिरामीमा भय र त्रास सिर्जना गरिरहेको उनको भनाइ छ।
अहिले ६० भन्दा बढी जिल्लामा लागेको निषेधाज्ञाका कारण धेरै मानिस घरमा थुनिएर बसेका छन्। नियमित काम बन्द छ। संक्रमित मात्र नभएर धेरैको दिन कटाउने मेसो सामाजिक सञ्जाल नै बनेको छ।
मनोचिकित्सक रितेश थापा संक्रमित मात्र होइन, बन्दाबन्दीका कारण घरमा बसेकाहरूलाई पनि सामाजिक सञ्जालबाट टाढा बस्न सुझाउँछन्। उनी भन्छन्, “बन्दाबन्दीका बेला सबैले सामाजिक सञ्जालको प्रयोग घटाउनुपर्छ।”
डा. थापा संक्रमित मात्र होइन, बन्दाबन्दीका कारण घरमा बसेकाहरूलाई पनि सामाजिक सञ्जालबाट टाढा बस्न सुझाउँछन्। “बन्दाबन्दीका बेला सबैले सामाजिक सञ्जालको प्रयोग घटाउनुपर्छ,” उनी भन्छन्।
संक्रमितलाई अनावश्यक ‘कोरोना अपडेट’
कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका बुटवलका रामु घिमिरे भने यस्तो बेला विभिन्न प्रवचन र सकारात्मक कुराहरू सुन्न र हेर्न सल्लाह दिन्छन्। कोरोना लागेपछि सामाजिक सञ्जाल नहेरेको बताउने उनी भन्छन्, “यतिबेला आफू निको हुने कुरा महत्त्वपूर्ण हो, त्यसका लागि खुशी हुने कुरामा मन भुलाउनुपर्दछ। कहाँ के के भइरहेको छ भन्ने कुरा किन मतलब गर्नु?”
भक्तपुरका रिनन पोखरेल पनि कोरोना संक्रमित भएर अहिले सपरिवार आइसोलेसनमा छन्। “परिवारका सबै सदस्य एकै चोटि संक्रमित भयौं, एकै ठाउँमा बसेर कुरा गर्छौं–भुल्छौं,” उनी भन्छन्, “संक्रमितमध्ये ९९ प्रतिशतभन्दा बढी निको भएका छन्, तर मिडियामा नकारात्मक कुराले मात्र बढी ठाउँ पायो।”
मनोचिकित्सक थापा पनि आइसोलेसनमा रहेका बिरामी र अन्य व्यक्तिहरूले जतिबेला पनि कोरोना अपडेट खोज्न नहुने बताउँछन्।
अभियन्ता जगन्नाथ लामिछाने महामारीका बेला फेक न्यूज र भ्रामक सूचनाबाट जोगिनुपर्ने बताउँछन्। शारीरिक थकानबाट बच्न पनि संक्रमण भएका बेला मोबाइल स्क्रिनको प्रयोग कम गर्नुपर्ने उनको सुझाव छ। “अपडेट हुन एक–दुई वटा भरपर्दो मिडिया हेरे पुग्छ, सामाजिक सञ्जालबाट त टाढै रहन सुझाव दिन्छु,” यूट्यूबमा अन्तर्क्रियात्मक च्यानल ‘जगरनट माइन्डसेट’ का प्रस्तोता समेत रहेका लामिछाने भन्छन्।
पत्रकारले के गर्नु हुँदैन?
नेपाल पत्रकार महासंघले आफ्नो वेबसाइटमा ‘कोभिड-१९ को दोस्रो लहरका बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू’ सार्वजनिक गरेको छ।
“यस्तो अवस्थामा मानिसहरू आत्तिनु स्वाभाविक हो, तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ,” महासंघले जारी गरेको उक्त प्रकाशनमा भनिएको छ, “त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरूबाट मात्र सूचना लिऔं, सामाजिक सञ्जाल मार्फत पनि यस्ता सूचना प्रवाहित गरौं। हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुनसक्छ।”
पत्रकार आचारसंहिता, २०७३ अनुसार पत्रकार वा सञ्चारमाध्यमले हिंसा, आतंक र अपराधलाई प्रश्रय हुने वा आत्महत्या गर्न उक्साउने, अश्लील, सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा त्रास उत्पन्न गर्ने किसिमका सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन।
आचारसंहितामा भनिएको छ, “पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पुर्याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ।”